शैक्षिक विकास र दक्ष जनशक्ति तयार गर्न काठमाडौँ विश्वविद्यालयको योगदान महत्वपूर्ण : प्रधानमन्त्री देउवा

डिसी नेपाल
२९ मंसिर २०७८ १४:५३
92
Shares

काभ्रेपलाञ्चाेक। प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ विश्वविद्यालयले मुलुकको शैक्षिक विकास र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान गरेको बताएका छन्। प्रधानमन्त्री देउवाले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २७औँ दीक्षन्त समारोहका अवसरमा आज विश्वविद्यालय तथा स्नातक विद्यार्थीलाई पठाएको शुभकामना सन्देशमा सो धारणा व्यक्त गरेका हुन्।

उनले हालको मुख्य राष्ट्रिय चिन्ताको विषय बनेको जनशक्ति पलायन, सीपसँग शिक्षाको छुट्दै गएको सम्बन्ध र मुलुकको विकासमा अभाव हुँदै गएको दक्षजनशक्तिको समस्यालाई केही हदसम्म भए पनि सम्बोधन गर्न सार्थक र सफल भएको जनाएका छन्।

विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले स्थापनाको तीन दशक पूरा गरेको उपलक्ष्यमा यसका संस्थापक र सम्पूर्ण विश्वविद्यालय परिवारलाई बधाई दिएका छन्। सन्देशमा भनिएको छ, “मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन तथा मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन आलोचनात्मक सीपयुक्त र समय सुहाउँदो वैज्ञानिक एवं प्राविधिक ज्ञानले सुसज्जित जनशक्ति आवश्यक छ।”

प्रधानमन्त्री देउवाले उच्च शिक्षा आर्जनका लागि नेपालीले बर्सेनी विदेशी विश्वविद्यालयलाई तिर्ने अरबौँ रकम मुलुकभित्रै सदुपयोग गर्ने वातावरण निर्माण गर्न पनि नागरिकको मागअनुरुप शैक्षिक गुणस्तर मुलुकभित्रै विकसित गर्नु अपरिहार्य भइसकेको उल्लेख गरेका छन्। उनले विश्वविद्यालयले यी विविध क्षेत्रका लागि जनशक्ति उत्पादन गरेर मुलुकलाई ठूलो गुन लगाएको जनाएका छन्।

“उच्च शिक्षाको उद्देश्य सीपयुक्त जनशक्ति उत्पादन गर्नु त हुँदै हो, त्यसभन्दा पनि बढी महत्वपूर्ण विषय हालका युवालाई असल, चरित्रयुक्त र देशभक्तिले भरिएको नागरिकमा रुपान्तरण गर्नु हो, यस विषयमा पनि विश्वविद्यालयले सधै झैँ उचित ध्यान पु¥याएको मलाई लाग्छ”, उनले भनेका छन्।

देउवाले आजका युवा मुलुकको भविष्य निर्माता भएको चर्चा गर्दै असल र जिम्मेवार नागरिकका रुपमा मुलुकको उन्नति र प्रगतिमा निरन्तर योगदान दिने विश्वास व्यक्त गरेका छन्। आज विश्वविद्यालयका विभिन्न विधामा एक हजार ४४९ स्नातक विद्यार्थी दीक्षित हुँदैछन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.