पाँच होइन १० दल मिले पनि एमालेले आफ्नै एकल बहुमत ल्याउँछः ओली

डिसी नेपाल
१५ कार्तिक २०७८ १८:०२

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गरेका छन् ।

एमाले भरतपुर नगर कमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठजोड नगरी एमाले एक्लैले बहुमत ल्याउने जिकिर गरे । यसका लागि एकताबद्ध भएर तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

“अब हामी आफ्नै एकल बहुमत ल्याउँछौं । जोडजाड होइन, एकल बहुमत । ५० प्रतिशतभन्दा बढी मत समानुपातिक र ५० प्रतिशतभन्दा बढी सीट प्रत्यक्षमा ल्याउनुपर्छ । त्यसका लागि तयारीमा लाग्नुस् । हामी सफल हुन्छौं,”उनले भने ।

ओलीले पाँच दल होइन १० मिलेर आए पनि एमाले बहुमतका साथ आउने चुनौती दिए । “एमालेको महासागर, महाभेल अब आउँदैछ । कसैले रोक्न सक्दैन । सचेत तयारी गर्नुपर्छ । आन्तरिक एकता गर्ने हो । लड्नलाई विरोधी छदैछन्,” उनले भने ।

एमालेले चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेपालको गन्तव्यमा पुग्ने बाटो र नयाँ संकल्प गर्ने ओलीले बताए । “महाधिवेशनबाट गरेर बाहिर निस्केर देश बनाउन लाग्छौं,” उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *