कांग्रेसको प्रमुख भ्रातृसंस्था नेविसंघ र तरुण दल नेतृत्वविहीन

सम्भव सिंह ठकुरी
२६ पुष २०७८ १३:१५

काठमाडौं। नेपाली कांग्रेसको प्रमुख भ्रातृसंस्थाहरु नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरण दल यति बेला बैधानिक रुपमा नेतृत्व विहीन बनेको छ।

कांग्रेसको गत महिना सम्पन्न भएको १४ औँ महाधिवेशनबाट नेविसंघका अध्यक्ष राजीव ढुङ्गाना र तरुण दलका अध्यक्ष जितजंग बस्नेत केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै दुबै भातृसंस्थाका अध्यक्ष स्वतः पद मुक्त भइसकेका छन्।

कांग्रेसको विधानको परिच्छेद नं ११ को ४२ (ङ) मा भनिएको छ, ‘पार्टीको कुनैपनि तहको पदाधिकारी वा सदस्य भ्रातृ संघको पदाधिकारी वा सदस्य हुने छैन। भ्रातृ संघको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भएमा निजको भ्रातृ संघको पद स्वतः रिक्त हुनेछ।’

कांग्रेसको नर्सरीको रुपमा चिनिएको नेविसंघ र युवा सशक्तिकरण र परिचालन गर्ने भरपर्दो संगठनको रुपमा चिनिएको तरुण दल नेतृत्व विहीन हुँदापनि कांग्रेस सिंगो केन्द्रीय समिति मौन छ।

१४ औँ महाधिवेशनपछि कांग्रेसले २ पटक केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न गर्यो। तर यी संस्थाको नयाँ नेतृत्वको विषयमा कुनैपनि छलफल भएन। कांग्रेसको शिर्ष नेतृत्वमा अधिकांक्ष नेविसंघको राजनीतिबाट पार्टी राजनीतिमा उदाएका नेताहरु छन्।

सभापति शेरबहादुर देउवा आफै नेविसंघको संस्थापक सदस्य र दोस्रो नेविसंघका अध्यक्ष हुन्। त्यसपछि केन्द्रीय पदाधिकारीमा रहेका उपभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा,सहमहामन्त्री किशोर सिंह राठोर नेविसंघका पूर्वअध्यक्षहरु हुन्। महामन्त्री गगन थापा सहमहामन्त्री बद्रि पाण्डे नेविसंघका पूर्व महामन्त्री हुन्।

त्यसैगरी उससभापतिका उम्मेदवार डा.चन्द्र भण्डारी, महामन्त्रीका उम्मेदवार डा.प्रकाशशरण महत नेविसंघका पूर्व महामन्त्री हुन् भने महामन्त्रीका उम्मेदवार प्रदीप पौडेल नेविसंघका पूर्वअध्यक्ष हुन्। केन्द्रीय कार्यसमितिमा पनि विमलेन्द्र निधि, बालकृष्ण खाँड, बलबहादुर केसी, एनपी साउद, नैनसिंह महर, राजीव ढुङ्गाना नेविसंघका पूर्वअध्यक्षहरु हुन्।

यसरी विद्यार्थी राजनीतिबाट पार्टी र देशको राजनीतिमा महत्वपूर्ण अर्थ राख्न सक्ने स्थानमा पुगेका नेताहरु पछिल्लो समय आन्तरिक गुटबन्दी र व्यक्तिगत स्वार्थका कारण लामो समयदेखि आवधिक महाधिवेशन गर्न सकेको छैन।

र, नेविसंघको विषयलाई बहसको विषय नै ठानेका छैनन्। लोकतान्त्रिक पार्टीको नारा लाउने कांग्रेसको भ्रातृसंस्था यतीबेला अस्तव्यस्त भएको छ। केही ठूला आंगिक क्याम्पसहरुमा त केन्द्रीय नेता अनुकुलका २ देखि ३ वटासम्म कमिटिहरु बिस्तार भएका छन्।

तत्कालीन अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएपछि २०७६ माघ १६ गते तदर्थ समितिको अध्यक्षका रुपमा सुनसरीका राजीव ढुङ्गानालाई कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त रहेको अवस्थामा सभापति देउवाले अध्यक्षको जिम्मेवारी दिएका थिए।

उनलाई तदर्थ समितिको अध्यक्ष बनाउँदै गर्दा सोही मितिबाट नेविसंघको १२ औँ महाधिवेशन सम्पन्न गराउन प्रमुख जिम्मेवारी दिइएको थियो। तर ढुङ्गानाको कार्यकाल २ वर्ष बित्नलाग्दा समेत १२ औँ महाधिवेशन सम्पन्न गराउने संकेतसम्म देखाउन सकेनन्।

त्यो खाले संकेत त परै जावोस पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भइसकेपछि अध्यक्ष पदबाट राजीनामा दिने नैतिक साहाससम्म गर्न सकेका छैनन्। तर उनीहरुले राजिनामा नदिएपनि बैधानिकरुपमा पदमुक्त भइसकेको नेविसंघका पूर्वअध्यक्ष केशब सिंह बताउँछन्।

‘उहाँहरु पार्टीको विधान बमोजिम पदमुक्त भइसक्नु भयो। तर अहिलेपनि अध्यक्षको हैसियतमा पत्र काट्दै हुनुहुन्छ। त्यसो गर्नु आफैमा अबैधानिक हो,’ सिंहले भने, ‘यसो गरिरहँदा पार्टी सभापतिको सल्लाह बमोजिम पक्कैपनि गर्नुभएन होला। तर अब संगठन यसरी चलाउनु हुँदैन। पार्टी नेतृत्व गम्भिर हुने समय आइसक्यो।’

किन यस्तो अवस्था आयो ?

सिंहका अनुसार नेविसंघ, तरुणदलको महाधिवेशन समयमा हुन नसक्नुको एउटा कारण केही नेताहरुको व्यक्तिगत स्वार्थको कारण भएपनि प्रमुख कारण भनेको नेता व्यवस्थापनमा चुनौती हो।

‘नेविसंघ भनेको पार्टीको कुशल नेतृत्व जन्माउने नर्सरी हो। अहिले महाधिवेशन गर्यो त्यसपछि ति विद्यार्थी नेताहरु पार्टीको राजनीतिमा स्वभाविकरुपमा जान्छन्,’ सिंहले भने, ‘युवाहरु पार्टीको राजनीतिमा आएपछि पार्टी नै कब्जा जमाउने हो कि? भन्ने पुराना नेताहरुलाई शंका छ। त्यसकारणपनि महाधिवेशनको समय अवधि थप गर्दै युवालाई भ्रातृ संस्था मै व्यवस्थापन गरेको जस्तो मेरो बुझाइ रहेको छ।’

के भन्छन् पार्टी पदाधिकारी ?

सहमहामन्त्री बद्रि पाण्डेका अनुसार यो विषयमा सिंगो केन्द्रीय समिति गम्भिररुपमा लागिसकेको छ।

‘१४ औं महाधिवेशनपछि बसेको दुईवटा केन्द्रीय कार्यसमितिको बैठकहरुमा बधाई तथा शुभकामना कार्यक्रम र केही सामान्य कुराहरुमै सीमित भयो। अब बस्ने केन्द्रीय समितिको बैठकमा सबै भ्रातृ संस्थाहरुलाई चलायमान र गतिशिल बनाउने विषयमा छलफल हुन्छ,’ पाण्डेले भने,‘त्सकालागि महामन्त्रीहरुले गृहकार्य गरिराख्नु भएको छ।अब चाडैँ भ्रातृसंस्थाहरुलाई बैधानिक र चलायमान बनाउँछौँ।’

नेविसंघ, तरुण दलसहित अन्य तीन भ्रातृसंस्था नेतृत्वविहीन
कांग्रेसको केन्द्रीय सदस्यमा केही निर्वाचित र केही मनोनीत भएपछि अहिले पार्टीको प्रमुख ५ भ्रातृ संघ स्वतः नेतृत्वविहीन भएका छन्। नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल दलित संघ र नेपाल मुस्लिम संघ बैधानिक रुपमा नेतृत्वविहीन भएको छ।

नेविसंघका अध्यक्ष राजीव ढुङ्गाना,तरुण दलका अध्यक्ष जितजंग बस्नेत र मुस्लिम संघका अध्यक्ष अब्दुल सत्तार केन्द्रीय सदस्यमा निर्वाचित भए। दलित संघका अध्यक्ष मीन विश्वकर्मा र महिला संघका अध्यक्ष उमा रेग्मीलाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनयन गरेका छन्। यद्यपी उनीहरूले जिम्मेवारीबाट अलग भएको औपचारिक घोषणा गरेका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *