दुई महिनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनः मन्त्री आले

डिसी नेपाल
२४ पुष २०७८ १८:४७

बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दुई महिनामा सञ्चालनमा आउने बताएका छन् । विमानस्थल निर्माण अन्तिम अवस्थामा पुगेको भन्दै उनले सबै काम सकेर दुई महिनामा उद्घाटन गर्नेगरी तयारी गरिएको जानकारी गराए ।

होटेल व्यवसायी महासंघ, नेपालको नऔं वार्षिक साधारणसभाको शनिबार भैरहवामा उद्घाटन गर्दै मन्त्री आलेले भने, ‘विमानस्थलमा परीक्षण उडानको लागि तयारी भइरहेको छ, परीक्षण उडान लगत्तै उद्घाटन गर्ने सरकारको तयारी छ ।’ विमानस्थलमा लाइटिङ, एअर कण्डिसनिङ र इलेक्ट्रिक सप्लाइको काम भइसकेको र अव परीक्षण उडानको लागि अन्तिम गृहकार्य भइरहेको मन्त्री आलेको भनाई छ ।

‘विमान अवतरण गर्ने क्रममा केही भाग छुने भएकाले भारतले केही विषयमा असहमति जनाएको छ, त्यसका लागि मैले भारतको पर्यटन मन्त्रीसँग कुरा गरेको छु, उहाँ सकारात्मक हुनुहुन्छ,’ उनले भने । मन्त्री आलेले यसबारे आफूले प्रधानमन्त्री शेर बहादुर देउवालाई पनि जानकारी गराएको बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै लुम्बिनी प्रमुख पर्यटकीय गन्तव्य बन्ने उनको भनाई छ ।

मन्त्री आलेले आफूलाई भारतीय चलचित्र नायकसँग तुलना गरे । ‘जति दिन काम गर्छु जनताको लागि गर्छु, मैले ठूलो काम गरेको छैन, आफ्नो कर्तव्य निर्वाह गरेको छु जनताको सेवा गर्न आएकाले जनताको शिर झुक्न दिन्न,’ उनले भने । राष्ट्रिय पर्यटन पुनरुत्थान समिति गठन गरेर पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि सरकारले काम गरिरहेको पनि मन्त्री आलेले बताए ।

कोभिड–१९ महामारीले पर्यटन व्यवसाय धरासायी भएको मन्त्री आलेले बताए । उनले नारायणहिटी संग्रहालय, पशुपति विकास कोष लगायतका क्षेत्रमा देखिएको समस्या समाधानका लागि अघि बढेको पनि बताए । लुम्बिनी गुरुयोजनाको काम ८१ प्रतिशत सम्पन्न भएको उनको भनाई छ ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हकिकुल्लाह खाँ, संविधानसभा सदस्य आदित्य नारायण कसौधन, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य राजु गुरुङ, होटेल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिरा ध्वज शाह, होटेल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष पीताम्बर न्यौपाने लगायतले बोल्दै पर्यटन तथा होटेल क्षेत्रमा भएका समस्या समाधान गर्न सरकार अग्रसर हुनुपर्ने बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *