नक्कली भुटानी शरणार्थी प्रकरण : सफाइ पाएका प्रतीक थापा अख्तियारको नियन्त्रणमा
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा विशेष अदालतबाट सफाइ पाएका प्रतीक थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ।
तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा थापा हालसम्म पुर्पक्षका लागि केन्द्रीय कारागार (सुन्धारा)मा थुनामा थिए। अदालतबाट सफाइ पाए पनि अन्य निकायमा विचाराधीन मुद्दाका कारण उनलाई रिहा नगरिएको हो।
सुन्धारा कारागारका प्रशासक कृष्ण चापागाईंका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थापालाई उपस्थित गराइदिन पत्राचार गरेका थिए। सोही निर्देशनबमोजिम उनलाई कारागारबाट अख्तियारको जिम्मा लगाइएको हो।
प्रशासक चापागाईंले भने, “अदालतबाट सफाइ पाएपछि उहाँ हाम्रो (कारागारको) थुनामा रहनुहुन्न। तर, अख्तियार र सम्पत्ति शुद्धीकरण विभागको मागअनुसार उहाँलाई त्यहाँ पठाइएको छ। अब बाँकी प्रक्रिया पूरा भएपछि उहाँ उतैबाट छुट्नुहुनेछ।”
स्मरण रहोस्, नक्कली भुटानी शरणार्थी प्रकरणमा विशेष अदालतले हालै गरेको फैसलामा प्रतिवादी बनाइएका धेरैजसोलाई दोषी ठहर गरे पनि केहीले सफाइ पाएका थिए। प्रतीक थापाले सफाइ पाए पनि उनीमाथि अन्य अनुसन्धान निकायको समेत चासो रहेकाले तत्कालै पूर्ण रूपमा मुक्त हुन सकेका छैनन्।






डिसी नेपाल





Facebook Comment