कविता : ऋतुराज वसन्त

शंकरप्रसाद रिजाल
२४ वैशाख २०८१ १०:४५

आयो वसन्त नाचिनाची यो धर्ती नेपालमा
कोरीबाटी देखिन्छिन् शिर झुकेको कपालमा
हिमाल हिउँको थुप्रो पग्लिइ बग्छ भीरमा
झरना बनी दौडिन्छ ठूला पहाडको तीरमा

सुकेका रुखका हाँगा पलाउँछन् जहाँ तहीँ
फुलेका फूलका थुंगा देखिन्छन् जहीँकहीँ
लता वृक्षको डोरी झुण्डिइकन भुईँमा
हेरेका छन् सबैले आनन्द लिइ दिलमा

गुराँस फूलको गुच्छा लटरम्भ वरिपरी
प्रकृति हाँसेकी छिन् हिँडी अघि सरिसरी
सुनौलो हिमालका टुप्पा देखिन्छन् मालासरी
सेता चाँदीका बाला टल्किन्छन् गलाभरी

टीका निधारमा सूर्य झल्किन्छ जो तेजमा
लाली फूलको रातो रंगिएको छ त्यो ओठमा
पहाड खोपी निस्कन्छन् पानीको झरना यहाँ
कोइली बोलीको बोली घन्काउँंदै जहाँ तहाँ

लामो नदीको यात्रा यहाँ देखिन्छ दिन्दिन
हरिया धानका बाला झुल्छन् यहाँ हर दिन
तोरी फूलका फूल फुलेका छन् शरीरमा
यही रंगमा रमेकी छिन् तिनै प्रकृति यहाँ

चिसो हिमालको शिर न्यानो पहाडको गरा
तातो तराइको फाँट सजिएका छन् हराभरा
संसारको देव भूमि यसको नाम जताततै
जपेका छन् सबै प्राणी नेपाल आउँ कि भनी

प्रकृति नामकी छोरी यो देव भूमीमा
छुक छैयाँ गरी नाच्छिन् यही हाम्रो नेपालमा
लुसी झैं कविको श्रीष्टि जन्मेका छन् कति यहाँ
चम्पा नामकी छोरी कति रम्छिन् यहाँ उहाँ

संसारनै नेपाल हो भन्ने छन् कति यो विश्वमा
नेपालनै स्वर्ग हो भन्ने छन् सबै यो नेपालमा
हेर विश्वको गाउँ सुन्दर प्रकृतिको सहर
हाँसेका सबै जना लागि मनमा रहर

प्रकृति नाचने गाउँ यो विश्वमा छैन कहीँ पनि
नेपाली विश्वमा नाउँ छैन यो विश्वमा पनि कहीँ
बिहानीको उज्यालोमा सूर्यको लाली झल्किने
दिउँसो घाममा फेरि सबै झलमल देखिने

रातको चन्द्र उदयमा सबै मस्त निदाउने
फेरि ब्रम्हमुहूर्तको बिहानीमा सारा देव रमाउने
जाडो गर्मी शीत ताप अर्जुन धारा बगे सरी
वसन्त ऋतुको माझ सधैं राज गरे सरी

झुम्का हातको बाला धर्ती नै डगमगाउने
टीका शिरको बाल विश्व नै छक्क पार्ने
बत्ती बाली उदाउँछिन् रातमा चन्द्रमा पनि
उज्यालो पारी चम्किन्छन् दिनमा सूर्य झम्झमी

गंगा जमुना यहाँ बग्छिन् शिवको पाउमा परी
रमेका छन् सबै देवता यो स्वर्गको धर्तीमा झरी
सारा तीर्थले घेरेको यो पवित्र पावन भूमि
स्वर्गका परी पनि उत्रिन्छन् यही भूमि पवित्र भनी

नेपाल विश्वमा हाम्रो संसारै छक्क पार्ने
माथि आकासमा सधैं चन्द्र सूर्य उदाउने
तल धर्तीको भूमिमा प्रकृति रम्य देखिने
यस्तो स्वर्ण भूमिमा नेपाली बीर तम्सिने

को छ यो संसारमा आज नेपाललाई नचिन्ने
को छ यो विश्वमा आज नेपालीलाई गिज्याउने
हाम्रो देश प्रकृतिको वासनाको थलो बन्यो
हाम्रै देश संसारको छाता बनी खुली रह्यो
हाम्रै देश संसारको छाता बनी खुली रह्यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *