वर्षा र पहिरोले नौ प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध: बिपी र कान्ति लोकपथमा रात्रिकालीन यात्रामा रोक

डिसी नेपाल
८ साउन २०८३ ६:४९

काठमाडौं। अविरल वर्षासँगै खसेको पहिरो र नदीको कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड नराम्ररी प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान ६:०० बजेसम्मको विवरण सार्वजनिक गर्दै देशका नौवटा प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको जनाएको छ।

बाढीको जोखिमलाई मध्यनजर गर्दै काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा साँझ ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। यसैगरी, कान्ति लोकपथमा पनि वर्षायामभर बेलुका ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी आवगमन बन्द गरिने भएको छ।

प्रहरीका अनुसार इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग सडक हिलाम्मे भएका कारण पूर्ण रूपमा ठप्प बनेको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित जिरोकिलो र कोदारी क्षेत्रमा गएको पहिरोले अरनिको राजमार्गसमेत अवरुद्ध भएको छ।

त्यसैगरी बागलुङको जैमिनीस्थित कालीगण्डकी करिडोर, रोल्पाको घोराही–थवाङ सहिद राजमार्ग, मुगुको नाग्म–गमगडी सडक, रसुवाको पासाङ ल्हामु सडकखण्ड, अछामको मध्यपहाडी लोकमार्ग तथा लमजुङको बेँसीसहर–चामे–मनाङ सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा बन्द रहेका छन्।

उता दोलखाको किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्डमा तामाकोशी नदीको कटानले मुख्य बाटो अवरुद्ध बनाए पनि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्गमार्फत यातायात सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *