एमालेले आजदेखि केन्द्र र सातैवटा प्रदेशमा सत्ता गुमायो

डिसी नेपाल
१५ कार्तिक २०७८ १६:४३

काठमाडौं। सोमबार भीम आचार्यले प्रदेश एकको मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै नेकपा एमाले केन्द्रदेखि सातवटै प्रदेशमा सत्ताबाट बाहिरिएको छ । मुख्यमन्त्रीको जिम्मेवारीमा पुगेको २ महिना नपुग्दै आचार्यले आज राजीनामा दिएका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध केन्द्रमा विपक्षी गठबन्धनको मोेर्चाबन्दी बनेपछि त्यसको प्रभाव सात वटै प्रदेशमा परेको हो । ४ वर्षअघि भएको प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनपछि केन्द्र र ६ वटा प्रदेशको नेतृत्व गरिरहेको एमाले कार्यकाल सकिन एक वर्षमात्र रहँदा केन्द्रसहित सबै प्रदेशमा प्रतिपक्षीको बेन्चमा खुम्चिएको छ।

तत्कालीन नेकपा विभाजन र त्यसपछि एमालेसमेत फुटको बाछिटाले सबैभन्दा पहिले गण्डकी प्रदेशको सरकार ढलेको थियो। गत बैशाख २६ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि एमालेको सत्ता ढल्ने क्रम सुरु भएको थियो।

त्यसपछि सर्बोच्च अदालतले गत असार २८ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि केपी ओली नेतृत्वको केन्द्रीय सरकार ढलेको थियो। त्यसपछि ओली निकटकै लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले गत साउन २७ गते राजीनामा दिएपछि गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कुलबहादुर केसी मुख्यमन्त्री बनेका छन् ।

तत्कालीन नेकपा विभाजन र एमालेको विवादमा समेत लामो समयसम्म तत्कालीन एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिँदै आएकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बाग्मती प्रदेशका तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि एकाएक नेपालको साथ छाडेर मुख्यमन्त्री बन्दै ओली निकट भएर एमालेमै रहेकी थिईन्।

तर, दुई महिना नबित्दै संसदमा अल्पमतमा परेपछि कात्तिक १० गते राजीनामा दिइन् । अहिले उनीसंगै लामो राजनीतिको सहयात्री बनेका नेकपा (एकीकृत समाजवादी)का राजेन्द्र पाण्डे मुख्यमन्त्रीको पदमा छन्। यसरी एमालेले नेकपा विवाद र पार्टी विभाजनको कारण सत्ताको मूल्य चुकाउँदै केन्द्रदेखि सबै प्रदेशमा प्रतिपक्षको बेन्चमा खडा भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *