बाढी प्रभावित क्षेत्रमा विद्युत् पुनर्स्थापना तीव्र, प्युठान र रोल्पामा आजै रातिसम्म तथा अन्य क्षेत्रमा भोलिसम्म सेवा सुचारु हुने
काठमाडौं। अविरल वर्षा, बाढी र पहिरोका कारण प्रसारण तथा वितरण लाइनमा क्षति पुगेका क्षेत्रहरूमा नेपाल विद्युत् प्राधिकरणले मर्मत तथा सेवा पुनर्स्थापनाको कामलाई तीव्रता दिएको छ। प्युठान, रोल्पा र रुकुम पूर्व लगायतका जिल्लाहरूमा अवरुद्ध विद्युत् सेवा सञ्चालन गर्न प्राविधिक टोलीहरू युद्धस्तरमा खटिएका छन्।
प्राधिकरणका अनुसार अर्घाखाँची जिल्लाबाट प्युठान सप्लाई गरिएको ३३ केभी प्रसारण लाइन मर्मत कार्य अन्तिम चरणमा पुगेकाले आज साँझ ७ बजेसम्ममा सञ्चालनमा आउने सम्भावना छ। उक्त लाइन चालु भएसँगै प्युठानको सदरमुकाम खलङ्गासहित धेरै स्थानहरूमा विद्युत् आपूर्ति पुनः सुरु हुनेछ।
यसैगरी लमही–झिम्रुक १३२ केभी प्रसारण लाइनअन्तर्गत दाङको मुर्कुटी खण्डमा चुँडिएको कन्डक्टर तन्काउने कार्य भइरहेको छ। सो क्षेत्रमा निरन्तर पानी परिरहेकाले मर्मतमा कठिनाइ भए पनि आज राति १० बजेसम्ममा लाइन सञ्चालन गर्ने लक्ष्य राखिएको छ। यो लाइन सञ्चालनमा आएपछि प्युठान जिल्लामा पूर्ण रूपमा र रोल्पाको सदरमुकाम लिबाङसहित पूर्वी भेगमा विद्युत् सेवा पुनर्स्थापना हुनेछ।
उता रोल्पाको पश्चिमी भेग होलेरी क्षेत्रमा बिहानैदेखि प्राविधिक टोली परिचालन गरिएको छ। सो क्षेत्रको एक स्थानमा पाँच स्प्यान कन्डक्टर पोलसहित ढलेको र अन्य चार ठाउँमा रूख ढलेर पोल तथा तार चुँडाएको पाइएको छ। हाल तीव्र गतिमा मर्मत कार्य भइरहेकाले भोलिसम्ममा होलेरी क्षेत्रमा विद्युत् आपूर्ति नियमित हुनेछ। यस्तै, रोल्पाको थवाङतर्फ गएको लाइनमा पहिरोका कारण धेरै क्षति पुगेको छ। सडक अवरुद्ध भएकाले कर्मचारीहरू घटनास्थल पुग्न समय लागेको र क्षतिको पूर्ण विवरण संकलन भइरहेको प्राधिकरणले जनाएको छ।
रुकुम पूर्वमा भने सल्यान हुँदै गएको वितरण लाइन सल्यान वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा अवरुद्ध बनेको छ। पहिरोले पोलहरू बगाएको र ढालेको पाइएकाले मर्मत कार्य अघि बढाइएको र भोलिसम्ममा लाइन रिस्टोर गरिनेछ। हाल स्थानीय स्तरमा वैकल्पिक व्यवस्था मिलाउँदै रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा स्थानीय राप्ती हाइड्रोपावरबाट विद्युत् आपूर्ति सञ्चालन गरिएको छ।
प्राधिकरणले विपद्का बाबजुद कर्मचारी तथा प्राविधिकहरूको सुरक्षालाई ध्यानमा राख्दै छिटोभन्दा छिटो सबै प्रभावित क्षेत्रमा विद्युत् सेवा पूर्ववत् अवस्थामा फर्काउन निरन्तर काम भइरहेको जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment