साेह्र श्राद्ध सुरू : पशुपतिमा पहिलाे दिनकाे पितृका नाममा तर्पण गर्दै श्रद्धालु (फाेटाेफिचर)

फुर्पा शेर्पा
५ असोज २०७८ ११:५९
136
Shares

काठमाडाैं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु भएकाे छ। पशुपतिमा विहानैदेखि श्राद्ध गर्नेहरूकाे घुइँचाे देख्न सकिन्छ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्ध समेत भन्ने गरिएको हो। कतै यो पक्षलाई प्रेत पक्ष पनि भनिएको छ। पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ।

चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो। यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ।

पितृपक्षका बेलामा पितृलोकबाट दिवङ्गत पितृहरु पिण्ड, पानीको आशले मत्र्यलोकमा झर्छन् भनी धर्मशास्त्रका हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको छ। यस अवसरमा शास्त्रीय रुपमा दिइएका विकल्प अनुसारका कर्म नगरे पितृ सुस्केरा निकाली सन्तानलाई श्राप दिई फर्कन्छन् भन्ने वाक्य ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरूको भनाइ छ।

 

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ। वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्म कपाली जस्ता श्राद्धहरु प्रचलित रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *