बागलुङमा पहिरोमा परेका १० जनाको मृत्यु, एक जना बेपत्ता
अविरल बर्षासॅगै आईतबार गएको पहिरोका कारण गुल्मीको रेसुङ्गा नगरपालिका–३ स्थित तल्लो भॅाडगाउॅको सिङ्गो गाउँ उच्च जोखिममा परेको छ ।
तस्बिरः जनार्दन घिमिरे-रासस
बागलुङ। बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
वर्षाका कारण पछिल्लो दुई दिनमा जिल्लामा ठूलो मानवीय क्षति भएको हो। आइतबार मात्रै नौ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । शनिबार एक जनाको मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख फणिन्द्र प्रसाईँका अनुसार आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु, एक जना बेपत्ता र निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ।
तमानखोला गाउँपालिका-३ धर्नासुकमा घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ। सोही स्थानमा पहिरोले आठ घर बगाएको छ।
तमानखोला गाउँपालिका-४ सन्तरमा पहिरोले घर पुरिँदा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ । हस्तवीरकी श्रीमती पहिरोमा परी बेपत्ता भएकी छन्।
निसीखोला गाउँपालिका-३ जुग्जाखोलाको हदधारामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उनका छोरा १३ वर्षीय मनोज, आठ वर्षीय मुकेश र तीन वर्षीय निशान विक छन्।
यस्तै, निसीखोला गाउँपालिका-६ रङ्गिलमा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको छ। शनिबार ताराखोला गाउँपालिका-५ धस्मरमा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो।
बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार पूर्वसूचनाका कारण थप मानवीय क्षति हुनबाट जोगिएको छ। पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरसहित सुरक्षा अधिकारीको टोली पुगेको उनले बताए।
यसैबीच विगत केही दिनदेखिको वर्षाका कारण बाढी र पहिरोले तनहुँका छ स्थानीय तहमा २४ घरमा क्षति पुर्याएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार व्यास नगरपालिकामा पाँच, म्याग्दे गाउँपालिकामा दुई, घिरिङ गाउँपालिकामा छ, ऋषिङ गाउँपालिकामा दुई, बन्दीपुर गाउँपालिकामा चार र भानु नगरपालिकामा पाँच घरमा क्षति पुगेको छ।
क्षति पुगेका घरका परिवारलाई प्रहरी टोलीले सुरक्षित स्थानमा सारेको छ। क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण व्यास नगरपालिका-१ स्थित राइस मिलमा क्षति पुग्दा एक सय बोरा धान भिजेको उनले बताए। भिमाद नगरपालिका-६ मालेबगरमा कुखुराफार्म र बङ्गुरको खोरसमेत बगाएको छ।
तनहुँको देवघाट गाउँपालिका-५ स्थित सीता गुफा परिसरमा कालीगण्डकी नदीमा आएको बाढीले विभिन्न संरचना तथा सामान बगाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बाढीले सीता गुफा नजिकको शौचालय, बाथरुम, ठूलो ढुङ्गामा कुँदिएको १०८ शिवलिंगसहितको ओमकार मूर्ति, स्टोरका सामान तथा ओढ्ने-ओछ्याउने सामग्री बगाएको छ ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय देवघाटबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले सीता गुफामा पूजा गर्ने ७६ वर्षीय पुजारी शिवानन्द गिरीलाई सुरक्षित स्थानमा सारेको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment