‘अनेरास्ववियुको नक्कल गर्नु सुदेश पराजुलीको केटाकेटीपन हो’ – सुनिता बराल

सम्भव सिंह ठकुरी
६ असोज २०७८ १७:१४

काठमाडौं। सुनिता बराल नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को चिरपरिचित नाम हो। गत शनिवार अनेरास्ववियु केन्द्रीय कमिटीको बैठकले बराललाई अध्यक्षमा चयन गरेको छ। ऐन महरले संगठनको नेतृत्व लिइरहँदा उनी उपाध्यक्ष थिइन्।

एमाले विभाजन हुनुपूर्व अनेरास्ववियुको सचिव रहेका सुदेश पराजुलीले पनि अहिले पार्टी विभाजन पश्चात नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्व गरिरहेका छन्।

पार्टी विभाजन पश्चात अनेरास्ववियुको संरचना र ऐन महरको बिदाइसँगै संगठन नेतृत्वको जिम्मेवारी पाएकी नवनियुक्त अध्यक्ष सुनिता बरालसँग अनेरास्ववियु र विद्यार्थी राजनीतिका विषयमा केन्द्रित रहेर डिसी नेपालका संम्भव सिंह ठकुरीले कुराकानी गरेको सम्पादित अंशः

अनेरास्ववियुको नेतृत्वमा आउनुभएको छ, आगामी लक्ष्यहरु के के छन् ?

अनेरास्ववियुको निश्चित लक्ष्य र उद्देश्यहरु हामीले पहिले नै निर्धारण गरेका हुन्छौँ। यसैसँग सम्वन्धित भएर हामी अगाडि बढ्ने हो । अहिले पनि हाम्रा उद्देश्यहरु पूर्वनिर्धारित नै छन् । अनेरास्ववियु सबैभन्दा धेरै विद्यार्थीहरुले भरोसा गरेको र रुचाइएको विद्यार्थी संगठन हो। हाम्रो मुख्य कार्यक्षेत्र भनेको शैक्षिक क्षेत्र नै हो।

त्यसकारण अब हामीले शैक्षिक क्षेत्रमा विद्यालयदेखि विश्वविद्यालयसम्मका विद्यार्थीहरुलाई सहजतापूर्वक शिक्षा उपलब्ध गराउनका लागि र जीवन उपयोगी र गुणस्तरीय शिक्षा उपलब्ध गराउनका लागि हामीले पहल गर्छौँ।

त्योसँगै विद्यार्थीहरुलाई संगठित गर्ने कुरा र आफ्ना समस्यालाई समाधान गर्ने कुरामा आफै पहल कदमी गर्नुपर्छ भन्ने कुरा सिकाउनका लागि पनि विद्यार्थी राजनीतिको आवश्यकता अपरिहार्य छ। योसँगै जोडिएको स्ववियु निर्वाचन लामो समयदेखि स्थगित भइरहेको छ।

स्ववियु निर्वाचन गर्नुपर्ने दापयत्व हामीसँग छ। संगै हामीसँग जोडिएका संविधान कार्यान्वयन गराउने विषय, राष्ट्र, राष्ट्रियतासँग जोडिएको विषयमा अडिग रहने हो।

आज हामीले हेरिरहेका छौँ, नेपालको भूमि नेपालीहरुसँग रहँदा पनि नेपालीको हो भन्ने अनुभूति गर्न नेपाली जनताले पाइरहेका छैनन्। यस्ता खालका राष्ट्र, राष्ट्रियतासँग जोडिएका विषय सामाजिक रुपमा देखिएका विकृति विसंगतिलाई निर्मूल पार्दै सामाजिक जनजागरणको अभियानलाई हामीले अगाडि बढाउछौँ। र शैक्षिक क्षेत्रलाई समृद्ध बनाउँदै पछिल्लो समयमा कोभिडका कारण अस्तव्यस्त भएको शैक्षिक क्षेत्र व्यवस्थित बनाउँदै गतिशील बनाउनका लागि भूमिका निर्वाह गर्छौँ।

अनेरास्ववियुको २५ औँ अध्यक्ष बन्नुभएको छ। यो ठाउँसम्म आइपुग्न क–कसको साथ पाउनु भयो ?

सबैभन्दा ठूलो साथ भनेको अनेरास्ववियुका नेता, कार्यकर्ताको नै पाएको छु। त्योसँगै समाजका अगुवा, एमालेका अग्रज नेताहरुको, अभिभावकको साथ पाएको छु। र, महत्वपूर्ण कुरा के हो भने, आज यो ठाउँसम्म आइपुग्न सुरुवाती चरणदेखि सहयोग गर्नुहुने मेरो परिवार लगायत धेरै जनाको भूमिका, साथ, सहयोगले आज यहाँसम्म आइपुगेको छु।

राजनीतिमा स्थापित हुनलाई चाकडी गर्नुपर्छ भन्छन्। तपाईँले चाहीँ चाकडी गर्नुभयो कि भएन ?

मैले चाकडी गरिन । मैले मेरो जिम्मेवारी निर्वाह गरेर यहाँ आएको हो। जिम्मेवारीप्रति जवाफदेही भएर काम गरे र प्राप्त भएको जिम्मेवारीमा निःशर्त काम गरें।

तर, तपाँईको घर झापा भएको कारण केपी ‘बा’को अशीर्वाद लाग्यो भन्छन् नि ?

यो विषयमा म धेरै बोल्न चाहन्न। अघिल्लो कार्यकालमा म अनेरास्ववियुको उपाध्यक्ष थिएँ। त्यसकारण म अध्यक्ष भएँ।

तपाईँ अध्यक्ष भइसकेपछि अनेरास्ववियु कसरी अगाडि बढ्छ ?

अब हामीले विद्यार्थीसँग जोडिएर काम गर्ने हो। अनेरास्ववियुको संस्थागत निर्णयहरुको साथमा अगाडि बढ्छ र सामूहिक रुपमा काम गर्छौँ। सामूहिक रुपमा कार्ययोजना र कार्यान्वयनमा जान्छौँ। र अब हामीले विद्यार्थीको हरेका समस्या समाधान गर्नका लागि अनेरास्ववियु साथमा छ भन्ने कुरा अनुभूति दिलाउने गरी काम गर्छौँ। र, हरेक नेपाली अभिभावकले, नेपाली जनताले हाम्रो सामाजिक समस्यामा, हाम्रा दैनिक सरोकारका समस्यामा चाहीँ कसैले नेतृत्वदायी भूमिका खेल्छ भने त्यो संगठन चाहीँ अनेरास्ववियु छ। र, हामीले कुनै अन्यायको अनुभूति गर्नु पर्दैन, अन्याय परिहालेको खण्डमा पनि न्याय दिलाउनको लागि पहलकदमी गर्ने संगठन छ, भन्ने कुराको अनुभूति दिलाउने गरी अनेरास्ववियुको टिमले काम गर्छ।

पार्टी विभाजन पश्चात अहिले दुई वटा अनेरास्ववियु छ। एउटाको नेतृत्वको सुदेश पराजुलीले गर्नु भएको छ। अर्कोको नेतृत्व तपाईले गर्नुभएको छ। यी दुईमा के फरक छ ? र, आधिकारिक अनेरास्ववियु कुन हो ?

हामी अनेरास्ववियु नेकपा एमालेसँग आबद्ध अनेरास्ववियु हो। अरु विद्यार्थी संगठनहरु धेरै छन्। यो विषयमा धेरै टिप्पणी गर्न चाहँदिन । र, पार्टी विभाजन भएको कुरामा पनि पार्टी विभाजन भएको चाहन्न। राजनीतिमा एकखाले मूल्य, मान्यता हुन्छन्।

दुई चार प्रतिशत मान्छेहरु पार्टीबाट बाहिर हुने कुरालाई विभाजन नै हो भनेर टिप्पणी गर्न त्यति स्वभाविक पनि देख्दिन। र, नेकपा एमालेसँग नजिक भएको र एमालेको भातृसंगठन भएकाले आज मैले नेतृत्व गरेको अनेरास्ववियु आधिकारीक अनेरास्ववियु हो।

तर, सुदेश पराजुलीले पनि आफूलाई अनेरास्ववियुकै अध्यक्ष भन्नुहुन्छ नि ?

कसले के नाम राख्यो त्यसले सरोकार राख्दैन। नाम मिल्न सक्छ। तर हामीले नागरिकताको प्रतिलिपि बनाउन खोज्दा फोटोकपी गरेर निस्केको नागरिकताले कसैको पनि परिचयको परिपक्वता दिँदैन। पहिचानको नक्कल गर्न खोज्नु उहाँहरुको केटाकेटीपन हो। उहाँहरुको संगठनको संरचनाले नै देखिएको कुरा हो। उहाँहरु अपरिपक्व हुनुहुन्छ।

हिजो सुदेशजी हामीसँगै एउटै संगठनमा हुनुहुन्थ्यो। म उपाध्यक्ष हुँदा उहाँ सचिव हुनुहुन्थ्यो। तर यति धेरै अपरिपक्व तरिकाले काम नगरिदिएको भए हुन्थ्यो।

हामीले राजनीतिक रुपमा भनी पनि सकेका छौँ। र, हामी कानूनी रुपमा पनि अगाडि बढ्छौँ। नाम मिल्दो राख्दैमा राजनीतिक लक्ष्यमा पुग्ने सोचाइ छ भने उनीहरुको कमजोरी हो।

र, हाम्रै नाम राखेर काम गर्ने मानसिकता हो भने त्यो कुरा त्याग्न सुदेशजीहरुलाई अनुरोध गर्दछु। हामी हाम्रो नाममा अरुको परिचय निर्माण गर्न दिदैनौँ। अनेरास्ववियु हाम्रो नाम हो। हाम्रो परिचय हो। त्यसमा सबैभन्दा बढी हामी नै हकदार छौँ।

विद्यार्थी संगठनहरु अहिले शैक्षिक एजेण्डामा भन्दा पनि पार्टीको कार्यकर्ता मात्र भएको देखिन्छ। किन यस्तो भएको ?

हामी विद्यार्थीकै नेता हो। हाम्रो मुख्य सरोकार विद्यार्थीसँग नै हुन्छ। र, नेतृत्व गर्दै आउँदा हामी केही नेतृत्व गर्ने व्यक्तिहरु पार्टीसँग प्रत्यक्ष जोडिएका हुन्छौँ। तर, यस्को अर्थ यो हैन कि अनेरास्ववियुसँग जोडिएको सबै विद्यार्थीहरु एमालेको नेतृत्वमा जोडिएको हुँदैन। त्यस्तो हुँदैन। लाखौँको संख्यामा हाम्रो संगठनमा जोडिनुभएको हुन्छ। तर, त्यो चाहीँ नेतृत्वदायी भूमिका खेल्ने क्रममा उहाँहरु विभिन्न क्षेत्रमा जानुहुन्छ। र, केही संख्यामा मात्र जोडिन्छौँ।

यो चाहीँ हामी सबैलाई थाहा छ। हामी एमालेको भातृसंगठनको रुपमा काम गरिराखेका छौँ। त्यसकारण हामीले राजनीतिक एउटा चेतना भएको व्यक्ति म अनेरास्ववियुको अध्यक्ष भइरहँदा सबैभन्दा बढी मेरो सरोकारवाला पक्ष भनेको विद्यार्थी हो।

त्यो संग संगै म एमालेको राजनीतिमा पनि जोडिन्छु। यो मेरो राजनीति पाटो हो। तर कार्यक्षेत्रको हिसाबले हेर्ने हो भने म विद्यार्थीसँग जोडिन्छु। र विद्यार्थीकै समस्याको काम गर्ने हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *