रारामा चहलपहल बढ्यो, घोडा व्यवसायी उत्साहित

डिसी नेपाल
१९ असोज २०७८ १३:०१
184
Shares

मुगु। कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा तालमा चहलपहल बढ्न थालेको छ। कोरोना कारण लामो समयसम्म थला परेको रारा ताल पछिल्लो समय कोरोना संक्रमणले केही ओरालो लागे पछि वर्षा सकिएर मौसम खुलेसँगै रारा घुम्ने सिजन सुरु भएको हो।

पोखरा, काठमाडौ, नेपालगञ्ज, विराटनगर, चितवनलगायत ठाउँबाट रारा आउनेहरू बढेको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ। सहरी क्षेत्रबाट दैनिक ३० जनासम्म पर्यटक रारा आइरहेका छन्।

दैनिक ५० जनासम्म स्थानीय पर्यटक रारा घुम्न आउने गरेका छन्। कर्णाली राजमार्ग हुँदै रारा आउने पर्यटक पनि बढ्न थालेको निकुञ्जका संरक्षण अधिकृत बद्रिविनोद दाहालले बताए । उनका अनुसार जहाजबाट आउने पर्यटकको संख्या बढेपछि निजी एयरलाइन्सले दैनिक पाँचवटासम्म उडान भर्न थालेका छन्।

लामो समयपछि फिनल्याडका नागरिकको टोली पनि रारा आएको निकुञ्जले जनाएको छ। पर्यटकको चहलपहल बढ्न थालेपछि कोरोना महामारीका कारण कारोबार शून्य भएका होटेल, कटेज र होमस्टे पनि खुल्न थालेका छन्। करिब सात महिनापछि पर्यटकले कोठा बुक गर्न थालेको माझघट्ट होमस्टेका सञ्चालक रत्नसिंह रोकायाले बताए।

‘पर्यटक बढेपछि खानपिन, सरसफाइ र अन्य व्यवस्थापनको तयारी थालिएको छ’, उनले भने, ‘अहिले दैनिक कोठाहरू बुक हुन थालेका छन्। उनले पर्यटक बढ्न थालेपछि होटेल व्यवसायी, डुंगा सञ्चालक र घोडा व्यवसायी उत्साहित बनेको बताए।

लामो समय कामविहीन बनेका घोडाले बल्ल काम पाउन थालेको व्यवसायी गोर्ख रोकायाले बताए । उनले दैनिक एक हजार रुपैयाँसम्म कमाइ गरिरहेका छन्।

हिजाेआज करिब १५ पर्यटकलाई आसपासका गाउँमा घुमाइरहेको जानकारी दिए। पछिल्लो समय मुर्माटप पनि आन्तरिक पर्यटकको रोजाइमा परेको छ । रारा आएका पर्यटक घोडा चढेर मुर्माटप जान्छन् भने त्यहाँबाट सैपाल हिमाल, छायानाथ तीर्थस्थलसहितको अवलोकन गरेर फर्किन्छन्। पर्यटकको रोजाइमा मुर्माटप परेपछि पर्यटकको सुविधाका लागि रारा इको रिसोर्ट निर्माण गर्न थालिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *