इनरुवा सबस्टेसन निर्माण धमाधम, पुसभित्र निर्माण सक्ने लक्ष्य

डिसी नेपाल
२५ असोज २०७८ ८:०९

काठमाडौं। सुनसरीमा निर्माणाधीन ग्यास इन्सुलेटेड प्रणालीमा आधारित (जिआइएस) ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेसनको काम धमाधम भइरहेको छ। आगामी पुसभित्र निर्माण सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको हो।

सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत प्रवाहका अतिरिक्त स्थानीय रूपमा आपूर्तिसमेत गरिने छ। यसबाट त्यहाँको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ। ४०० केभी र २२०/१३२/३३ केभी सबस्टेसनका अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । साथै ट्रान्सफर्मर, रियाक्टर सर्किट ब्रेकरजस्ता मुख्य उपकरण निर्माणस्थलमा ल्याइसकिएको छ। २२०/१३२/३३ केभी सबस्टेसनका उपकरण जडान भइसकेको छ । ४०० केभी र २२०/१३२/३३ केभी सबस्टेसनको समग्र निर्माण प्रगति क्रमश : ६५ र ८५ प्रतिशत छ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणस्थलको अवलोकन र निर्माणमा संलग्न आयोजना व्यवस्थापन, ठेकेदार कम्पनी, परामर्शदातासँग छलफल गरी निर्धारित समयमै काम सम्पन्न गर्न आग्रह गरे ।

‘मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगलाई थप विद्युत दिन र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन इनरुवा सबस्टेसनको निर्माण तत्काल सक्नु पर्ने छ, यस्तो मेरुदण्डको रुपमा रहेको सबस्टेसन निर्माणमा आइपर्ने समस्या तत्काल समाधान गर्न तयार छौं’, उनले भने ।

उनका अनुसार सबस्टेसन तयार भएपछि कोसी करिडोर २२० केभी प्रसारण लाइनलाई २२० केभीमा चार्ज गर्न सकिन्छ । अरुण तथा तमोर नदी र त्यसका सहायक खोलामा निर्माण गरिएका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत कोसी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ । कोसी करिडोरको इनरुवा-बसन्तपुर-तुम्लिङटार खण्ड निर्माण सम्पन्न भइसकेको छ भने वसन्तपुर-ढुंगेसाँघु खण्ड निर्माणाधीन छ ।

नेपाल सरकारको लगानीमा निर्माण भइरहेको ४०० केभी सबस्टेसन निर्माणका लागि २०७५ पुसमा ठेक्का सम्झौता भएको थियो । नेपाल सरकारको लगानी र विश्व बैकको सुहलितपूर्ण ऋणमा नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत २२०/१३२/३३ केभी सबस्टेसनको निर्माण गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *