अटो चालकले फिर्ता गरे भेटिएका आठ लाख बराबरका गहना

डिसी नेपाल
२४ असोज २०७८ १९:०५

उदयपुर । उदयपुरको कटारी नगरपालिका ४ कटारी बजारका एक अटो चालकले आफ्नो अटोमा छुटेको आठ लाख रुपैयाँ बराबरको गरगहना फिर्ता गरेर उदाहरणीय काम गरेका छन् ।

अटोमा चढेका यात्रुले आठ लाख रुपैयाँ बराबरका गरगहना र लत्ता कपडा आफ्नो अटोमा छुटेको पाएपछि उनले उक्त सामान सम्बन्धितलाई बुझाएका हुन् ।

उदयपुरगढी गाउँपालिका ६ दनुवारबेँसीकी मेनुका राईका सामान कटारी नगरपालिका ४ सिम्लेका खड्गबहादुर तामाङको स१ह १२३१ नम्बरको अटोमा छुटेका थिए ।

यात्रु ओसारपसारमा व्यस्त रहने ५५ वर्षीय तामाङले त्यस दिनको आफ्नो सबै काम सकेर फर्किए । उनले अटो पछाडि हेर्दा सुनको गरगहना भएको महत्त्वपूर्ण सामान र लत्ता कपडाले भरिएको झोला भेट्टाए । उनले सुरुमा कस्को हो भन्ने कुनै पहिचान गर्न सकेनन् ।

धेरै सोच्दा पनि सामान कसको हो भनेर पहिचान गर्न नसकेका उनले अर्को दिन काम छाडेर सामान धनीको पहिचानमा जुटे । धेरै सोचेपछि उनले सामान धनीको पहिचान गरे ।

सामान धनीको पहिचान गरी तामाङले इलाका प्रहरी कार्यालय कटारीको रोहवरमा धनीलाई सामान बुझाएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *