नवनिर्वाचित कांग्रेस महामन्त्री शर्माद्वारा बिपीलगायत नेताको सालिकमा माल्यार्पण

डिसी नेपाल
१ पुष २०७८ २०:५८

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय पुगेर पार्टीका संस्थापक नेता बिपी कोइरालालगायत नेताको सालिकमा माल्यार्पण गरेका छन्।

पार्टीको निर्वाचन समितिले शर्मा महामन्त्रीमा निर्वाचित भएको घोषणा गरेलगत्तै उनी नेता कार्यकर्ता एवं परिवारसहित सङ्ग्रहालय पुगेका थिए । सङ्ग्रहालयमा उनले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी, सर्वोच्च नेता गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई, नेता योगेन्द्रमान शेरचन, दिवानसिंह राई, रामनारायण मिश्रलगातको सालिकमा माल्यार्पण गरेका हुन् ।

महामन्त्री शर्माले बिपीले रोपेको कपुरको रुखमा पानी पनि हालेका थिए । उनले गत भदौ २४ गते बिपी जयन्तीको अवसर पारेर सङ्ग्रहालयमै महामन्त्री पदमा उम्मेद्वारी घोषणा गरेका थिए । वैदिक विधिपूर्वक पूजाआजासहित सङ्ग्रहालय परिसरमा रुद्राक्षको बिरुवा रोपेर उम्मेद्वारी घोषणा गरेका नेता शर्माले आज महामन्त्रीमा निर्वाचित भएपछि पनि यही स्थानमा उपस्थित भएर पार्टीका संस्थापक नेताहरुलाई सम्झिएका हुन् ।

बिपी र युवाको सपना एकाकार गरेर कांग्रेस अघि बढाउँछुः

विसं २०१७ पुस १ गते अर्थात् आजैका दिन तत्कालीन राजा महेन्द्रले प्रजातन्त्रमाथि नेपाली सेनाको शक्तिका भरमा कू गरी बिपीलगायत नेतालाई बन्दी बनाइएको जेललाई अहिले बिपी सङ्ग्रहालय घोषणा गरिएको छ । यही सम्भनामा कांग्रेसलगायत प्रजातन्त्रप्रेमीले आजको दिनलाई कालो दिनका रुपमा मनाउँछन् ।

सङ्ग्रहालयमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले पार्टीका संस्थापक नेता बिपी र वर्तमान युवाको सपना एकाकार गरेर कांग्रेसलालाई अघि बढाउने बताए ।

“कांग्रेस र देश दुवैमा रुपान्तरणको आवश्यकता छ, राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेसले अब विकृति, विसङ्गति अन्त्यको नेतृत्व लिएर सामाजिक रुपान्तरण गर्नेछ, राजनीतिमा गुम्दै गएको सहिष्णुता पुनस्र्थापनाका लागि पनि पार्टीमा निर्वाचित महामन्त्रीका नाताले म र गगन थापा क्रियाशील हुनेछौँ”, उनले भने ।

महामन्त्री पदमा उम्मेद्वारी घोषणा गर्ने क्रममा आफूले अघिसारेका नीति निर्माणमा पार्टीका तर्फबाट आगामी नीति महाधिवेशनमा अर्का महामन्त्री थापाकोसमेत सहयोग लिएर प्रस्ताव पेश गर्ने जानकारी पनि शर्माले गराए । कांग्रेसलाई प्रविधि मैत्री बनाउन पार्टीको सञ्चार तथा सूचना विभागको प्रमुखको नाताले आफूले अघि सारेको कार्यक्रमलाई अब महामन्त्री भएर पूर्णता दिने प्रतिबद्धता पनि उनले जनाए ।

कार्यक्रममा भोजपुर कांग्रेसका सभापति बिनोद वान्तवा, सङ्ग्रहालयका अध्यक्ष परशुराम पोखरेल, वाग्मती प्रदेश महाधिवेशन प्रतिनिधि सुशील सिम्खडालगायतले कांग्रेसलाई रुपान्तरण गर्ने अभियानमा महामन्त्री शर्मालाई साथ दिने प्रतिबद्धता जनाएका थिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *