सन्दर्भ गोबर्धन पूजा : ‘मिस्टर गोरु’का लागि हुने खेल हुर्राहुर्री

डिसी नेपाल
१९ कार्तिक २०७८ १२:११

काठमाडाैं ।  हामीले मिस नेपाल या मिस्टर नेपाल प्रतियोगिता सुनेका छौं।  मिस्टर एसईई वा मिस एसईई र मिस वल्र्ड प्रतियोगिता भन्ने पनि  सुनेका छौं।  तर के मिस्टर गोरु प्रतियोगिताबारे सुन्नु भएको छ ? मिस्टर गोरु प्रतियोगिता हेर्नु भएको छ ? छैन भने आज गोबर्धन पूजाको अवसरमा तराई मधेसमा गाउँका कुन गोरु सबैभन्दा बलियो भनेर छनौट गर्न भनेर खेलाइने हुर्राहुर्री हेर्न नविर्सनु होला।

हो, गोबर्धन पूजाकै दिन दिउँसो तराई मधेसका गाउँगाउँमा हुर्राहुर्री खेलाइन्छ। जहाँ गाउँभरीका गोरु जम्मा गरेर घाँसको पिर्कामा बाँधेर राखिएको सुङ्गुरलाई मार्न लगाइन्छ। जुन गोरुले सुङ्गुर मार्न सफल हुन्छ त्यो नै बर्षभरीका लागि मिस्टर गोरु  कहलिन्छ।

हिजो आज लोप हुँदै गएको यस्तो खेल उहिले उहिले हात्तीबाट समेत खेलाउने गरिएको थियो। तर, अहिले हात्ती त पाइँदैन । तर पनि गोरुबाट खेलाउने काम संस्कृति बचाउनकै लागि पनि केही गाउँहरुमा आक्कलझुक्कल गरिँदै आएको छ।

जसको घरको गोरुले सुङ्गुर मार्दछ त्यो बर्षको राम्रो बलियो गोरु अर्थात मिस्टर गोरुको उपाधी त्यसले पाउँछ।

यसमा लागि गोबर्धन पूजाको दिन प्रत्येक घरमा रहेका गोरुलाई मीठो मसिनो खान दिने, तेल र रङ्ग लगाएर रङ्गाउने तथा नयाँ नयाँ दाम्लो बनाएर लगाउने गरिन्छ। गोरुलाई रुघा सर्दि लागेकोलाई निमको पात तताएर शुद्ध तेलमा मिसाएर गोरुको नाक मुखबाट खुवाउने गरिन्छ। यसले गाउँघरमा कसको गोरु ‘मर्खाहा’ छ, बलियो छ, आकर्षक छ भन्ने बारेमा अवलोकन गर्ने र छिनोफानो गर्ने दिन नै गोबर्धन पूजाको दिन हो। यही दिन मिस्टर गोरु हुने सौभाग्य गाउँभरीका गोरुहरु मध्ये कुनै एकले पाउँछ।

हुर्राहुर्री विधि

हुर्राहुर्री खेल प्रत्येक बर्ष गोबर्धन पूजाको दिन दिउँसो मधेसको गाउँको नजिकको खुल्ला चौर या खोलाको किनारामा रहेको खुल्ला स्थानमा लगेर गाउँभरीका गोरुहरुमध्ये कुन सबैभन्दा बहिलो भन्ने उद्देश्यले खेलाइने एउटा धार्मिक महत्व राख्ने खेल हो। यसमा गाउँमा बाँसको सामाग्री बनाएर बेच्ने डोम समुदायका मानिसले आफूले किनेको गाउँमा गोबर्धन पूजाका दिन सुङ्गुरको केही हुर्किएको कुद्नसक्ने ठूलो बच्चा लिएर आउँछन्। उक्त बच्चालाई हुर्राहुर्री नामको एउटा घाँस नै हुन्छ त्यो घाँसलाई सिरानी जस्तो बनाएर बाँधिएको हुन्छ । जसमा सुङ्गुरको बच्चालाई सकभर नदुख्नेगरी बाँध्न सजिलो हुनेगरी बनाइएको हुन्छ।

घाँसको सिरानीमा लामो डोरी लगाएर नफुत्कने गरी सुङ्गुरलाई बाँधिएको हुन्छ । सुङ्गुरको बच्चालाई बाँधिएको डोरी डोम समुदायका मानिसले पक्रिएर चौरमा राखिएका गोरुहरुको अगाडि घिसार्दै लाने र उनीहरुलाई उत्तेजित पार्ने काम गरिन्छ। गोरुले सुङ्गुरको पाठो देखेपछि सिङ्गले हान्ने प्रयास गर्दछ। जब गोरु त्यो सुङ्गुरको पाठोलाई हान्न वा मार्नका लागि दगुर्दछ तब तब त्यसलाई घिसार्ने मानिसले विस्तारै परपर सार्दै कुदिरहेको हुन्छ। डोरी तानेर मानिसले जता जता सुङ्गुर कुदाउँछन् त्यतातर्फ गोरु फ्वाँ फ्वाँ गर्दै झोक्किदै, रिसाउँदै मर्खाहाजस्तो देखिने गरी बल लगाएर कुद्ने गर्दछन् । गोरुको प्रयास त्यो सुङ्गुरको बच्चा मार्ने हुन्छ । धेरै कुदेपछि गोरु थाक्यो भने अर्को घरको भैंसी वा गोरुको पालो आउँछ।

हुर्राहुर्री खेल किसानको खेल हो । किसानले हुर्राहुर्री पर्वका दिन एकातर्फ गोरुले खेलीरहेको हुन्छ । अर्कोतर्फ गाउँका यूवाहरुले पनि अखडामा कुस्ती खेलेर गाउँभरमा को कुस्तीबाज भन्ने छिनोफानो पनि गर्दछन्

सबैका घरका गोरुले पालैपालो सुङ्गुर मार्ने प्रयास गर्दछन्। जसको घरको गोरुले सुङ्गुर मार्दछ त्यो बर्षको राम्रो बलियो गोरु अर्थात मिस्टर गोरुको उपाधी त्यसले पाउँछ। मिस्टर गोरु पाल्ने मालिकको खुसीले गद्गद् हुन्छन्। मेरो गोरु यसबर्षको सबैभन्दा बलियो भयो भन्ने गौरब उनका हुन्छ। जसको गोरुले सुङ्गुर मार्दछ उसले सुङ्गुर धनीलाई नयाँ गम्छा, सके अन्य लुगाफाटा र सुङ्गुरको दाम बक्सिस स्वरुप दिनु पर्दछ । यो दिन पाउनुमा किसानहरु गौरब गर्दछन् । कुनै कुनै गाउँमा जित्ने गोरुलाई पुरस्कारको व्यवस्था समेत गरेका हुन्छन् । जुन पुरस्कार गोरुका धनीले पाउँछन्।

हुर्राहुर्री खेल किसानको खेल हो । किसानले हुर्राहुर्री पर्वका दिन एकातर्फ गोरुले खेलीरहेको हुन्छ । अर्कोतर्फ गाउँका यूवाहरुले पनि अखडामा कुस्ती खेलेर गाउँभरमा को कुस्तीबाज भन्ने छिनोफानो पनि गर्दछन् । तर यो खेल प्रतियोगिताका लागि भन्दा पनि रमाइलोका लागि बढी खेलिन्छ ।

हुर्राहुर्री खेल्दा जुनजुन गोरु सुङ्गुरसंग भिडेको हुन्छ ती सबैमा बर्षभरीलाई पुग्ने उर्जा आउँछ भन्ने गरिन्छ । सुङ्गुरलाई लखेट्दा वा लड्दा जुन उर्जा, रिस, जोश जनावरहरुमा उठ्छ त्यसले प्रत्येक गोरुलाई फ्रेस बनाउँछ । साढेहरुले सम्भोगका बेला प्राप्त गर्ने आनन्दभन्दा बढी आनन्द हुर्राहुर्री खेलबाट गोरुहरुले प्राप्त गर्दछन् । यसले गोरुमा शुरो भएर काम गर्ने जाँगर पैदा गर्दछ । उत्तेजित हुँदा गोरुमा लागेका विभिन्न खाले रोगहरु समेत निको हुने विश्वास गरिन्छ । जुन गोरुले जित्छ त्यसलाई देउताको रुप मान्ने गरिन्छ।

धार्मिक हिसावले जसको गोरुले सुङ्गुर मार्दछ उसको घरमा लक्ष्मीको बास हुन्छ भनेर गाउँभरमै चर्चा नै चल्छ । जसको गोठमा गोरु धेरै विरामी पर्दछन् । त्यस्ता किसानले आफै पहिलेदेखि नै सुङ्गुरको लागि रकम खर्च गर्ने र हुर्राहुर्री खेलको आयोजना नै आफ्नो तर्फबाट गर्ने गर्दछन् । हुर्राहुर्री सक्किएपछि सुङ्गुरलाई बाँध्न प्रयोग गरिएको घाँसको सिरानीको घाँस गाउँका यूवाहरुले छिनाछिन गर्दछन्।

त्यो घाँस आफ्नो बारीमा लगेर गाडियो भने शुभ हुन्छ भन्ने विश्वासले सबैले अलिअलि भएपनि हुर्राहुर्रीको घाँस लैजाऔं भन्ने रहर सबै किसानलाई हुन्छ । उनीहरुलाई हुर्राहुर्रीमा प्रयोग भएका स्थानको माटो समेत ल्याएर गोठको कुनै भागमा राखिदिने गरेको पाइन्छ । यसले गोरुमा लाग्ने रोगव्यादी निकोहुने विश्वास छ।

हिजो आज मधेसका केही नाम चलेका गाउँहरुमा मात्र हुर्राहुर्री खेल खेलाइन्छ । ट्रयाक्टरले जोत्न थालेपछि गोरुको महत्व विस्तारै घट्दै गएको सन्दर्भमा परम्परा, संस्कृति बचाउन चाहनेहरु अहिले पनि हुर्राहुर्रीको अयोजना गर्न अग्रसर भएको पाइन्छ । गोबर्धन पूजाको दिन मिष्टर गोरु बनाउन सफल हुने सबै किसानलाई बधाई छ । जय गोबर्धन पूजा । जय हुर्राहुर्री ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *