देउवा सरकारले कर्मचारीलाई जथाभावी सरुवा गरेः ओली

डिसी नेपाल
२ असोज २०७८ १६:५७

काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निजामती कर्मचारीले निष्पक्ष भएर सेवा प्रवाह गर्नुपर्ने बताएका छन् ।

उनले मुलुकमा भ्रष्टाचार व्याप्त रहेकाले कर्मचारीले आफू पनि नगर्ने र अरूलाई पनि गर्न नदिने उल्लेख गर्दै कसैले घूस खुवाउन खोजे खान्न भन्ने हिम्मत कर्मचारीले गर्नुपर्ने बताए । उनले म भ्रष्टाचारी होइन भनेर कर्मचारीले भन्नुसक्नुपर्ने धारणा राखे ।

उनले भने, ‘कुनै पार्टीका सदस्य भनेर सेवा प्रभाव गर्ने होइन । सेवाग्राहीलाई सेवा प्राप्त गर्ने अधिकार हुन्छ र कर्मचारीले निष्पक्ष रुपमा सेवा उपलब्ध गराउनुपर्छ, यो नै कर्मचारीको कर्तत्व हो । यसभन्दा तलमाथि गर्नुहुदैन ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले कर्मचारी नियम कानुनबाट निर्देशित हुनुपर्ने बताए । ‘कर्मचारीको काम देश र जनताका सेवा गर्ने हो । कानुनको परिधिमा रहेर सक्रियताका साथ गर्नुपर्दछ,’ उनले भने, ‘कुन पार्टीको सरकार छ भन्ने होइन । सरकारलाई सहयोग गर्नुपर्दछ ।’

अध्यक्ष ओलीले वर्तमान सरकारले कर्मचारीलाई जथाभावी सरुवा गरेकाले त्यसो नगर्न आग्रह गर्दै लोकतन्त्रको लडाइँमा कर्मचारी अग्रभागमा रहेकाले लोकतन्त्रलाई जोगाउने दायित्व पनि कर्मचारीको रहेको बताए । उनले राजनीतिक क्षेत्रमा काला बादल मडारिएको बेला कर्मचारीले मुलुकलाई सही दिशामा लैजानुपर्ने धारणा राखे ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *