होल्डिङ सेन्टरमा पासवानको मृत्यु, परिवारले माग्यो निष्पक्ष छानबिन

डिसी नेपाल
२८ साउन २०८३ २०:४१

काठमाडौं। भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा ५७ वर्षीय हिरालाल पासवान बिहीबार झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

बिहीबार परिवारका अनुसार पासवानलाई खाना खान बोलाउन जाँदा कोठाको ढोका नखुलेपछि पछाडिको झ्यालबाट हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेका थिए। मृतककी बुहारीका अनुसार बिहान करिब १० बजे खाना खाने बेला बोलाउन जाँदा ढोका नखुलेपछि झ्यालबाट हेर्दा पासवान मृत अवस्थामा भेटिएका हुन्।

उनले भनिन्, ‘खाना खाने बेला करिब १० बजे बोलाउन गएको, ढोका खोल्नु भएन। पछाडिबाट झ्याल खोली हेर्दा मान्छे छैन रहेछ, बितिसक्नुभएछ।’

परिवारका अनुसार पासवानको यसअघि कुनै गम्भीर समस्या थिएन। सरकारले सुकुम्बासी बस्ती खाली गर्न घर भत्काएपछि भने उनी तनावमा रहेको बुहारीको भनाइ छ। घर भत्किएपछि उनलाई उच्च रक्तचापको समस्या देखिएको र त्यसकै कारण दुवै आँखामा समेत समस्या आएको बुहारीले बताइन्। उनका अनुसार महानगरपालिकाले उपचार गराएपछि पासवानले नियमित रूपमा प्रेसरको औषधि सेवन गर्दै आएका थिए।

आफ्नो नाममा घरजग्गा नभएको र घर भत्काइएपछि आफूहरू होल्डिङ सेन्टरमा बस्न बाध्य भएको उनीहरूको भनाइ छ। मृतक पासवानले आफूहरूको नाम पुनःस्थापना वा व्यवस्थापनसम्बन्धी सूचीमा नपरेको भन्दै पटक–पटक गुनासो गर्ने गरेको परिवारले जनाएको छ।

‘हाम्रो घरजग्गा कहीँ छैन। सबैको नाम आयो, हाम्रो किन आएन भनेर पटक–पटक कुरा गर्नुहुन्थ्यो। हाम्रो सुनुवाइ भएन, हाम्रो नाम कहीँ आएन भन्नुहुन्थ्यो,’ बुहारीले भनिन्।

परिवारले पासवानको मृत्युको घटनाप्रति राज्यका सम्बन्धित निकायले चासो नदेखाएको भन्दै असन्तुष्टि जनाएको छ। आफूहरूलाई होल्डिङ सेन्टरमा ल्याएर राख्ने जिम्मेवारी लिएका सरकारी निकायका प्रतिनिधि घटनाबारे बुझ्न र परिवारसँग कुरा गर्न आउनुपर्ने उनीहरूको माग छ।

‘हाम्रो अडान के छ भने बुवाले त आत्महत्या गर्नुभयो, अब सरकारले जसले हामीलाई यहाँ ल्याएर राख्नुभयो उहाँहरू त आउनुप¥यो नि। घटनाबारे सोधपुछ त गर्न आउनुप¥यो नि,’ उनले भनिन्, ‘बिहान १० बजेदेखि अहिले ६ बजिसक्दा पनि कोही आउनुभएन। यो कस्तो राज्य हो, के गर्न खोजेको हो?’

परिवारले शव निकालेर लैजाने काम मात्रै गरेर घटनालाई टुंग्याउन खोजिएको भन्दै प्रश्नसमेत गरेको छ।

‘जो आउनुभएको थियो, माथिबाट लास निकाल्ने र लैजाने भन्नका लागि आउनुभएको थियो। माथिबाट निकालेर लगेपछि कुरा त सकियो, हाम्रो त केही हुँदैन। हाम्रो कुरा कसले सुनिदिने हो?’ उनले भनिन्।

पासवानको परिवारले काठमाडौं महानगरपालिकाको नेतृत्वप्रति आफूहरूको आशा र विश्वास रहेको भए पनि अहिलेको घटनापछि आफूहरू निराश भएको जनाएको छ। ‘यो बालेन सरकारमाथि आशा र विश्वास थियो,’ उनले भनिन्।

परिवारले भने पासवानको मृत्युको कारणबारे निष्पक्ष छानबिन गर्नुपर्ने, आफूहरूको समस्या सुन्नुपर्ने र घर भत्काइएपछि विस्थापित परिवारको उचित व्यवस्थापन गर्नुपर्ने माग गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *