बालिका मृत्यु प्रकरण : स्थानीय प्रशासन र परिवारबीच सहमति

डिसी नेपाल
२१ असोज २०७८ १६:५४

काठमाडौं । पाँचथर अस्पतालमा उपचाररत तीन वर्षीया बालिका क्रिस्टिना थाम्सुहाङको मृत्युपछि अस्पतालले समस्या समाधानका लागि चार बुँदे सहमति गरेको छ । आज जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलबाट प्रशासन र मृतक बालिकाका परिवारबीच चार बुँदे सहमति भएको हो ।

ज्वरो आएपछि २ दिनअघि अस्पताल भर्ना भएकी फिदिम नगरपालिका २ कि ३ वर्षीया क्रिस्टिनाको वुधबार बिहान चिकित्सकले सुई लगाइदिएलगत्तै निधन भएको थियो । घटनाको छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न समिति गठन गर्ने सहमति भएको छ । नेपाल रेडक्रस सोसाइटी पाँचथर शाखाका सभापति कृष्णप्रसाद बाँस्कोटाको संयोजकत्वमा अस्पताल विकास समितिका सदस्य दीपक नेपाल, मृतक बालिकाका बाबु कमल थाम्सुहाङ र छिमेकी होमराज थाम्सुहाङ तथा जिल्ला अस्पतालका मेडिकल रेकर्ड अधिकृत नारायण जोशी सदस्य रहेको छानबिन समिति गठन गरिएको हो ।

यस्तै मृतक बालिकाका परिवारका सदस्यलाई उपयुक्त समयमा रोजगारीका लागि प्रयत्न गर्ने, मृतक बालिकाको काजकिरियाका लागि रु ४० हजार रकम अस्पताल विकास समिति र रेडक्रस सोसाइटी शाखाले उपलब्ध गराउने सहमति भएको छ । यस्तै आवश्यक कानूनी प्रक्रिया पूरा गरी बालिकाको शव अस्पतालबाट उठाई शव परीक्षण गरी अन्तिम संस्कार गर्ने सहमति समेत भएको छ । फालेलुङ गाउँपालिका–८ घर भई फिदिम–२ बस्ने कमल थाम्सुहाङकी साढे तीन वर्षीया छोरी कृष्टिनाको उपचारका क्रममा हिजो बिहान मृत्यु भएपछि जिल्ला अस्पताल तनावग्रस्त बनेको थियो ।

प्रशासनले अस्पताल क्षेत्रको सुरक्षालाई ध्यान दिइ नियन्त्रणमा नलिँदा उत्तेजित भीडले गरेको आगजनीमा अस्पतालका संरचनामा ठूलो क्षति पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *