मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
काठमाडौं। अछाम सदरमुकाम मङ्गलसेनसँग ग्रामीण क्षेत्र जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्का तोडिएको छ। विसं २०७९ वैशाख १६ गते ठेक्का सम्झौता भई काम सुरु गरिएको सडकखण्डको काम २०८२ वैशाख १६ गतेसम्म सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको थियो।
सडकखण्डको काम सम्पन्न गर्न २०८३ वैशाख १६ सम्म म्याद थप गरिए पनि काम सम्पन्न हुन नसकेपछि ठेक्का तोडिएको पूर्वाधार विकास मन्त्रालयले प्रेस नोटमार्फत जनाएको छ। ठेक्का तोड्दासम्म भौतिक प्रगति १९ दशमलव ८३ प्रतिशत मात्रै पुगेको छ।
निर्माण व्यवसायीलाई पटक–पटक काम अघि बढाउन ताकेता गर्दासमेत सडक कटान तथा संरचना निर्माणको कामले अपेक्षित गति लिन नसकेपछि पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक डिभिजन कार्यालय साँफेबगरले ठेक्का तोड्ने निर्णय गरेको जनाइएको छ।
कूल १० किलोमिटर लम्बाइको यस सडक निर्माणका लागि ३९ करोड ९९ लाख २९ हजार लागत अनुमान रहेको थियो। ठेक्का तोडिएसँगै सडक डिभिजन कार्यालयले निर्माण व्यवसायीबाट ३८ करोड २३ लाख ९६ हजार ४९३ दाखिला गर्न पत्राचार गरेको छ।
यससँगै सडक डिभिजनमार्फत लामो समयसम्म सडक तथा पुल निर्माणको काम नगर्ने छ वटा रुग्ण ठेक्का अन्त्य गरिएको छ। २०७६ देखि काम अलपत्र परेका योजनाको ठेक्का तोडिएको हो। तोडिएका ठेक्काहरूमा साँफे-मार्तडी सडकको मर्मत, चौखुट्टे क्षेत्रमा सडक मर्मत र नाली निर्माण, बाजुराको कोल्टी-कवाडी-बिच्छ्याँसैन सडक, मङ्गलसेन-सुवाखाँद-खेतगैरे-जुलिमारे-ढकारी सडक रहेका छन्। रासस
No ads found for this position



डिसी नेपाल
Facebook Comment