कांग्रेस हलेसीकाे नगर उपसभापतिमा दाजुभाइ चुनाव लडे, दाइले जिते

डिसी नेपाल
१० असोज २०७८ ११:२३
116
Shares

खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसको नगर उपसभापतिमा एकाघरका दाजुभाइबीच चुनावी प्रतिष्पर्धा भएको छ। शनिबार सम्पन्न नगर अधिवेशनमा नगर उपसभापतिका लागि हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका दाइ देबेन्द्र राई र भाइ दिनेश राईबीच चुनावी प्रतिष्पर्धा भएको हो।

देबेन्द्र घरका साइला र दिनेश कान्छा छोरा हुन्। देवेन्द्र चक्रकुमार राईको प्यानलबाट र भाइ दिनेश रमेश राउतको प्यानलबाट नगर उपसभापतिमा उम्मेद्वारी दिएका थिए। निर्वाचन प्रकृयाबाट चक्रकुमारको प्यानल विजयी भएको छ। दाजु देबेन्द्रले १ सय २६ मत र भाइ दिनेशले ५२ मत पाएको कांग्रेसले जनाएको छ।

२४ भदौमा चक्रकुमारले प्यानलसहितको उम्मेद्वारी घोषणा गर्दा उपसभापतिमा देबेन्द्रको र २६ भदौमा रमेशले प्यानलसहितको उम्मेद्वारी घोषणा गर्दा भाइ दिनेशको नाम सार्वजनिक भएको थियो। देबेन्द्रलाई नगरपालिकाका मेयर इवन राई र दिनेशलाई उपमेयर बिमला राईको समर्थन थियो। दाजुभाइलाई दुई समूहले उम्मेद्वार बनाएको हो।

‘हारे पनि जिते पनि’ एकै घरकाले जित्ने भन्दै दाजुभाइले सल्लाहमै एकै पदमा उम्मेद्वारी दिएको कतिपयको अनुमान छ। कांग्रेसको नगर उपसभापतिमा निर्वाचित देबेन्द्रले भने आफ्नो उम्मेद्वारीपछि भाइले उम्मेद्वारी दिएको बताए। ‘पहिला सल्लाह भएको थिएन। मेरो उम्मेद्वारी आएपछि भाइको उम्मेद्वारी आयो,’ देबेन्द्रले भने, ‘टिमले अघि सारेका कारण दुबैको व्याक हुने अवस्था रहेन। त्यसपछि सौहाद्रपुर्ण रुपमै चुनावी मैदानमा उत्रिएका हौँ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.