बिहारको जेलमा रहेका दुई नेपाली किसानको रिहाइका लागि कूटनीतिक पहल गर्न कांग्रेसको माग
काठमाडौं । नेपाली कांग्रेसले भारतको बिहारस्थित जेलमा रहेका दुई नेपाली किसानको शीघ्र रिहाइका लागि आवश्यक कूटनीतिक र कानुनी पहल गर्न सरकारसँग जोडदार माग गरेको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा सर्लाहीका किसानहरूलाई भारतीय सुरक्षा निकायले पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ।
सर्लाहीको बलरा नगरपालिकाका कृषक सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह बजारमा समयमै रासायनिक मल नपाएपछि सीमावर्ती भारतीय बजार सोनवरसाबाट युरिया र डीएपी मल खरिद गरी नेपाल फर्किने क्रममा पक्राउ परेका थिए। उनीहरूलाई विगत २० दिनदेखि भारतको बिहार राज्यस्थित सीतामढीको डुमरा जेलमा राखिएको छ। परिवार र समुदायबाट वास्तविकता बुझ्दा उनीहरू आफ्नै खेतमा प्रयोगका लागि मात्र मल ल्याउन गएको पाइएको कांग्रेसले जनाएको छ।
देशभित्रै मलको अभाव हुँदा छिमेकी देशबाट थोरै मात्रामा मल ल्याएका किसानलाई पक्राउ गरी जेलमा राखिएको २० दिन बितिसक्दा पनि सरकारबाट प्रभावकारी पहल नभएको भन्दै पार्टीले दुःख व्यक्त गरेको छ। विज्ञप्तिमा ‘मल गोदाममा, किसान जेलमा’ भन्ने अवस्था अत्यन्त विडम्बनापूर्ण रहेको उल्लेख गर्दै किसानहरूको रिहाइ तथा समस्या समाधानका लागि तत्काल व्यवहारिक, कूटनीतिक र कानुनी कदम चाल्न सरकारलाई आग्रह गरिएको छ।
साथै, नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, खुला सीमा र जनस्तरको आत्मीय सम्बन्धलाई ध्यानमा राखी ती किसानहरूलाई अविलम्ब रिहा गर्न भारत सरकारसमक्ष समेत कांग्रेसले अनुरोध गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment