प्रधानमन्त्री बालेन भारतसँगको सम्बन्ध सुधार्न प्रयासरत रहँदा रास्वपा सभापति रवि चीन जाँदै

डिसी नेपाल
८ साउन २०८३ ७:१९

काठमाडौं। काठमाडौं र नयाँदिल्लीबीच कूटनीतिक चिसोपना अन्त्य गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणको तयारी तीव्र पारिरहेका बेला सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भने उत्तरी छिमेकी चीनको भ्रमणमा जाने भएका छन्।

प्रधानमन्त्री शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले हालै नयाँदिल्ली पुगेर भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग गोप्य भेटवार्ता गरी द्विपक्षीय सम्बन्ध र सम्भावित भारत भ्रमणबारे छलफल गरेका थिए।

प्रधानमन्त्री शाह सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका जानुअघि नै भारत जाने प्रयासमा छन्। उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि साउन महिनाभित्रै पशुपतिनाथ र लुम्बिनी दर्शनका लागि नेपाल आउन सक्ने चर्चा चलिरहेको छ।

भारतसँगको संवादहीनता तोड्न बालुवाटारले पहल गरिरहेकै समयमा रास्वपा सभापति लामिछाने पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अगस्ट दोस्रो साता (साउन अन्त्यतिर) पाँच दिनका लागि बेइजिङ प्रस्थान गर्ने तयारीमा जुटेका हुन्।

चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय वार्ता हुने

रास्वपा स्रोतका अनुसार ‘पार्टी-टू-पार्टी’ सम्बन्ध सुदृढ बनाउने उद्देश्यले हुन लागेको यो भ्रमणका क्रममा लामिछानेले चिनियाँ विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का उच्च तहका नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। भ्रमण टोलीमा कुनै पनि सरकारी प्रतिनिधि सामेल हुने छैनन्।

यसअघि जेठ तेस्रो साता भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा नयाँदिल्ली पुगेका लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशंकरसँग उच्चस्तरीय भेटघाट गरेका थिए।

भारत भ्रमणमा पाएजस्तै चीनमा पनि उच्चस्तरीय कूटनीतिक सम्मान प्राप्त हुने र नेपाल-चीन सम्बन्धलाई अझ अर्थपूर्ण बनाउने एजेण्डा रहेको रास्वपा निकट स्रोतले दाबी गरेको छ।

बालेनको कूटनीतिक ‘युटर्न’ र छिमेक सम्बन्ध

गत चैत १३ मा शपथग्रहण गरेयता विदेशी कूटनीतिज्ञहरूसँग ‘वान-अन-वान’ नभेट्ने कडा नीति लिएका प्रधानमन्त्री शाहले पछिल्लो समय आफ्नो रणनीति परिवर्तन गरेका छन्।

प्रधानमन्त्री शाहले संसद्‌मा सीमा विषयलाई लिएर दिएको अभिव्यक्ति र काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलाई भेटघाटको समय नदिँदा नयाँदिल्लीसँगको सम्बन्ध चिसिएको थियो।

तर, अहिले परराष्ट्र मन्त्रालयलाई समेत छलेर सल्लाहकार बेनलाई दिल्ली पठाउनुले बालेन सरकार छिमेकीसँगको चिसिएको सम्बन्ध सुधार्न आतुर रहेको स्राेतले जनाएकाे छ।

प्रधानमन्त्री शाह स्वयं भारतसँग विश्वासको वातावरण बनाउन लागिपरेका बेला, रास्वपा सभापति लामिछानेले भने बेइजिङसँगको कूटनीतिक सन्तुलन मिलाउने प्रयासस्वरूप चीन भ्रमणको कार्ड अगाडि बढाएका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *