सन्दर्भ लक्ष्मी पूजा : नेपालमा लक्ष्मी भित्र्याउनेहरु

डिसी नेपाल
१८ कार्तिक २०७८ १५:००
728
Shares

काठमाडाैं । आज लक्ष्मी पूजा । घरघरमा लक्ष्मी भित्र्याउनका लागि घर,आगन, कोठा, प्रवेशद्वा पसल, उद्योग, कार्यालय सबैतिर सरसफाई गरिरहेका छन् । साँझमा झिलिमिली बत्ति बालेर, दियोमा बत्ति बालेर ब्रत बसेर लक्ष्मीको पूजा गर्न पूजासरदम तयार गर्दैछन्। राती लक्ष्मीको पूजा धुमधामसँग गरिन्छ।

यसरी नेपालमा लक्ष्मी भित्राउन उत्सव नै मनाइ रहँदा यहाँ लक्ष्मी पठाउनेहरुलाई भने हामी विर्सिरहेका छौं। नेपालमा सबैभन्दा बढी लक्ष्मी रेमिट्यान्स (विप्रेषण)को माध्यमले भित्रिरहेको छ । यो पठाउनेहरु विदेशमा रातदिन, घामपानी नभनी खटिरहेका छन्। लक्ष्मी पूजाकै दिन पारेर उनीहरुले पठाएको लक्ष्मीलाई पनि हामीले सम्झिनै पर्दछ।

विदेशमा आफ्नो पसिना बगाएर रेमिट्यान्स पठाउनेहरु नै नेपालमा लक्ष्मी भित्राउने मूख्य माध्यम हुन्। नेपाल राष्ट्र बैंकको पुरानो डाटा हेर्दा आर्थिक वर्ष २०७३/७४ मा ६ खर्ब ९५ अर्ब ४५ करोड रुपैयाँ रेमिट्यान्स देश भित्रिएको थियो। जबकी त्यसवेला सरकारको बजेट १० खर्ब ४८ अर्ब रुपैयाँ मात्र थियो । यसले के देखियो भने नेपालको बजेटको ६० प्रतिशत रेमिट्यान्सले धानेको रहेछ।

सबैलाई थाहा छ, लक्ष्मीका जतिपति फोटोहरु वा मुर्तिहरु सार्वजनिक भएका छन् सबैमा लक्ष्मी उठेकै अवस्थामा देखिन्छिन् । उठेको मतलब कुनै पनि बेला कतैपनि जाने । पैसा अर्थात धन सधैं एकै स्थानमा बसिराख्दैन रे । जसले जान्यो उसले लक्ष्मीलाई आकर्षित गर्न सक्दछन् । नेपालमा आउने रेमिट्यान्सको पैसा पनि सालैपिच्छे परिवर्तित छ । तर जे आइरहेको छ त्यो नै नेपालको आर्थिक मेरुदण्ड हो भन्ने कसैले विर्सनु हुन्न । नेपालको अहिले जुन आर्थिक हैसियत छ, त्यो विदेशमा गएर पसिना बगाउनेहरुको देन हो भन्ने कुरा पनि विर्सनु हुन्न।

कोरोनाको कहरले धेरै नेपालीहरु स्वदेश फर्किए । विदेशमा पनि काम बन्द भयो । जसको प्रभाव नेपालमा आउने रेमिट्यान्समा परेको छ । पछिल्लो समय प्रत्येक बर्ष नेपाल भित्रिने रेमिट्यान्स घटिरहेको छ । नेपालीहरुलाई आर्थिक समस्याले यति गाँजेको छ कि कतिपय यूवाहरु लक्ष्मी भित्राउनका लागि लक्ष्मी पूजाकै दिन जहाज चढेर विदेशिदै छन् । तर पनि रेमिट्यान्स नै पहिलो आधार भइरहेको छ।

सबैलाई थाहा छ, लक्ष्मीका जतिपति फोटोहरु वा मुर्तिहरु सार्वजनिक भएका छन् सबैमा लक्ष्मी उठेकै अवस्थामा देखिन्छिन् । उठेको मतलब कुनै पनि बेला कतैपनि जाने ।

प्रत्येक बर्ष खरबौं रुपैयाँमा भित्रिने रेमिट्यान्सले नेपालमा चौतर्फी फाइदा गरेको छ । पहिलो त रेमिट्यान्स आउँदा नै सरकारले कर पाउँछ । त्यसपछि रेमिट्यान्स जुन बैंक वा वित्तिय संस्थामार्फत नेपाल भित्रिएको छ उनीहरुको बैंकबाट सबै पैसा एकै पटक सबै रकम व्यक्तिको हातमा पुग्दैन । यसले गर्दा वित्तिय संस्थाले ती बचत भएका रकमहरु कर्जामा लगाएर नाफा कमाइरहेको छ। रेमिट्यान्सको पैसाको पहिलो फाइदा लिने निकाय भनेको सरकार र दोस्रो बैंकहरु हो ।

बैंकले कर्जामा लगाएर व्याज कमाउँने मात्र होइन यसका लागि धेरैलाई रोजगारी पनि दिएको छ । कतिको घर भाडामा लिएर बैंक संचालित छ । त्यही रेमिट्यान्सलाई बैंकमा आश्रित सबैलाई संरक्षण दिएको छ । त्यही रकम कर्जा लिएर कतिपयले व्यापार गरिरहेका छन् । रकम निकाल्न आउने, विदेश जान पु¥याउन आउने, फर्किदा स्वागतका लागि आउनेहरुका कारण होटल र यातायात व्यवसाय चलिरहेको छ । विमानमा ओहोर दोहोर गर्नेको लर्कोले ट्राभलको व्यापार, एयरलाइन्सको व्यापार पनि फस्टाएकै छ।

म्यान पावर कम्पनीका मालिक र यसमा कामगर्नेहरुले पनि रोजगार र आम्दानी पाएकै छन् । पासपोर्टवाट हुने आम्दानी, भीसा स्वीकृतिदेखि, सिफारिस, प्रमाणित आदि मेसो गरेर सरकारले वा सरकारबाट स्वीकृत भएका विभिन्न नीजि र समाजिक निकायहरुले पैसो कमाइरहेका छन् । स्वास्थ्य परीक्षण गर्ने हुन वा सरकारी कागजपत्र मिलाइदिने विचौलियाहरुको आम्दानीको स्रोत नै विदेश जाने नेपालीहरु भएका छन्।

रेमिट्यान्सले गर्दा जुन जुन घरबाट मानिस विदेश गएका छन् ती घरको आर्थिक समस्याको लफडा सरकारले हेर्नै परेको छैन । नेपालका ५० लाख मानिस विदेशमा कमाउन गएका छन् । ती पचास लाख मानिसका ४० लाख परिवारलाई त्यही रेमिट्यान्सले काम चलेको छ । बरु सरकार उनीहरुको रेमिट्यान्समा गिद्धेदृष्टि लगाएर प्रत्यक्ष र अप्रत्यक्ष रुपमा कर असुल्ने काममात्र गरिरहेको छ।

लेखकले बेनीबजारमा ठूलठूला इलेक्ट्रोनिक्स सामानका पसलहरु देख्दा यत्तिको समान यहाँ कसले खरिद गर्दछ भनेर बुझ्दा गाउँगाउँबाट विदेश कमाउन जानेहरुले पठाएको पैसाको अधिकांश भाग खानपिन र इलेक्ट्रोनिक्स सामानमै खर्च गरिदो रहेछ। यो हेरेपछि के देखियो भने रेमिट्यान्सले गर्दा राजधानीदेखि गाउँगाउँसम्मका पसलहरु चलेका छन् । नेपालीको खरिदगर्ने शक्ति बढेकोले विलासी सामानहरु बढी विदेशबाट मगाउने र त्यसमा सरकारले बढी कर लिंदा सरकारलाई पनि फाइदा नै भयो । त्यसपछि ती सामानहरु डिलर, सब डिलर र रिटेलरसम्म आएर उपभोक्तासम्म पुग्दा तीन चार तहमा नाफाको मार्जिन राखेर विक्रि गरिएको पाइन्छ । यसले ती चार तहमा संलग्न मानिसहरुका परिवार पनि पालिए । यो पनि रेमिट्यान्स कै पैसाको करामत हो।

रेमिट्यान्स नहुँदो हो त नत बैंको यति धेरै फूर्ति आउँथे नत पसलहरु नै चल्दथे । सरकारले खाद्यान्न, लत्ताकपडा, विलासी सामानहरु, यातायात, सिफारिस, प्रमाणित गर्दा जे जति कर र दस्तुरहरु संकलन गरिरहेको छ सबै घुमाई फिराई त्यही रेमिट्यान्सबाट नै जाने हो।

यूवाहरुलाई शुरुमा विदेश जानका लागि जग्गा धरौटीमा राख्ने वा कपाली कागज गरेर गाउँका साहू महाजनको बाट कर्जा लिने गरेका छन् । यसले मालपोत, नापी, स्थानिय पालिकाहरुले काम पाएका छन् । साहू महाजनले पनि यसबाटै व्याज लिएर नाफा कमाएर बसिरहेका छन्।

त्यही रेमिट्यान्सको पैसा नै सबै सरोकारवालाहरुको गोजी गोजीमा अनेक नाममा पुगिरहेका छन् । रेमिट्यान्स आउने परिवारले समेत जग्गा खरिद गर्ने, गाडी खरिद गर्ने, आफै कुनै फर्म खोलेर व्यापार, व्यवसाय समेत गरेको पाइन्छ । त्यसले पनि उनीहरु आय आर्जन गरिरहेका छन्।

रेमिट्यान्स नहुँदो हो त नत बैंको यति धेरै फूर्ति आउँथे नत पसलहरु नै चल्दथे । सरकारले खाद्यान्न, लत्ताकपडा, विलासी सामानहरु, यातायात, सिफारिस, प्रमाणित गर्दा जे जति कर र दस्तुरहरु संकलन गरिरहेको छ सबै घुमाई फिराई त्यही रेमिट्यान्सबाट नै जाने हो।

रेमिट्यान्स भित्राउनेहरु त असलमा हाम्रो लागि लक्ष्मी फलाउने मूख्य स्रोत हुन । उनीहरुलाई नै लक्ष्मीपूजाको दिन नसम्झिदा उनीहरु प्रति अन्याय हुन्छ । त्यसैले नेपालको सन्दर्भमा हामी आज जति लक्ष्मीलाई संझना गर्दछौं त्यति नै रेमिट्यान्स भित्राउने नेपालीहरुलाई पनि संझना गरौं । रेमिट्यान्सबाट भित्रिएको रकम विदेशमा उत्पादित समान खरिदमा बढी जाँदा हामी झन झन गरिब भएर गएका हौं । त्यो रकम आफ्नै देशको उत्पादन खरिद गर्ने, आफ्नै देशको उत्पादन खाने, लाउने र आफ्नै देशको कच्चा पदार्थका आधारित उद्योगहरु बनाएर उत्पादनलाई विदेशमा बेच्न सक्ने काम गर्न सकियो भने हामी नेपालीसंग लक्ष्मी दिन दुगुना रात चौगुनाका दरले बर्सिनेछिन्।

तर हामी खान, लाउन र दैनिक प्रयोग गर्न विदेशी विलासी सामानमा निर्भर भयौं भने हाम्रो जीडिपी बढ्ने छैन । जसरी विदेशबाट रेमिट्यान्स ह्वारह्वारी आइरहेको छ, त्यसैगरी घुमिफिरी ती पैसाको अधिकांश भाग विदेश नै फर्किन्छ । फर्किरहेको पनि छ।

साच्चिकै लक्ष्मीको लागि आरधना गर्नु हुन्छ भने जतावाट आयो उतै फर्किएर गइरहेको नेपालको रेमिट्यान्सको सही सदुपयोग गरी देशको आय बढाउने सोच अनुसार खर्च गर्न सक्यौ भने हामी आर्थिक रुपमा सफल हुन्छौ ।

यसका लागि रेमिट्यान्सका पहिलो हकदार विदेशका कामगर्ने नेपालीहरु, उनका परिवार हुन भने दोस्रो मार्ग देखाउने सरोकारवाला सरकार पनि हो । लक्ष्मी पूजाले रेमिट्यान्स रुपी लक्ष्मीलाई नयाँ लक्ष्य बनाएर खर्च गर्ने बानी बसाउन हामी सबैलाई सद्बुद्धि देओस । जय लक्ष्मी पूजा ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *