सर्लाहीको नवलपुरमा नयाँ सबस्टेसन, विद्युत् चुहावट घट्ने

डिसी नेपाल
७ कार्तिक २०७८ १८:०६

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा १३२\३३ केभीको सबस्टेसन निर्माण गरेको छ । सबस्टेसन शनिबारबाट सञ्चालनमा आएको हो ।

सबस्टेसन स्थापनापछि सर्लाहीमा विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय हुनुको साथै आगामी दिनमा खुल्ने नयाँ उद्योगलाई सहज हुने विश्वास लिएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन सन्चालनमा आएसँगै सर्लाहीको विद्युत आपूर्ति विश्वसनीय हुने र चुहावट घट्ने बताए । ‘सर्लाहीमा अहिले ढल्केबर र चन्द्रनिगाहपुर सबस्टेसनको ३३ केभी लाइनमार्फत विद्युत आपूर्ति भइरहेको थियो, ३३ केभी लाइन धेरै लामो हुँदा प्राविधिक चुहावट थियो,’ घिसिङले भने । अब नवलपुर सबस्टेसनबाट सिधै विद्युत आपूर्ति हुने भएकोले लाइन छोटो हुँदा चुहावट घट्छ । विद्युत् आपूर्ति पनि विश्वसनीय र गुणस्तरीय बन्ने छ ।

पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइन नवलपुर सबस्टेसनमा भित्रने (लुपइन) र बाहिरिने (लुपआउट) छ । यहीँ १३२ केभी लाइनबाट नवलपुर सबस्टेसनमा विद्युत् आपूर्ति दिइने छ । सबस्टेसनमा १३२\३३ केभी, ६३ एमभिए र ३३\११ केभी, १६ एमभिए क्षमताका दुई वटा ट्रान्सफर्मर राखिएको छ । यही सबस्टेसनमार्फत सर्लाहीका हरिपुर र मलंगवा ३३\११ केभी वितरण सबस्टेसनमा विद्युत् आपूर्ति दिइने छ ।

सबस्टेसनको प्रारम्भिक काम आर्थिक वर्ष (आव) ०७४\०७५ र मुख्य निर्माण आव ०७५\०७६ मा सुरु भएको थियो । कोभिड–१९ महामारी कारण उपकरणहरू ल्याउन नसक्दा निर्माणमा केही ढिला भएको सबस्टेसन आयोजनाका प्रमुख निरन्जन साहले बताए । सबस्टेसनको निर्माणको ठेक्का पावर टेक, भारत र वाइबा इन्फ्राटेक, नेपालको संयुक्त उपक्रम (जेभी) ले पाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *