पोखरा स्कुल बस दुर्घटनाः प्राविधिक खराबी र तीव्र गति
पोखरा । पोखराको माझठानास्थित ओख्लेमा कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुनुमा प्राविधिक खराबी, तीव्र गति र चालकको लापरवाही जिम्मेवार रहेको छानबिन समितिले निष्कर्ष निकालेको छ।
पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिले दुर्घटनाको प्राविधिक, मानवीय र सडक पूर्वाधारसम्बन्धी पक्षको अध्ययन गरी नगरप्रमुखसमक्ष प्रतिवेदन बुझाएको हो।
गत असोज २३ गते बिहान विद्यार्थी लिएर माझठानाबाट कालिकातर्फ जाँदै गरेको ग २ ख १७४७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको थियो। दुर्घटनामा पाँच विद्यार्थीसहित छ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए।
समितिले बसको ब्रेक प्रणाली, स्टेरिङ, सस्पेन्सन र टायरको अवस्थालाई सम्भावित प्राविधिक कारणका रूपमा औँल्याएको छ। बसको मर्मत अभिलेख नियमित रूपमा अद्यावधिक नभएको र नवीकरण भए पनि अनिवार्य प्राविधिक जाँचपास नगरिएको प्रतिवेदनमा उल्लेख छ।
दुर्घटनापछि गरिएको प्राविधिक परीक्षणमा स्पष्ट खराबी फेला नपरे पनि प्राविधिक समस्या र तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने समितिको आकलन छ।
चालकले बस चलाइरहेका बेला अचानक अगाडि कालो वस्तु देखिएपछि बस अनियन्त्रित भएको बयान दिएका छन्। यद्यपि, दुर्घटनाको वास्तविक कारण पहिचान गर्न सडकको बनोट, भौगोलिक अवस्था, दृश्यता र सम्भावित अवरोधबारे थप विश्लेषण आवश्यक रहेको समितिले जनाएको छ।
सडक किनारमा सुरक्षा बार र गार्डरेलजस्ता संरचना पर्याप्त नहुँदा दुर्घटनाको जोखिम बढेको पनि प्रतिवेदनमा उल्लेख छ। भिरको उचाइ र सडकको अवस्थाले दुर्घटनाको गम्भीरता बढाएको समितिको निष्कर्ष छ।
दुर्घटनामा परेको बस श्रद्धा भण्डारीको नाममा दर्ता रहेको र विद्यालयसँग भाडामा सञ्चालन गर्ने सम्झौता भएको पाइएको छ। विद्यालयको प्रत्यक्ष नियन्त्रणबाहिर रहेका सवारीसाधन प्रयोग गर्दा जोखिम बढ्न सक्ने भन्दै समितिले निर्धारित मापदण्ड पूरा गरेका सवारीसाधन मात्र प्रयोग गर्न सुझाव दिएको छ।
समितिले विद्यालयका सवारीसाधनको नियमित प्राविधिक जाँच, चालक तथा परिचालकको योग्यता र स्वास्थ्य परीक्षण, सुरक्षा उपकरणको उपलब्धता, बिमा व्यवस्था तथा स्कुल बस सञ्चालनसम्बन्धी मापदण्डको कडाइका साथ पालना गर्न सिफारिस गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment