अमेरिकामा रहेका व्यवसायीले नेपालमा किन लगानी गर्ने? राजदूतका तर्क र तथ्य

डिसी नेपाल
२ असोज २०७८ १०:१४

वाशिंगटन सियाटल। अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले अमेरिकामा बसोवास गर्दै व्यबसाय गरिरहेका नेपाली व्यवसायीहरुलाई आफ्नो मातृभूमिमा लगानी गर्न आग्रह गरेका छन्।

उनले अमेरिकाको वाशिंगटन राज्यको सियाटलमा भेला भएका नेपाली मूलका व्यवसायीहरुलाई नेपालमा लगानी गर्दा लगानीको सुरक्षा, व्यवसायको प्रतिफल र नेपालको कानुनी व्यबस्थाबारे स्पष्ट जानकारी दिएका थिए। व्यवसायीहरुले आफ्नो लगानीको सुरक्षा र नाफा ल्याउन पाउने नपाउने लगायतका विभिन्न प्रश्नहरु राखेका थिए।

राजदूत खतिवडा र अमेरिकामा व्यवसाय गरेर बसेका नेपाली मूलका व्यवसायीहरु बीचको अन्तक्र्रियालाई सियाटलमा कार्यरत सामाजिक अभियन्ता टीपी खनालले तयार गरेको बुँदागत रिपोर्ट—

सर्वप्रथम महामहिम राजदुत डा. खतिवडाले नेपालमा लगानीका सम्भावना र त्यससँग सम्बन्धित विविध बिषयमा जानकारी गराउनुका साथै बिदेशमा रहेका नेपाली मुलका व्यवसायीहरुलाई पनि नेपालमा लगानी गर्न आव्हान गरे। यसका लागि राजदूत डा.खतिवडाले निम्न तथ्यहरु र तर्क प्रस्तुत गरे—

१) नेपालमा सुरक्षित लगानीको लागि धेरै सुधार आइरहेको र कम्तिमा पनि २५% देखि १००% सम्म नै प्रतिफल प्राप्त भैरहेको छ जुन निकै राम्रो संख्या हो। नेपालमा लगानी गर्दा बाहिर हल्ला भएजस्तो जटिलता नभएको र लगानीकर्ताहरुले राम्रै प्रतिफल पाई सन्तुष्ट रहेको कुरा उनीहरुको निरन्तरताले नै स्पष्ट पार्दछ।

२) बैदेशिक लगानीका बैंकहरुले पनि राम्रो मुनाफा गरिगरेको हुँदा बैदेशिक लगानी डुब्ने सम्भावना नभएको उदाहरणको रुपमा Standard Charted Bank लगायत भारतीय र अन्य देशका बैंकलाई लिन सकिन्छ।

३) कर्पोरेट कर नेपालमा निकै राम्रो छ जुन लगानीका लागि राम्रो पक्ष हो।

सानो लगानी हुनेहरुले आफूजस्तै अरु केही लगानीकर्ताहरु मिलेर सामुहिक संस्था वा कम्पनी दर्ता गरी लगानी गर्दा राज्यले दिएका अन्य धेरै सहुलियतहरुको उपयोग गर्न पाइन्छ। जस्तो कि न्युनतम तीन करोडको लगानीमा राज्यले दिने सुबिधा शुरु हुन्छ तर यो संख्या समयानुसार परिवर्तन पनि हुन सक्छ।

४) स्वास्थ्य, पर्यटन, रेशम खेती, स्वास्थ्य पर्यटन तथा आईटी लगायतका क्षेत्रहरु राम्रा सम्भावना भएका क्षेत्र हुन्। साथै चलचित्र बनाउने उद्योगमा गरिने लगानीले बिदेशी चलचित्र निर्माणकर्तालाई समेत आकर्षण गर्न सकिने हुँदा लगानीका लागि यो पनि नयाँ सम्भावना भएको क्षेत्र हो।

५) नेपालमा प्राकृतिक साधन र श्रोत प्रचुर मात्रामा भएकोले सोहीअनुरुप नयाँ नयाँ क्षेत्रमा गरिने लगानीबाट राम्रो प्रतिफल लिन सकिन्छ।

६) उद्योगका लागि बिजुलीको समस्या छैन, श्रम कानुनहरु राम्रा छन, आर्थिक तरलता प्रशस्त छ, दोहोरो करको बिषयमा छलफल चलिरहेको छ (जुन छिट्टै लागू हुने बिश्वास पनि छ), बैंकमा पैसा राखेमात्रै पनि ३–४ प्रतिशत ब्याज दिइरहेका छन जुन राम्रो प्रतिफल हो।

यसबाहेक लगानीसँग सम्बन्धित अरु कुनै पनि अप्ठ्यारो आइपरेमा देशको कानुनको अधिनमा रहेर आफ्नो खुवीले भ्याएसम्म आफूले सधैँ सहयोग गर्ने कुरा पनि उनले बारम्बार दोहोर्याएका थिए।

पूर्वअर्थमन्त्रीसमेत रहेका राजदूत डा.खतिवडाका यी विचारहरुपछि उपस्थित व्यवसायीहरुसंग प्रश्नोत्तर गरेका थिए। जसमा उपस्थित धेरैले नेपालमा लगानी गर्दा भोग्नुपर्ने बिषयमा विविध जिज्ञासाहरु राख्नुभएको थियो । ती सबै जिज्ञासाहरुलाई समेटेर महामहिम राजदूतले निम्नानुसार स्पष्ट पारेका थिए—

१) नेपालमा गरेको लगानीको प्रतिफल डलरमा फिर्ता ल्याउन चाहेमा त्यसको लागि छुट्टै व्यवस्था भएकोले ढुक्क हुनुहोस्। हरेक लगानी रेकर्डमा हुने हुँदा नियमानुसार कर तिरिसकेपछिको प्रतिफल र विदेशबाट नेपाल लगेको पैसा समेत फिर्ता ल्याउन सकिन्छ।

२) लगानी गर्दा नियमको पालना गरेर मात्र गर्नुपर्छ, धेरै कमाउन छोटो बाटो अपनाउन खोज्दा लगानी सुरक्षित नहुन सक्छ। सकेसम्म एलसी खोलेर लगानी गर्नु उत्तम उपाय हो।

३) घुस माग्नेलाई निरुत्साहित गर्नैपर्छ र दर्ता भएका व्यक्ति र निकायहरु मार्फत मात्रै काम गर्नुपर्छ।

४) सानो लगानी हुनेहरुले आफूजस्तै अरु केही लगानीकर्ताहरु मिलेर सामुहिक संस्था वा कम्पनी दर्ता गरी लगानी गर्दा राज्यले दिएका अन्य धेरै सहुलियतहरुको उपयोग गर्न पाइन्छ । जस्तो कि न्युनतम तीन करोडको लगानीमा राज्यले दिने सुबिधा शुरु हुन्छ तर यो संख्या समयानुसार परिवर्तन पनि हुन सक्छ ।

५) हुण्डी अवैधानिक भएकोले हुण्डी मार्फत कारोवार गर्नु खतरनाक हो।

६) रेमिट्यान्सको शुल्क घटाउन सके बिदेशमा हुने आफ्नो कमाइको केही अंश बचत हुनसक्छ त्यसैले त्यसतर्फ पनि पहल भैरहेको छ।

७) पैसा जम्मा (Deposit) लिने निकायहरुका आफ्नै कानुनी प्रक्रिया छन त्यसैले आफ्नो लगानी सुरक्षित गराउनको लागि सकेसम्म कानुनीरुपमा स्थापित आर्थिक निकाय (बैंक) हरुमा नै रकम जम्मा गर्नुपर्दछ।

८) लगानी गरेको सम्पूर्ण पैसामा नभएर आम्दानीमा मात्रै कर लाग्ने भएकोले करमा न्यायसंगत रुपमा मात्रै पैसा खर्च हुन्छ।

९) च्यारिटी अर्थात परोपकारका काममा पैसा दिँदा एउटा निश्चित रकम सम्ममा कर नलाग्ने र त्योभन्दा बढी भए कर लाग्ने व्यवस्था छ। कर नलाग्ने त्यो रकम अहिले एक लाखसम्म तोकिएको छ । र यस रकममा पनि समयानुसार परिवर्तन हुन सक्छ।

१०) Digital Nepal Framework को विकास भइसकेको हुँदा त्यसैको माध्यमबाट कारोवार गर्नु राम्रो हो। उक्त कार्यक्रमको आयोजना नेपाल सरकारका तर्फवाट सियाटलस्थित अवैतनिक राजदुत ए. सी. शेर्पा, स्थानीय व्यवसायी श्री दुर्गाप्रसाद श्रेष्ठ र निरज पौड्यालले गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *