कथाः पगाहा

खेमराज पोखरेल
१५ वैशाख २०८१ ७:१०

यो कलकल बगिरहेको किस्नी खोलाको पारीपट्टिको गाउँमा मेरो ससुराली घर छ। म किस्नी खोलाको बगरै बगर हिँडिरहेको थिएँ। हिउँदको महिना थियो। पानी सङ्लो थियो। मैले खाँदै आएको पाउरोटीको टुक्रालाई धुल्याएर किस्नी खोलाको दहमा फालेको थिएँ। माछाका भुराहरू लस्करै आएका थिए।

ती भुरालाई मैले यसरी सम्झेँ मानौ ती राहत वितरण भएकाले उछिना उछिन गरेर दौडेका होलान्। त्यहाँ लाइन होला। त्यहाँ होहल्ला होला। त्यहाँ मारामार होला। एउटा गरिबीको विवसता होला। भोकको चित्कार होला। ठूला माछाहरूले भुरालाई लखेट्दै पनि थिए।अन्याय त्यहाँ पनि होला। उफ यो अन्याय। म एकतमासको भएको थिएँ।

म अलिपरबाट उदाश भावमा किस्नी खोलातिरै हेरिरहेको थिएँ। किनकि मैले जीवनको उच्छवासको सपनाको सहयात्रा खोज्न यसै गाउँमा आएको थिएँ। मैतालु यसै किस्नी खोलाको किनारै किनार ल्याएको थिएँ।

ती माछालाई हेरिरहँदा मलाई मेरी मैतालुको याद आयो। एउटा मान्छेले पनि केही खानेकुरा फाल्यो। माछा हुरुरु दहमा भेला भए। उसले जाल हाल्यो। भुरा, साना, ठूला माछाहरू एकैपल्ट जालमा परे। म ठानिरहेको छु सायद त्यो दिन मेरी मैतालुलाई पनि एउटा अपरिचित जालमा परेँ भन्ने लागेको थियो होला। म एकप्रकारको बोझिलो मन लिएर ससुराली घर पुगेँ।

क्षेमकुशलपछि मैले सासूआमाको अनुहारमा हेरेँ। अनुहार घिरौलाको जालो जस्तो साना साना कित्ताका मुजाहरूमा बिभक्त थियो। मैले सासूआमालाई सोधेँः ‘आमा कति वर्षकी हुनु भो?’

आफ्ना खिइसकेका दाँत देखाउँदै हाँस्नु भो र भन्नु भोः ‘९० सालको भुइँचालोमा म चार वर्षकी थिएँ’रे ज्वाइँ साहेब’

मैले आफैँले गनेँ। ८७ वर्ष लाग्नु भएछ।

म झल्झली सम्झिरहेको छु। महत्व दिएर सम्झिरहेको छु। मैले मेरी मैतालु अन्माएर लैजाँदा सासूआमा रुनु भएको थियो। र रुँदै मेरा हातमा नरिवल, काजु, किस्मिस्, बदामलगायतका मसलाको पोको हातमा थमाउनु भएको थियो। उहाँले एकपल्ट आकाशतिर फर्केर हेर्नु भएको थियो र भन्नु भएको थियोः ‘ज्वाइँसाहेब, राम्रोसँग पाल्नु होला’।

त्यसबेला मेरा सासूआमाका आँखामा हेरेको थिएँ। सायद अलिकति विवसतायुक्त बाध्यता थियो होला। अलिकति आशा थियो होला। अलिकति भरोसा थियो होला। अलिकति आमा हुनुको दायित्व पनि थियो होला।

मैले एकदम हल्का हिसावमा भनेको थिएँः ‘हजुर चिन्ता नगर्नुहोस्, म राम्रोसँग पाल्छु’।

आज ठ्याक्कै पैतिस वर्ष भयो। मैले सासूसँग गरेको त्यो ख्यालख्याल, त्यो हल्का सोचले अहिले पनि मलाई च्वास्स पार्छ। जव जव मेरी मैतालुका आँखा रसाउँछन् मलाई सासूका वाणीहरूले चस्स पार्छन्।कठिन यात्रा तय गरियो। र अझै कठिन दिनहरूमा सासूको भनाइ सम्झिन्छु :

‘राम्रोसँग पाल्नु होला’ । तर मलाई पक्का पक्की थाहा छ मैले राम्रोसँग पालेको छैन। कहिल्यै पाल्न सकिनँ। अब त म पाल्नै सक्तिन । म सामथ्र्यविहीन छु। म दृष्टिकोणविहीन छु। थाकेको छु। गलेको छु। त्यसैत्यसै पग्लिएको छु। अहिले मलाई लाग्दैछ मेरी मैतालुले मलाई पालेकी छिन्। म प्यारासाइट भएको छु अमरलत्ती भएको छु। उनीबिना म भोको हुन्छु। मेरा केश राशीमा उनका पातला औँलाहरूले भित्र भित्र खेलाउँदा म बालक भएको हुन्छु। रमाउँछु। उनी भन्छिन्ः ‘यो लोग्ने मान्छे त जति बुढो भयो उति केटाकेटी पो हुँदोरहेछ’

जीवनको यो पैतिसौँ वर्षपछि म ससुराली आएको छु,। एकलै। यसअघि कुनै बहानामा ससुराली पुगिएको हुन्थ्यो। कुनै औपचारिक बहाना। दसैं, पुराण, कर्मकाण्ड, आदिआदि। यो पल्ट बिनाकाम, बिनाउद्देश्य म ससुराली पुगेको छु।

मेरा वरिपरि पनि एउटा संसार छ। त्यही संसारको एउटा कुनोमा मेरी सासू हुनुहुन्छ। त्यही संसारमा जीवन भोग्दा भोग्दा थाकेका मान्छेहरू छन्। मान्छे नामका अस्थिपञ्जर छन्। ईश्वरीय कल्पका कुराहरू सुन्दासुन्दा संसार निरर्थक छ भनी थाकेका मान्छेहरू पनि छन्।

आश गर्दा गर्दा निराश भएका निरपेक्ष राजनीतिले पोलेका मान्छे पनि छन्। यो संसार नै जित्छु भन्ने मान्छेहरू पनि छन्। म किस्नी खोलाका माछाहरूमा यी मान्छेहरूलाई खोजिरहेको छु। साना भुरा माछा, मझ्यौला माछा, र ठूला माछा। र माझीको जालभित्र परेका माछाहरू ।

मलाई आफैँ कहिलेकाहिँ माझीदाइको जालमा परेजस्तो लाग्छ। म जीवनका भुङ्ग्राहरूमा चलमलाउन खोज्छु। ती कठोर जालका डोरीका पोयाहरूमा ठोकिन्छन्। मलाई लाग्छ म निरन्तर पोयासँग सङ्घर्ष गरिरहन्छु। मान्छे भन्छन् ‘बाह्र हानेर तेह्र छिन्नु’। म छिन्नै सक्तिन।

जव म असहाय भएर शिथिल हुन्छु अनि सम्झिन्छु ओहो म त जालमा परेको किस्नी खोलाको भुरा माछामा पो रूपान्तरण भएको छु। मानौ म पक्का जीवनसँग हारेको छु। पक्का किस्नी खोलाको लहरसँग बग्ने माछालाई जालभित्र पारेझैँ भएको छु। किन यस्तो फितलो चिन्तन आएको होला!

म गौर गरेर सासूआमाको जीवनप्रतिको आशक्ति हेरिरहेको थिएँ। कर्मप्रतिको दृढता अनुभव गदैँ थिएँ। विषयवन्धनप्रतिको तृष्णा पनि सासूआमामा तिब्र थियो। जीवन भोगाइका अस्मेल अनुभव थियो। शरीरले हद बोलेको वर्षौ भइसकेको थियो । तर मनभने अझै वयस्क थियो। मैले सासूआमालाई गौर गरेर बुझ्ने प्रयास गरेँ। उहाँ लगातार, बिहानदेखि बेलुकासम्म, याने यसो भनौ ३६५ दिन २४ घन्टा विषय भोगमा रम्नु हुन्थ्यो।

कुइरो डम्म लागेको थियो। याने शितलहर चलेको थियो। नरिवलका पातबाट तप्प तप्प पानीका थोपाहरू झर्दै थिए। अगेनाको डिलमा बसेका थियौँ। दनदनी आगो बालिएको थियो। उहाँ भन्नु हुन्थ्यो। भनिरहनु हुन्थ्यो। कराइ रहनु हुन्थ्यो। बर्बराइ रहनु हुन्थ्यो। कसैलाई मन पर्छ पर्दैन उहाँलाई मतलब थिएन। कसैले मान्छन् वा मान्दैनन् पनि मतलब थिएन। उहाँ यस्तै यस्तै भन्नु हुन्थ्योः

‘गाई बाख्रा बाँध’

‘खलियानबाट धान ल्यायौ ?’

‘मिलमा धान कुटायौ ?’

‘आज गाईले दुध किन कम दियो?, कुँडो दिएनौ ?’

‘यो खाओ। यो गर। यो नगर।’

यहाँसम्म कि अमेरिकामा भएको नातिलाई पनि भन्न छोड्नु हुन्नथ्योः ‘ए बाबु, सन्तान एउटा मात्र होइन है, तातो पानी खाएर सुत्नु, चिसो लाग्ला’
मैले सासुआमालाई भनेथेँः ‘आमा, यो सब व्यर्थ हो, यो मर्दा सँगै जाँदैन । आउनुस् सासू ज्वाइँ बसौँ’।

सासूआमा मेरो नजिकै बस्नु भयो। मैले उहाँको पाखुरा उचालेँ। पाखुराबाट मुजाँ परेको गोरो छाला झोला आकारमा तुर्लुङ्ङ झुन्डियो। उहाँ भन्दै हुनुहुन्थ्योः ‘एक पाइला हिँड्न हुन्न ज्वाइँ साहेब, स्वाँस्वाँ हुन्छ। केही गर्न सक्तिनँ, हात उचाल्न पनि हुन्न। जिउ करकर गरिरहन्छ’

मैले भनेँथेँः ‘हजुरलाई थाहा छ, ८७ वर्ष हुनु भो, अब अझै काम?’

उहाँको उत्तर थियोः ‘के गर्ने ज्वाइँ साहेब? आँखाले देखिन्छ, नदेखिएता हुन्थ्यो नि, काम बिग्रन्छ अनि कसरी टुलुटुलु हेरिरहनू? आफूले गरिल्याएको काम’
मैले सासूआमालाई सम्झाएँथेँः ‘आमा, यो संसार नासवान छ, यो विषयवन्धन हो, योबाट ननिक्ली परमार्थ प्राप्त हुन्न’।

उहाँ चुप लाग्नु भो। मैले हिन्दु वर्णाश्रमका बारेमा ठुलै प्रवचन दिएँः ‘आमा ७६ माथि सन्यास आश्रम याने सम्पूर्ण जीवन भगवतकृत्यमा लगाउने। हजुर अहिले सन्यास आश्रममा हुनु पर्ने हो। याने सबै विषयबन्धन छोडेर परमार्थमा लिन हुने हो।’

सासूआमाले फेरि पनि केही भन्नु भएन। मैले धेरै कुराहरू भनेँ। सुनाएँ। उहाँले मन्त्रजस्तै पवित्र तालमा सुनिरहनु भयो। म त्रिऋणका बारेमा व्याख्या गर्दै थिएँ । उहाँले बिचैमा भन्नु भोः

‘ए कता गयौ? बाख्राका पाठा फुके । बाँध न ’।

मलाई लाग्यो पुराण सुन्न गएका धर्मात्मा श्रोताहरू पुराण बरु नसुन्लान् तर एक थुँगा पूmल र केही ढ्याक पैसा भागवतको पुस्तकमा राखेर ढोग्छन् र एउटा टीका लगाएर बाहिरिन्छन्। घरमा पुग्छन् र काम गर्ने मान्छलाई बिझ्ने गरी गाली गर्छन् र धार्मिक कहलाउँछन्।

हो ठिक त्यस्तै मेरी सासूआमा मेरा कुरा तन्मयकासाथ सुन्दै हुनुहुन्थ्यो मानौ म पुराण भन्दै थिएँ। मलाई टीका लगाएर दक्षिणा दिन उहाँलाई हतार हुन्थ्यो। र उत्ति नै बेला बाख्रा फुकेको देख्नुहुन्थ्यो । चामल पोखिएको देख्नु हुन्थ्यो।

फेरि मतिर फर्किनु हुन्थ्यो र भन्नु हुन्थ्योः ‘ज्वाइँ साहेब, यहाँ यस्ता धार्मिक कुरा कसले भन्छ र सुन्नू?’

मैले भनेँथेँः ‘आमा यो सुन्ने कुरा होइन, बुझ्ने कुरा हो, त्यसैअनुसार आचरण गर्ने कुरा हो’।

मेरा कुराले सासूआमालाई मजा आएको जस्तो मलाई लागेन। अनि मैले भनेँथेँः

‘आमा, यो घर आफैँले बनाउनु भएको हो?’

एउटा काठको दोमहल्ला घर छ। परिवार बाहिरिएर उजाड छ त्यो घर । उहाँले घरका दलिनतर्फ हेर्नु भयो र भन्नु भयोः ‘ज्वाइँ साहेब, यो घर बनाउन काठ तुरतुरे खोलाको पारिपट्टिबाट ल्याएको हो। मैले आफैँले कटाएको हो। आफैँले बनाएको हो’

यसो भनिरहँदा सासूआमाको अनुहारमा उदाशी पनि थियो, आभा पनि थियो । उहाँ अझै भन्दै हुनुहुन्थ्योः ‘यो दलिन अग्राखको हो, यो घरका सबै काठ अग्राख हो । हजुरलाई थाहा छ? अग्राखलाई सय वर्ष गडा, सय वर्ष लडा, सय वर्ष खडा भन्छन् नि। अलिकति नपुगेको त्यो तख्ता चाहिँ साजको हो’

अग्राखका दलिनहरू जस्ताको त्यस्तै थिए । बेलाबेला उहाँ छोरा बुहारीलाई भन्ने पनि गर्नु हुन्थ्योः ‘मेरो चोला छउन्जेल यो घर नभत्काओ’ ।

मेरो ससुराली घर एकदम खेतको बिचमा छ । परपर सम्म देखिने धानका कुन्यौहरूमा म रमाइरहेको छु । कतै थ्रेसरले दाउनी गर्दै छ । दाउनी गरिएका धानका रासहरू बग्रल्ती छरिएका छन् खेतभरि । बटिदार धान फाँट्दै छन् । चहलपहल छ ।

म फेरि सासूआमालाई भन्दै थिएँः ‘आमा यो सब नाशवान छ, अब छोरा बुहारीले गर्नुहुन्छ । गरे गर्नुहुन्छ, नगरे गर्नु हुन्न । शान्त भएर बस्नु पर्छ । अलिकति चित्त भगवानमा लगाउनु पर्छ’

उहाँले उत्तर दिनु हुँदै थियोः ‘चित्त भगवानमै छ हजुर, म शान्त पनि छु । अशान्त भएर अब के नै गर्न सक्छु र ? हात गोडाका पाइन सकिइहाले’ ।
तत्क्षण नै उहाँले भन्नु भयोः ‘ए बुहारी जा न, बटिदारले के गर्ने हुन् ? हेर्’

सासूआमा स्वाँ स्वाँ गरिरहनु भएको थियो । हातमा भएको लौरो भुइँमा राखेर थचक्क बस्नु भो र लामो स्वास फेर्नु भो । बोल्न पटक्कै सकिरहनु भएको थिएन । तर भन्दै हुनुहुन्थ्योः ‘ए माइली ती गाईलाई बारीमा पगाहा लाइ देऊ न’

अनि फेरि भन्नु भएथ्योः ‘लेखान्त कहिले सम्म छ, थाहा छैन, ज्वाइँ साहेब’

मैले सासूआमालाई भनेँथेँः ‘जन्म र मृत्यु दुवै समयका प्रक्रियाहरू हुन् । जवसम्म दुवैमा समभाव उत्पन्न हुँदैन, तवसम्म ज्ञानी पनि हुन सकिन्न, मोक्ष पनि प्राप्त हुन सक्तैन’
उहाँले भन्नु भएथ्योः ‘खोई ज्वाइँ साहेब पढ्न पाइएन यी शास्त्रका कुरा बुझ्न । चेत छउन्जेल जन्म र मृत्यु एकै कसरी हुन्थ्यो होला भने झैँ लाग्छ । अचेत भएपछि अर्कै कुरो। हुन ता के होला ? म कसरी जानूँ ?’

म ससुरालीबाट फर्केको छु । सासूले लगाइ दिनु भएको रातो टिका निधारमा छ । खल्तीमा एउटा खाम पनि छ । तर म पगाहा लगाइएको गाईलाई सम्झिरहेको छु । तत्क्षण नै मेरा मनमा ज्वाला उठ्छ । म पनि त परिस्थितिको पगाहामा डोरिएर फर्किरहेको छु । फेरि किस्नी खोलाको बगरै बगर हिँडिरहेको छु ।

त्यसैगरी खानेकुरा दहमा हाल्दै माछासँग खेल्दै छु। माछा हुलका हुल आइरहेछन्। म मेरी सासूआमालाई माछामा खोजिरहेको छु। जालमा नपरेका माछाले त फेरि त्यही दहमा नै बस्नु छ । त्यहीँ रमाउनु छ। त्यही जानेको छ। त्यही भोग्नु छ। खानु छ। जालमा परियो भने त खिसा खत्तम। सासूआमाले भनेको सम्झिन्छुः

‘बिहे गर्दा ११ वर्षकी थिएँ ज्वाइँ साहेब। मालिक साहेबले पहिले नै छोडिहाल्नु भो। एक्लै जीवन गुजारियो। यही गाई बाख्रा जानियो। गाई बाख्रा गर्दै दिनहरू बिते। यही धर्तीमाताकै सेवामा बिताइयो। यही घाँसपातमा हुर्कियो। यही चुलो चौकोले सिकायो। बुढो बनायो। कहिले सम्म छ निमित्त। लेखान्त। त्यतिन्जेल सम्म यही संसार मै रमाउनु पर्छ। पृथ्वीको खाएपछि सेवा गर्नु पर्दैन त?’

मेरा आश्रमका परिभाषा र त्रिऋणका दार्शनिक खुराकलाई दिमागको एउटा कुनोमा मिल्काएर म आफैँलाई प्रश्न गर्दैछु कि ममा सुस्तता किन ? वैराग्य किन ? फितलो चिन्तन किन ? यो पलायन किन ? ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *