अध्यादेश खारेज हुनुपर्छ, एमाले फुट्यो भनेर खुसी हुन सकिँदैन : उपेन्द्र यादव – Dcnepal

अध्यादेश खारेज हुनुपर्छ, एमाले फुट्यो भनेर खुसी हुन सकिँदैन : उपेन्द्र यादव

हामी सरकारमा रहनुपर्छ भन्ने नै छैन

काठमाडौं। शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको दुई महिना भन्दा बढी समयसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला सत्ता गठबन्धनका नेता उपेन्द्र यादवले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज र मन्त्रालय बाँडफाँड नभएसम्म सरकारमा सहभागी नहुने बताएका छन्।

जसपा अध्यक्ष यादवले डिसी नेपालसँग कुरा गर्दै राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश दलीय व्यवस्था र ससदीय व्यवस्था खाने खालको भएकाले खारेज गर्नुपर्ने बताए। ‘यो अध्यादेशले दलीय व्यवस्था र संसदीय व्यवस्थालाई बलियो बनाउने भन्दा पनि खाने खालको छ,’ अध्यक्ष यादवले भने, ‘हामी सरकारमा सहभागी हुन खारेज हुनैपर्छ। अध्यादेश यथास्थितिमा राखेर हामी सरकारमा सहभागी हुँदैनौं।’

उनले आफूहरु सरकारमा सहभागी हुन अध्यादेश खारेज र मन्त्रालय बाँडफाँड हुनुपर्ने बताए।

‘अहिले अध्यादेश पनि खारेज भएको छैन भने मन्त्रालय पनि बाँडफाँड भएको छैन। यस्तो अवस्थामा हामी कसरी सरकारमा सहभागी हुनु?,’ उनले भने, ‘हामी सरकारमा रहनुपर्छ भन्ने नै छैन। त्यसका लागि हामीले मरिहत्ते गरेको पनि छैन। तर हाम्रो सबैभन्दा ठूलो मुद्दा के हो भने यत्रो ठूलो संघर्ष गरेर ल्याएको व्यवस्था जोगिनुपर्छ। दलहरु छिन्नभिन्न हुनु हुँदैन। एउटा छिन्न भिन्न हुँदा अर्को रमाउला, अर्को छिन्नभिन्न हुँदा अर्को रमाउला। तर समग्र रुपमा प्रणालीमाथि नै आगात पुग्ने काम हुनुहुँदैन।’

उनले दलीय व्यवस्था बलियो भएन भने दलहरु बलियो हुन नसक्ने र बहुदलीय व्यवस्था नै नटिक्ने बताए। अध्यक्ष यादवले सरकारले आफ्नो पार्टीलाई विभाजन गर्न अध्यादेश ल्याएकोसमेत आरोप लगाए। ‘यो अध्यादेश ल्याएकै हाम्रो पार्टी विभाजन गर्नका लागि हो,’ यादवले भने, ‘एमाले विभाजन भयो भनेर खुशी हुने होइन, अब यो तत्काल खारेज गर्नुपर्छ, विगतमा जे भयो भयो, अब खारेज हुनुपर्छ।’

सरकारप्रति आक्रामक देखिएका अध्यक्ष यादवले तत्काल सरकारमा सहभागी नहुने संकेत गरेपछि मन्त्रिपरिषद विस्तार झन पर धकेलिने देखिएको छ। यादवले सरकारमा सहभागी हुन उपप्रधानसहित परराष्ट्र मन्त्रालयको दाबी गर्दै आएका थिए। तर प्रधानमन्त्री देउवाले परराष्ट्र मन्त्रालय आफैंसँग राख्ने तयारी गरेपछि अध्यक्ष यादव प्रधानमन्त्री देउवाप्रति सशंकित पनि बनेका छन्।

 

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो