हुलाक सेवा अब ‘सरकारी कुरियर’का रूपमा विस्तार हुँदै
काठमाडौं। सरकारले हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाउँदै सरकारी कागजात तथा सामग्री घरदैलोसम्म पुर्याउने सेवाका रूपमा विस्तार गरेको छ।
राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्रलगायत सामग्री हुलाकमार्फत नागरिकको घरसम्म पुर्याउने व्यवस्था कार्यान्वयनमा आएको छ। हुलाक सेवा विभागका अनुसार हुम्लाबाहेक देशका सबै जिल्लामा सरकारी कागजात घरमै पुर्याउने सेवा सञ्चालनमा आएको छ।
साउन २७ गतेसम्म ७६ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा २ लाख ४७ हजार ४३ राहदानी ढुवानी गरिएकोमा ८ हजार ६६९ राहदानी सेवाग्राहीको घरमै पुर्याइएको छ। त्यस्तै, १० लाख ३८ हजार ८०८ सवारी चालक अनुमतिपत्र सम्बन्धित कार्यालयमा पुर्याइएको छ।
शैक्षिक प्रमाणपत्र, स्वास्थ्य सामग्री तथा प्रयोगशालाका नमुना ढुवानीमा पनि हुलाकको प्रयोग बढेको विभागले जनाएको छ। नेपाल खुला विश्वविद्यालयसँगको सहकार्यमा शैक्षिक प्रमाणपत्र घरमै पुर्याउने सेवा सुरु भएको छ भने १७ अस्पतालका १ हजार ४८० प्रयोगशाला नमुना हुलाकमार्फत ढुवानी गरिएको छ।
हुलाक सेवालाई थप व्यवस्थित बनाउन ५० वटा कार्यालयलाई ‘स्मार्ट हुलाक’का रूपमा विकास गर्ने तयारी गरिएको छ। सात अङ्कीय हुलाक सङ्केत प्रणाली, आन्तरिक निगरानी प्रणाली तथा सरकारी निकायसँग प्रत्यक्ष सूचना आदानप्रदानको व्यवस्था सुधार भइरहेको विभागले जनाएको छ।
विभागले हुलाकलाई परम्परागत चिठीपत्र आदानप्रदानमा मात्र सीमित नराखी नागरिकलाई सरकारी सेवा घरदैलोसम्म पुर्याउने भरपर्दो सार्वजनिक सेवाका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। यद्यपि आवश्यक सवारीसाधन, सूचना प्रविधिका उपकरण र व्यवस्थित ठेगाना प्रणालीको अभाव भने सेवा विस्तारमा चुनौती रहेको विभागले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment