अमेरिकाका लागि नेपाली राजदूत खतिवडा नेपाल फर्किए

डिसी नेपाल
११ कार्तिक २०७८ ७:४०

वासिंगटन डिसी। अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडा आज वासिंगटन डिसीबाट नेपाल फर्किंदै छन्। जम्मा नौ महिनाको मात्र कार्यकालमा सीमित गरिएपछि डा.खतिवडा फर्किएका  छन्।

अमेरिकी समयअनुसार, उनी बुधबार साँझ वासिंगटन डिसीस्थित वासिंगटन डुलास एयरपोर्टबाट परिवारसहित नेपाल उडेका छन्। २०७७ साल असोजमा तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारबाट अमेरिकाका लागि राजदूत पदमा नियुक्ति पाएका डा.खतिवडाको संसदीय सुनुवाई २०७७ सालको कात्तिकको अन्तिम साता भएको थियो।

संसदीय सुनुवाई समितिबाट सर्वसम्मतिले नाम अनुमोदन भएका खतिवडा राददूत पदमा नियुक्ति भएर पनि झण्डै ४ महिनासम्म नेपालमै अड्किएका थिए। अमेरिकाबाट फर्किनु पर्ने तत्कालीन राजदूत डा.अर्जुनकुमार कार्कीले नयाँ राजदूतको नियुक्तिपछि पनि नेपाल फर्कन ढिलो गरेका थिए। कार्की २०७७ माघमा मात्र फर्किपछि डा.खतिवडाले माघमै आएर कार्यभार सम्हालेका थिए।

कार्यकालको छोटो समयमा नेपालका पक्षमा लविङ गर्न निकै सक्रिय देखिएका राजदूत खतिवडाका लागि अमेरिकाबाट कोभिड १९ विरुद्धको खोप नेपाल पुर्याउनु पर्ने ठूलो चुनौती थियो।

अमेरिकामा रहेका विभिन्न नेपाली संघ संस्थाका नेताहरुलाई अनुरोध गरी तिनको अमेरिकी स्थानीय राजनीतिक नेतृत्वसँगको कनेक्सनसमेतलाई प्रयोग गरेर नेपालका लागि खोप सहायताको अति आवश्यकताबारे अमेरिकी संसदमा कुरा उठाउन उनी सफल भएका थिए।

उनको कार्यकालमा कोभिडको खोप र अन्य स्वास्थ्य सहायता पनि नेपाल पुग्न सफल भएको थियो। यसैगरी अमेरिकी संसदमा नेपाल ककस निर्माण गर्न र नेपालका चासोका विषयमा पनि आवश्यक पर्दा सुनुवाई हुनुपर्ने पक्षमा उनले प्रयत्न गरेका थिए।

यसका लागि सिनेटरहरु, कंग्रेसम्यानहरु, गभर्नरहरु र दलका सरोकारवाला नेताहरुसँग विगत केही महिनादेखि राजदूत खतिवडाले भेटघाट बढाएका पनि थिए। तर, नेपालमा सरकार बदलिएको र नयां प्रधानमन्त्री शेरवहादुर देउवाको सरकारले अन्य राजदूतहरुसहित उनलाई पनि फिर्ता गर्ने निर्णय गरेकाले उनको नेपाल ककस बनाउने प्रयत्न भने पूरा हुन सकेन।

ओली सरकारमा अर्थमन्त्री र संचारमन्त्रीसमेत भएका खतिवडा राष्ट्रिय सभाका सांसद र प्रधानमन्त्री ओलीका प्रमुख आर्थिक सल्लाहकारसमेत भइसकेका छन्। कोभिडको महामारी केही खुकुलो हुने वित्तिकै केही कार्यक्रमहरु तय गरेर नेपाली मुलका अमेरिकी व्यापारीहरुलाई आफ्नो मातृभूमिको विकासका लागि लगानी गर्न प्रेरित गर्ने पनि उनले प्रयास गरेका थिए। उनलाई विदाइ गर्न नेपाली दूतावासका अधिकारीहरु र प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापासहितका व्यक्तिहरू  विमानस्थल पुगेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *