यस्तो रेस्टुराँ, ‘जहाँ अँध्यारो कोठामा बसेर खाना खानु पर्नेछ’

डिसी नेपाल
४ पुष २०७८ १०:२४

काठमाडौँ। नौलो प्रयास स्वरुप दृष्टिविहीनबाट सेवा प्रदान गरिने ‘अ फाइन डाइनिङ् इन द डार्क’ रेष्टुरेन्ट सञ्चालनमा आएको छ । बिहीबारदेखि सञ्चालनमा आएको यो रेस्टुराँमा निश्चित मेन्यु रहनेछ र उक्त मेन्युमा भएका खानेकुरा अँध्यारो कोठामा राखिएका टेबलमा बसेर लिनु पर्ने हुन्छ ।

दृष्टिविहीनहरूले कसरी जीवन जिउँछन् र खानाको स्वाद आँखाले नभई जिब्रोले कसरी लिने भन्ने अभ्यास गराउने रेस्टुराँका सञ्चालक सुरेश महर्जनले जानकारी दिएका छन् । महर्जनले भने ‘हामीले रेष्टुरेन्ट व्यवसायमा केही पृथक अभ्यास गरौं भनेर दृष्टिविहीनबाटै खाना सर्भ गराउन थालेका छौं।’ दृष्टिविहीनले कसरी जीवन जिएका छन् र खानेकुराको स्वाद कसरी लिइरहेका छन् भन्ने महसुस अरूले पनि गर्न सकुन् भन्ने उद्देश्यले यो रेष्टुरेन्ट सञ्चालनमा ल्याएको सञ्चालक महर्जनले बताए।

यो रेष्टुरेन्ट ललितपुरको कोपुन्डोलस्थित डायमन्ड गल्लीमा रहेको छ। यो दृष्टिविहीनबाट सेवा प्रदान गरिने नेपालमा पहिलो रेष्टुरेन्ट हो । सुरुमा बुकिङ गरेर मात्र प्रवेश गर्न सकिने यो रेस्टुराँमा सेवाग्राहीले रातो, नीलो अथवा हरियो नाममा मात्र खाना मगाउन सक्नेछन् ।

यो रेस्टुराँ भित्र मोबाइल र अन्य विद्युतीय सामग्री लैजान निषेध गरिएको छ ।  करिब डेढ करोड रुपैयाँ लागतमा  सञ्चालनमा आएको यो रेष्टुरेन्टमा शान्त वातावरणमा कफी हाउस, बार लगायतका अन्य सुविधा पनि उपलब्ध छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *