संविधानको धारा ४ उल्लेख गर्दै अमेरिकी सहायकमन्त्रीले दिए संविधान दिवसको शुभकामना(तस्वीरहरुसहित)

डिसी नेपाल
५ असोज २०७८ ८:०७

वासिंगटन डिसी। अमेरिकी कायममुकायम सहायक विदेश मन्त्री डिन थम्प्सनले नेपालको संविधानले संघीयतासहितको वास्तविक गणतन्त्र स्थापना गरेको बताएका छन्।

नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सेप्टेम्बर २० तारिक सोमबार अमेरिकाको राजधानी वासिंगटन डिसीस्थित अमेरिकाका लाग नेपाली राजदूतको निवासमा आयोजित एक विशेष समारोहमा उनले सो कुरा बताएका हुन्।

नेपालले स्वतन्त्र, सार्वभौम,समावेशी र लोकतान्त्रिक शासन व्यबस्थालाई मूल मूल्यका रुपमा संविधानमा उल्लेख गरेको भन्दै उनले राजतन्त्रात्मक व्यवस्थालाई हटाएर नयाँ संविधानले केन्द्रदेखि स्थानीय तहसम्म जनताका प्रतिनिधिहरुको शासन व्यवस्था नेपालले अबलम्बन गरेको प्रसंग उल्लेख गरे।

नेपाल र नेपाली जनतालाई अमेरिकी सरकारका तर्फबाट शुभकामना दिने क्रममा उनले नेपालको संविधानको धारा ४ लाई उल्लेख गर्दै सयभन्दा बढी जातजाति, समुदाय र परम्परा भएका जनताको प्रतिनिधित्व हुने गरी तीन तहका सरकारहरु गठन भएको सन्दर्भमा नेपालले छैठौं संविधान दिवस मनाएको सन्दर्भ पनि उल्लेख गरेका थिए।

 

थम्प्सनले नेपाल र अमेरिकाबीच व्यापार, उर्जा विकास तथा वातावरणीय विनास रोक्न तथा क्लिन इनर्जीको विकासजस्ता क्षेत्रहरुमा आपसी सहकार्य थप मजवुत हुँदै जाने विश्वास व्यक्त गरे। यिनका अलावा महत्वपूर्ण धार्मिक सांस्कृतिक सम्पदाहरुको रक्षा गर्ने कुरामा निरन्तर सहकार्य हुँदै जाने विश्वास पनि उनले व्यक्त गरेका थिए।

प्रमुख अतिथिका रुपमा सहभागी भएका थम्प्सन र अन्य पाहुनाहरुलाई स्वागत गर्दै अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले नेपालले संधीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमार्फत दिगो शान्ति, विकास र विविधतामा बलियो एकता कायम गरेको बताएका थिए।

उनले अमेरिकाले नेपालका विकासमा पुर्‍याएको योगदानका लागि धन्यवाद दिँदै कोभिड महामारीका बेला खोप र अन्य स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएर अमेरिकाले गरेको मानवीय सहयोगप्रति आभार पनि व्यक्त गरेका थिए।

उनले अमेरिकाको युटा नेशनल गार्डले केही समयअघि मेडिकल सामग्रीहरु नेपाल पुर्याइदिएकोमा पनि धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा युटा नेशनल गार्डका सैनिक अधिकारीहरुको पनि सहभागिता थियो।

नेपाल र अमेरिकाको राष्टिय गान बजाएर शुरु गरिएको सो कार्यक्रममा दूतावासका उपप्रमुख कुमार खरेलले उपस्थित अतिथिहरुलाई स्वागत गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *