मौलिक गीत संगीतमा युवापुस्ताका प्रतिनिधि शिव

तर्कबहादुर थापा
२७ असोज २०७८ १०:३१

काठमाडौं। नेपालमा विभिन्न जातजाति र समदुायका मानिसहरुको बसोबास छ। सबैको आ–आफ्नै रीतिथिति, संस्कार र संस्कृति छ। नेपालको पूर्वदेखि पश्चिमसम्म लोक संस्कृतिको पनि आ–आफ्नो अलगै प्याटन छ। पूर्व र पश्चिममा गाइने लाक भाकामा पनि भिन्नता पाइन्छ।

देउसी, भैलो, सिलोक, सेलो र झ्याउरेलगायतका नेपाली लोकभाका हुन्। यी लोकभाकामा झ्याउरे भाका नेपालको पश्चिम भू–भागमा बढी प्रचलनमा आएको पाइन्छ। नेपालको लुम्बीनी प्रदेशका केही जिल्लाहरु, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही जिल्लाहरुमा झ्याउरेको छुट्टै महत्व र पहिचान छ।

दशैं तिहार आएपछि विशेषगरी देउसी र भैलोसँगै झ्याउरे र टप्पा गीतहरुमा पनि नाचेको हेर्न पाइन्छ। नेपालको पश्चिम भेगमा चल्ने झ्याउरे गीतका युवा पुस्तालाई प्रतिनिधित्व गर्ने गायक हुन शिव संगीत। आधुनिक र पप गीतको रमझममा मौलिक संस्कृतिलाई बचाउनमा शिव संगीतले युवापुस्ताको प्रतिनिधित्व गरेका छन्।

नेपाली लोक नृत्यका अब्बल निर्देशक कुलमान नेपालीका जेष्ठ सुपुत्र हुन शिव। हुन त शिवले आफूलाई चिनाउने थुप्रै गीत गाएका छन्। ‘हातमा बाला सोल्टिना, आउनु है मायालु, सिम्तादरा, मारुनी, फूलफूल्यो बामरी’लगायत थुप्रै झ्याउरे गीतले उनको परिचयलाई उच्च बनाइराखेको छ।

आफ्ना बुबासँगै मौलिक संगीतको बिडो थाम्दै आएका छन् शिवले। २०५५ सालमा देशव्यापी भएको बाल लोकगीत प्रतियोगीतमा त्रितीय स्थान हासिल गरेपछि शिवले औपचारिक लोक संगीतमा पाइला टेके।

‘कला जुनसुकै भए पनि गड् गिफ्टेड हुनु पर्ने रहेछ।’ शिवले आफ्नो अनुभव सुनाउँदै भने, ‘बुबा नृत्य निर्देशक हुनुहुन्छ भन्ने सबैलाई थाहै छ। नेपालमा चर्चित नृत्य निर्देशकहरु बुबाका प्रोडक्ट हुन्। तर, मलाई नृत्य प्रति त्यति रुचि भएन। मैले गायन क्षेत्रमा प्रवेश गरेँ।’ गायन कला नै ‘गडगिफ्टेड’ भएको शिवको अनुभूति छ।

गीत संगीतलाई व्यवसायिक बनाउन सकिएन

काठमाडौंमा आएर संघर्ष गर्दै कलाकारितामा अब्बल बनेका उदाहरणहरु धेरै छन्। धेरै कलाकारहरुको अनुभवले काठमाडौं शहरमा प्रवेश गरेपछि कष्टकर जीवनयापन गर्नु परेको हुन्छ। दोहोरीसाँझले लोक संगीतका कलाकारलाई पाल्ने र रियाज गर्ने ठाउँका रुपमा अवसर दिइरहेको हुन्छन्।

काठमाडौं प्रवेश गरेपछि बाटो काट्ने ठाउँ नपाएर घण्टौं सडक क्षेत्रउमा उभिएका उदाहरण पनि लोक दोहोरी क्षेत्रमा लागेका कलाकारले सुनाउँछन्। आफूले काम गर्ने दोहोरीसाँझ नचिन्ने, गाडी कहाँदेखि पाइन्छ भन्ने थाहा नहुनेलगायत धेरै समस्याहरु काठमाडौंमा संघर्षको क्रममा रहेका कलाकारहरुको अनुभूति हुन्छ।

२०५५ सालमा राष्ट्रव्यापी भएको बाल लोकगीत प्रतियोगीतमा तृतीय र २०६१ र २०६३ सालमा भएको राष्ट्रव्यापी लोकगीतमा प्रथम स्थान हासिल गरेका शिव संगीतलाई भने काठमाडौं बस्दा माथिका दुःखहरु बेहोर्नु पर्ने थिएन।

‘मलाई त्यस्तो अवस्था आउने थिएन झै लाग्छ।’ उनले भने, ‘बुबाको सरकारी जागिर थियो। नृत्यमा राम्रो पकड बनाउनु भएको, त्यसमाथि काठमाडौंमा धेरैलाई चिन्नु पनि हुन्थ्यो मैले गीत संगीतलाई व्यवसायिक बनाउन सकेको भए राम्रो हुन्थ्यो झै लाग्छ। त्यस बेला गीत संगीतलाई व्यवसायिक बनाउन सकिएन।’

स्टेजमा गाएर नै सन्तुष्ट भइयो

सुर्खेतमा हुने हरेक स्टेजमा शिव संगीतको पालो आउँथ्यो। सानासाना विद्यालय, कल्वका कार्यक्रमदेखि लिएर ठूलाठूला मेला महोत्सवमासमेतमा शिव संगीतले आफ्नो प्रस्तुति दिइरहेका हुन्थे।

‘त्यो बेलामा लाइभ गाइन्थ्यो।’ उनले भने, ‘एका तिर वाध्यवादन, अर्को तिर दर्शकको हुटिङ र कोलाहल, ठूलाठूला साउण्ड सिस्टममा आउने आवाजले मुटु हल्लाउथ्यो। त्यस्तो स्टेजहरुमा गीत गाएपछि सन्तुष्टि मिल्थ्यो। त्यसैलाई नै आधार बनाइयो।’

दर्जनौं गीतमा आवाज दिएका शिवले सयौं साना तथा ठूला स्टेजहरुमा आफ्नो प्रस्तुति दिइसकेका छन्। वालगीत प्रतियोगीतमा प्रथम भएका गीतदेखि ‘गिनिजबुक अफ वल्र्ड रेकर्ड’ का लागि बनेका गीतसमेतमा शिवले आवाज दिएका छन्।

संगीत बुझ्नु पर्दो रहेछ

आधुनिक गायक नारायण गोपाल शिवका आइडल हुन्। उनले रामकृष्ण ढकाललाई पनि मार्ग निर्देशक मानेका छन्। ‘सुरुवाती दिनमा आधुनिक गीत गाइयो। नारायण गोपाल र रामकृष्ण दाइ मेरो आइडल हो। ढकाल दाइलाई नै मार्ग निर्देशक मानेर आधुनिक गीतमा प्रयास गरेँ। गाएको पनि छु। स्टेज कार्यक्रमदेखि एल्बमसम्ममा आधुनिक गीत आएको छ।’

आधुनिक गीत गाए पनि अन्तरमनमा लोक संगीतले बास गरेको शिवको अनुभव छ। उनले आफ्ना बुबाले पनि लोकगीतमा नृत्य निर्देशन गर्ने, सधै लोकगीत सुनिएको हुने र आफू जन्मे हुर्केको ठाउँ पनि लोकगीतको धनि भएका कारण पनि लोकगीत नै मनमा बसेको बताए।

उनले भने, ‘संगीत बुझ्नु पर्दो रहेछ। मैले आधुनिक गीत गाएँ। त्यसमा थुप्रै समय खर्च पनि गरेको छु। तर, एउटा एल्मबममा सबै आधुनिक गीत छन्, सोही एल्मबममा भएको एउटा लोकगीतले मलाई झड्का लगायो। आफैंले गाएको आधुनिक र लोकगीतमा फरक पाएँ। अनि मैले मौलिक लोक गीत नै गाउनु पर्ने रहेछ भन्ने बुझेको छु।’

आफैंलाई चिन्दैनन् र अच्चम लाग्छ

समग्रमा गीत संगीत लेख्नेलाई धेरैले चिन्दैनन्। गाउँने मान्छे पनि भिडियोमा देखिएको अवस्थामा बाहेक धेरैलाई चिन्दैनन्। सञ्चार माध्यामबाट फलाना कलाकारको आवाजमा रहेको यो गीत भन्नेहरुले नाम सुन्छन् अनुहार देखेका हुँदैनन्। अहिले डिजिटल जमाना छ। अहिले गायकहरु पनि भिडियोमा देखिने र लाखौंका माझमा चिनिने हुन्छन्।

शिवसंगीत भने यो विषयमा अझै पनि गुनासो गर्छन्। उनले भने, ‘मैले गाएको गीत विशेष गरी कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा बज्ने गर्छ। धेरै जसो पहाडी जिल्लाहरु छन्। ती जिल्लाहरुमा अहिलेसम्म पनि राम्रो इन्टरनेटको व्यवस्था छैन। भएकै ठाउँमा पनि इन्टरनेट चलाउन जान्ने मान्छेहरु छैनन्। गीत धेरै जसो अडियोमा सुनिन्छ गाइन्छ।’

धेरै ठाउँमा उनी पुगेकै हुन्छन्। गीत बजिरहेको हुन्छ। मान्छे नाचिँरहेका हुन्छन्। तर, शिवसंगीत पनि यही भीडमा छन् भन्ने थाहै हुँदैन। ‘मलाई कहिलै काहीँ त मजा पनि आउछ। आफ्नो गीत बजिरहेको सुन्दा खुसी पनि लाग्छ।’

उनी आफ्ना थुप्रै उदाहरण दिँदै सुनाउँछन्, ‘मौलिक गीत गाएकोमा धन्यवाद पनि भन्छन्। यसले मौलिकता बचाउँछ पनि भनेको सुन्न पाइन्छ। युवा पुस्तामा मौलिक गीत संगीत प्रति इच्छाहुनु राम्रो कुरा हो पनि भनेका हुन्छन्। तर, मलाई नै चिन्दैनन्। अच्चम लाग्छ।’

मौलिकता नै मेरो प्रमुख विषय हुन्छ

आधुनिक गीतबाट लोकगीतमा आएका शिवसंगीत अब भने आफूले मोलिक लोकगीतलाई नै प्रमुख विषय बनाएर अगाडि बढ्ने योजनामा छन्। लोक भाकाहरु, जनजिब्रोका गीतहरु लोप हुने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरेका शिवले आफूले मोलिकतालाई बचाउन हर सम्भव प्रयास गर्ने बताए।

उनले भने, ‘अहिले आधुनिकताको नाममा लोक गीत पनि विकृत छ। केही वर्ष पहिलाका लोकगीतहरु परिवारसँगै बसेर सुन्न पनि सकिँदैन। पछिल्लो पुस्ताले लोक संस्कृतिलाई बचाउने जिम्मेवारी लिनु पर्छ। संस्कृति बचेन भने देश रहँदैन। मैले त्यो कुरालाई आत्मसाथ गरेको छु। अब मौलिक संस्कृति बचाउने मेरो हरसम्भव प्रयास रहने छ।’

मौलिक लोक संस्कृतिमा लाग्छु र झ्याउरे गाउँछु भन्ने कोही पनि अर्को साथी नभएको उनको अनुभव छ। ‘कसैले पनि मौलिक लोक संस्कृति भित्र पर्ने झ्याउरे गाउँछु भन्दैनन्।’ उनले भने, ‘म एक्लै छु झैं लाग्छ।’

डिजिटल जमाना आएपछि पैसा कमाउनका लागि मात्र गीत गर्नु पर्छ भन्ने धेरैको मनमा परेको शिवको अनुभव छ। ‘मौलिकता बचाउनु पर्छ भन्ने सोच कसैमा छैन्। यदि कसैमा छ भने उहाँहरुलाई पछि पारिएको छ। युट्युवमा भ्यूजको आधारमा कलाकारको मुल्याङ्कन हुन थालेपछि लोक संस्कृतिले स्थान पाउन छोडेको हो।’

केही कुरामा पछुतो छ

‘गुरु घर विद्या सर’ भन्ने भनाइ छ। उक्त भनाइ भए पनि शिव संगीतमा भने पहिला आर्थिकरुपले आफूलाई बलियो बनाउने कुराले मनमा जन्म लियो। उनले पढाइसँगसैगै गीत संगीत लिन सकिन्छ भन्ने कुरा बुझेनन् वा ख्याल गरेनन्। तर, पढाइमा मात्र ध्यान दिए।

आफूले पढि सकेर अरुलाई पढाए पनि उनले। आफ्नो क्षेत्रमा हुने स्टेज कार्यक्रममा आफूलाई सिमित बनाएका शिव अहिले बेलैमा व्यवसायिक नभएको प्रति पछुतो व्यक्त गर्छन्।

उनले भने, ‘गीत गाएर अर्थोपार्जन गर्न सकिने अवस्था थिएन्। अझै पनि छैन। तर, आफूले गर्ने काम गरेरै भए पनि गीतसंगीतलाई व्यवसायिक रुपमा अगाडि बढाउनु पर्ने रहेछ भन्ने अहिले लाग्छ। केही कुरामा पछुतो पनि छ। हुन त आर्थिक रुपमा स्थापित हुन गरेको दुःखले पनि अहिले सजिलो नै बनाएको छ। तर, गीत संगीतमा चाहेजति फड्को मार्न सकिएन।’

उनी धेरै मिडिया प्रेमी पनि छैनन्। रेडियोमा काम गरेको अनुभव भएकाले पनि उनलाई मिडियामा आउने जाँगर नचलेको होला। तर, अहिले कलाकारका लागि मिडिया पनि साथि हुने कुरा राम्रारी बुझे उनले।

‘त्यो पनि पछुतो हो भनौं।’ उनले भने, ‘मिडियामा बोलाउँदा पनि इन्कार गरियो। जान मन लागेन। आफूले गर्ने कार्य गर्नु पर्छ प्रचार होइन भन्ने लाग्यो। तर, परिवेश त्यो रहेन। अहिले केही नगरेकाले पनि मिडिया प्रयोग गरेर आफूलाई स्थापित गरिरहेको अवस्थामा मैले मिडियालाई समय नदिनु, आफूले गरेको कुरा पनि नभन्नु पनि थोरै पछुताको विषय हो कि झै लाग्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *