संविधान दिवसलाई राष्ट्रिय एकता दिवसका रूपमा लिनुपर्छः नेता सिटौला
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान दिवसलाई राष्ट्रिय एकता दिवसका रूपमा लिनुपर्ने बताएका छन् । सातौँ संविधान दिवसका अवसरमा गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानले आज रत्नापार्कमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले संविधान राष्ट्रिय एकताको दस्तावेज भएकाले यसलाई राष्ट्रिय एकता दिवसका रूपमा लिनुपर्ने बताएका हुन् ।
पार्टीका पूर्वमहामन्त्री सिटौलाले संविधानको व्यवस्थामार्फत देशलाई वृहत्तर ढङ्गले अगाडि बढाउनुपर्ने बताए । उनले बलियो राष्ट्र निर्माण गर्न सबै दलहरु एकआपसमा मिलेर अगाडि बढ्नुपर्ने उल्लेख गरे । सबैले देश र जनतालाई बलियो बनाउनेगरी काम गर्नुपर्ने उनको भनाइ थियो ।
नेता सिटौलाले संसद्, कार्यपालिका, न्यायपालिका र तीनै तहको सरकार एवं कर्मचारीलाई संविधान दिवसको शुभकामना दिए । कार्यक्रममा गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानका अध्यक्ष एवं काठमाडौं क्षेत्र नं ६ का सांसद भीमसेनदास प्रधानले संविधानमार्फत राजनैतिक मुद्दा सकिएको जनाउँदै अब मुलुकमा आर्थिक विकास गर्नुपर्ने बताए । सो अवसरमा नेपाली कांग्रेस काठमाडौंका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment