बाढीले उजाडियो पर्वतको फर्से बजार
गण्डकी। कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको पुरानो बजार क्षणभरमै उजाड बनेको छ। निरन्तरको वर्षापछि आज बिहान आएको बाढीले फर्सेका ६६ घर क्षतिग्रस्त बनेका छन्। यस्तै, २५ घर उच्च जोखिममा परेको गाउँपालिका अध्यक्ष राजु आचार्यले जानकारी दिए।
“फर्सेको पुरानो बजारका अधिकांश कच्ची घर बाढीले बगाएको छ”, उनले भने, “बचेका घर पनि बस्न मिल्ने अवस्थामा छैनन्। बाढीले नदी किनारको बस्ती नै उजाडेको छ।” बाढीका कारण कुनै मानवीय क्षति नभए पनि भौतिक रूपमा ठुलो क्षति भएको अध्यक्ष आचार्यले बताए।
बाढीले घर बगाएपछि विस्थापित बनेका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको उहाँको भनाइ छ। विस्थापितमध्ये केही परिवारलाई नजिकका आफन्तकहाँ आश्रयको व्यवस्था मिलाइएको छ। गाउँपालिकाले क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी दिनेश पौडेलले बाढीबाट विस्थापित परिवारका लागि तत्काललाई ‘होल्डिङ सेन्टर’मा राखिएको बताउनुभयो। सोमबारदेखि राहत तथा पुनःस्थापनाको काम सुरु हुने उनको भनाइ छ।
बाढीले फर्से र बागलुङको ढोडेनी जोड्ने झोलुङ्गे पुल बगाएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो। पोखरा–बागलुङ हुँदै मुस्ताङ जाने सडकमा पनि क्षति पुगेको उनले बताए। सडक कटान भएपछि सो खण्ड हुँदै पोखरा जाने यातायातका साधन सञ्चालन हुन सकेका छैनन्।
नजिकैको लस्ती बजार पनि बाढीले जोखिममा परेको गाउँपालिकाले जनाएको छ। बाढीको कटानबाट खेत, सडक, पुल, खानेपानी आदिमा क्षति पुगेको छ। पर्वतमा मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment