अनलाइनमा अवैध जुवा खेलाएर एकै व्यक्तिले गरे दुई अर्बको कारोबार

डिसी नेपाल
३१ वैशाख २०८१ १४:३८
356
Shares

काठमाडौं। अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर नगरपालिका-८ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने २४ वर्षीय अनिल ढुंगाना रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ढुंगानालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो। प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार ढुंगानाले विश्वमा सञ्चालन हुने विभिन्न खेलहरूमा मानिसहरूलाई अनलाइनमार्फत जुवा खेलाउँथे।

उनले वान एक्स बेट, जुवा३६५ र क्रिप्टोमार्फत सट्टेबाजी लगाएर रकम संकलन गर्ने गर्थे। ढुंगानाले हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार गरेको देखिएको रेग्मीले बताए।

ढुंगानाको ११ वटा कनेक्ट आइपिएस अकाउन्ट, १५ वटा इसेवा वालेट अकाउन्ट, ५६ वटा बैंक खाता फेला परेका छन्।  उनले ११ वटा कनेक्ट आइपिएसमा ५५ वटा बैंक खाता लिंक गरी ४८ करोड ८० लाख रुपैयाँ कारोबार गरेको भेटिएको छ।  यस्तै, १५ वटा वालेटहरूमा ५ करोड बराबरको कारोबार गरेको भेटिएको छ।

यस्तै, ५६ वटा बैंक खाता प्रयोग गरी ६१ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार गरेको खुलेको रेग्मीले बताए। ढुंगानाले बाइनान्समार्फत दुई वटा खाता प्रयोग गरी २४३ प्रकारका क्रिप्टो करेन्सीमा एक अर्ब ३४ करोड ५२ लाख ९१ हजार २०० रुपैयाँ बराबरको कारोबार गरेको पाइएको रेग्मीले बताए।

ढुंगानाले मोबाइलमा वान एक्स बेट, बाइनान्स, रेड्डी, मोब क्यास, टिम क्यास, एस्ट्रोपेजस्ता बेटिङ एप्लिकेसन चलाएको भेटिएको छ। उनले सामाजिक सञ्जालमा जुवा ३६५ नामको पेज खोलेको भेटिएको छ। त्यसको उनी आफैं सञ्चालक भएको खुलेको छ।

उनको साथबाट एप्पलको म्याकबुक प्रो, राउटर, भारतीय आधार कार्ड, प्यान कार्ड, दिल्ली मेट्रो कार्ड, सिमकार्ड, एटिएमलगायत बरामद भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *