बाढी प्रभावित क्षेत्रको अध्ययनका लागि प्रधानमन्त्रीको टोली दुई दिने भ्रमणमा निस्कियो
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पीडित जिल्लाहरुको अवलोकनका लागि निस्केका छन्। बिहीबार विहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सिधै सुर्खेतका लागि निस्केका छन्।
प्रधानमन्त्री कार्यालयका अनुसार सुर्खेतमा समग्र कर्णालीमा बाढीले पुर्याएको क्षतिको बारेमा विवरण संकलन गरिसकेपछि डोटीको दिपायल पुग्नेछन्।
दिपायलपछि प्रधानमन्त्रीको टोली बझाङ तिर लाग्ने छ। बझाङपछि डडेलधुरा पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। देउवाको गृहजिल्लासमेत रहेको डडेलधुराको अवस्था अध्ययन तथा अवलोकनपछि प्रधानमन्त्रीको टोली कञ्चनपुर जाने कार्यक्रम रहेको छ।
कञ्चनपुरको अवलोकन तथा अध्यायनपछि टोलीसहित प्रधानमन्त्री कैलाली फर्किने छन्। धनगढीमा बास बसेर प्रधानमन्त्री देउवा शुक्रबार बर्दिया र बाँकेको भ्रमण तथा अवलोकन गर्दै काठमाडौं फर्किने छन्।
प्रधानमन्त्रीसँग अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीहरु रमेश लेखक, एनपी साउद र वीरबहादुर बलायर पनि साथमा रहेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।
सरकारले बाढी पहिरोबाट मृत्यु भएकाका परिवारलाई २ लाख र घर क्षति भएको भए ५ लाखसम्म राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ। यस्तै घाइतेहरुको उपचार निःशुल्क हुनेछ ।
Facebook Comment