देउवाको स्वदेश आगमनमा कांग्रेसको स्वागत, प्रेस स्वतन्त्रता र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण

डिसी नेपाल
२८ साउन २०८३ २०:०१

ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएकोमा स्वागत गर्दै पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ।

सभापति गगनकुमार थापाको सभापतित्वमा जारी बैठकले देउवाले पार्टीको इतिहास निर्माण तथा लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको सम्मान गर्दै पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्न अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।

बैठकले प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष एवं जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको मध्यरातमा भएको गिरफ्तारी, पत्रिकाको कार्यालयमा गरिएको खानतलासी तथा अदालतमा उपस्थित गराउँदा हत्कडी लगाइएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।

कांग्रेसले संवैधानिक विधि र स्थापित प्रक्रियालाई पन्छाएर पत्रकार पक्राउ गर्ने, सञ्चारमाध्यमको कार्यालयमा खानतलासी गर्ने र हत्कडी लगाउने कार्य गलत र अवाञ्छित भएको जनाएको छ। उक्त घटनालाई स्वतन्त्र प्रेसमाथि मनोवैज्ञानिक त्रास सिर्जना गर्ने प्रयासका रूपमा लिँदै राज्य संयन्त्रबाट पूर्वाग्रह र प्रतिशोधपूर्ण व्यवहार स्वीकार्य नहुने कांग्रेसको भनाइ छ।

त्यस्तै, सार्वजनिक लेखा समितिमा सत्तारुढ दलका सांसदबाट भएको अमर्यादित तथा असंसदीय व्यवहारप्रति पनि कांग्रेसले असहमति जनाएको छ। संसद् र संसदीय समितिमा जनप्रतिनिधिको भाषा, शैली र व्यवहार मर्यादित हुनुपर्ने भन्दै कांग्रेसले आफ्ना सांसदलाई उच्च संसदीय मर्यादा कायम राख्न निर्देशन दिएको छ।

बैठकले रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबाडामा अविरल वर्षापछि गएको पहिरोमा परी भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको छ। घटनामा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै कांग्रेसले पीडित परिवारलाई राहत तथा पुनर्वासको व्यवस्था गर्न, घाइतेको उपचार गर्न र बेपत्ताको खोजी कार्य तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ।

बैठकमा आज १८ जना केन्द्रीय सदस्यले धारणा राखेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *