हिमाली क्षेत्रका किसानलाई याक र चौँरीको खुराक जोहो गर्न चटारो – Dcnepal

हिमाली क्षेत्रका किसानलाई याक र चौँरीको खुराक जोहो गर्न चटारो

ताप्लेजुङ। ताप्लेजुङको हिमाली बस्तीका बासिन्दालाई यतिबेला याक र चौँरीलाई खुराक (घाँस) को जोहो गर्ने चटारो छ। हिउँदमा हिमपात हुने हुँदा त्यहाँका बासिन्दालाई याक र चौँरीका लागि हिउँदे खुराकको जोहो गर्ने चटारो परेकाे हाे।

हिमाली बस्तीका बासिन्दाको मुख्य पेसा नै याक र चाैँरी पालन हो। कात्तिक अन्तिमदेखि चैतसम्म नै करिब पाँच महिना बढी हिमपात हुने भएकोले अहिले हिउँदे घाँसको जोहो गर्न थालेको स्थानीयले बताएका छन्।

हिमाली क्षेत्रमा हिमपात हुन थालेपछि चरन क्षेत्रमा हिउँले ढाक्ने र त्यसबेला याक तथा चौँरीका लागि खुराक (घाँस) को अभाव हुने फक्ताङलुङ गाउँपालिका-७ ओलाङ्चुङगोलाका स्थानीय तेन्जिङ शेर्पाले बताए। शेर्पाका अनुसार हिउँले चरन क्षेत्र ढाक्ने हुँदा हिमपातको मौसममा चौँरी र याकलाई खुवाउने घाँस यहिबेला जोहो गर्नुपर्ने बाध्यता छ। हिमपातले गर्दा चरन क्षेत्रको अभाव हुने भएकै कारण हिउँदको मौसममा याक र चौँरी बचाउनलाई अहिले अनिवार्य हिउँदे घाँसको जोहो गर्नुपर्ने अवस्था रहेको ओलाङ्चुङगोलाकै अर्का स्थानीय छेतेन फिन्जो शेर्पाले बताए।

स्थानीयले सामुहिक रुपमा घाँस संकलन गर्नेगरी घाँसे क्षेत्रको संरक्षण गर्दै आएको र हाल सोही क्षेत्रमा स्थानीय सबै जुटेर घाँस संकलन गरिरहेको फुपुफुटी शेर्पाले बताए । विगतदेखि नै ओलाङ्चुङगोलाका याक र चौँरी पालक किसानले संरक्षण गर्दै आएको घाँसे क्षेत्रमा घाँस संकलन गर्ने गरिएको शेर्पाले बताए।

उनका अनुसार प्रत्येक वर्ष असोज महिनामा पशुपालक सबै परिवार जुटेर घाँस संकलन गर्ने (काट्ने) गरिएको र घाँसलाई दुई-चार दिनसम्म सुकाएर आ-आफ्नो घर गोठमा भण्डारण गरेर राख्ने गरिएको छ। राम्ररी सुकाएर घर-गोठमा भण्डारण गरेर राखेको घाँस हिमपातको अवधिभर याक र चौँरीलाई खुवाउने गरिएको स्थानीय बताउँछन्।

कुनै वर्ष हिमपातको मौसम लम्विने हुँदा यतिबेला भण्डारण गरेर राखेको घाँस नै थोर–थोरै खुवाएर भए पनि याक र चौँरीको प्राण बचाउने गरिएको ओलाङ्चुङगोलाका स्थानीय छिरिङ दोर्जे शेर्पाले बताए।

मुख्य पेसा र आम्दानीको प्रमुख स्रोत नै याक तथा चौँरी पालन भएकाले ओलाङ्चुङगोलासहित याङ्मा, तोक्पेगोला, फले र घुन्सा क्षेत्रका बासिन्दा हिउँद र बर्खा नै याक र चौंरीको गोठ सम्हाल्ने गर्दछन्। घाँस (खुराक) नपाएर वा अन्य कारणले एउटा मात्र याक वा चौँरी मरेमा डेढ लाख रुपैयाँसम्म घाटा हुने स्थानीय बताउँछन्।

साढे दुई वर्षदेखि कोरोना महामारीका कारण तिब्बततर्फ याक र चौँरी बिक्री नभएकाले संख्या पनि बढेको र हिमपातको मौसममा खुराक पुर्‍याउनलाई समेत हैरानी हुने उनीहरूको भनाइ छ।

हाल ओलाङ्चुङगोला क्षेत्रमा मात्र सातवटा जति याक र चौँरीको गोठ रहेका छन् । उक्त गोठमा करिब साढे चार सय याकको संख्या रहेको स्थानीयले बताएका छन्।

चौंरीको संख्या पनि सोही अनुपातमा रहेका बताइएको छ । तोक्पेगोला क्षेत्रमा करिब ३५ वटा याक र चौँरीका गोठ रहेको मिक्वाखोला गाउँपालिका–५ पापुङका वडाध्यक्ष डण्डु लामाले बताए। उनका अनुसार तोक्पेखोला क्षेत्रमा दुई हजार बढी याक र चौँरी रहेका छन् । त्यस्तै याङ्मा, फले र घुन्सा क्षेत्रमा पनि दर्जनौ गोठहरू रहेका घुन्साका स्थानीय पेमा शेर्पाले बताए।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो