कथाः सपना

खेमराज पोखरेल
२२ वैशाख २०८१ ७:०१

मेरो मोबाइल करायोः

“हेलो रामकृष्ण हो” मिठो नारी आवाज थियो।

मैले औपचारिकतावस नै भनेः

“हुँ, अनि मैले हजुरलाई चिनिनँ”

“तिमी अब के चिन्थ्यौ त ?”

मलाई तिमी भनेर सम्बोधन गर्ने को होला यो आइमाई। म छक्क परेँ। र फेरि शिष्टाचारवस नै सोधेँः “खोई चिन्नै सकिनँ”

“म पोखराबाट उर्मिला। हामी विराटनगरका बिए पढ्दाका साथी”

“ए उर्मी ?, कता हौ तिमी ?”

हामी गफिन थाल्योँ। सन्चो विसन्चो। तर ऊ पहिलेजस्तो खुल्दिन। हाँस्दिन। किन सुस्त भई यो केटी ?।
मैले भनेको थिएँः

“म कामको सिलसिलामा भोलि नै पोखरा आउँदै छु, भेटौँ न”

यसरी उर्मिलासँग अचम्मले भेट भयो पोखरामा। रेस्टुरेन्टमा पसेर कफी खायौँ। समयले कुट्दा कुट्दा ऊ निकै उदाश देखिन्थी।
उसलाई मैले सोधेथेँः “उर्मी के छ हौ तिम्रो हालखवर ?”

उसले उदाश हुँदै जवाफ फर्काएकी थिईः “किन सोध्छौ रामकृष्ण ?, अहिले सोध्नुको के अर्थ ? बेलामा सोधेको भए हुन्थ्यो। सोधेनौ। मैले सोद्धा त चुपचाप हिँड्यौ”
मैले भनेथेँः “त्यो त बित्यो उर्मी। हाम्रा ज्ञानले वा अज्ञानले त्यो बित्यो। अहिलेको सुनाउन”

“सुनेर के गर्छौ ?”

“तिम्रो प्रगति सुन्न पाए, मलाई आनन्द लाग्छ”

“सुन, परार साल जेठानी बितिन्। जेठाजुले आफूभन्दा २५ वर्ष कान्छी भित्र्याए। मेरो लोग्ने चहार्छ। हाकाहाकी चाहार्छ र मलाई नै अर्कासँग सल्किस् भन्छ। भन त के म अर्कासँग हाकाहाकी सल्किन हुन्छ। तिमी के भन्छौ ? तिम्रो कन्साइनले के भन्छ ?”

उसले फेरि भनीः “सगोलको हकहिस्सामा आफ्नो हक खोजेँ। म मनोवैज्ञानिक प्रताडनामा छु। छ केही यो प्रताडनासँग जुध्ने उपाय ?”

म चुप लागेँ। अनि कुरालाई अन्ते मोड्न उर्मीलाई सोधेँः

“राधाको के छ नि हालचाल ”

उर्मीले बताईः “राधाले छोरी छोरी पाई भनेर ऊ परिवारबाट अपहेलित छे। उसका श्रीमान राधालाई भन्छन् अरेः

‘तिमीले छोरी छोरी पाए पनि मैले अर्को बिहे गरिनँ। गनिमत ठान न” यो पनि त प्रताडना नै त होला। के छोरी पाउन राधा दोषी हो र ? बिनादोषको मानसिक यातना किन राधालाई”

मलाई जानुकाको पनि हालचाल जान्नु थियो।

मैले फेरि उर्मीलाई सोधेँः “केही दिन पहिला जानुकालाई भेटेको थिएँ। अलि मोटाइ छे हगी”

मेरो कुरा सुनेर उर्मीले भनीः “जानुकाको पनि बेहाल छ, बिचरा। उसले मलाई अस्ति भनेकी थिईः

“उर्मी, मैले पढेकी पनि छु। जागिरे पनि छु। तर खोई मेरो मनोवैज्ञानिक मुक्ति ? खोई मेरो स्वः ? खोई म कहाँ छु ? मेरो लेग्ने अन्त मन पराएर हिँड्न स्वतन्त्र छ। ऊ अन्त भोग्छ। समाजले कुरो काट्दैन। वा काटे पनि दण्ड गर्दैन वा देखे पनि हेर्दैन। र म श्रीमानले जस्तै अर्को मन पराउन पाउँछु ? के म अर्कोसँग रल्लिन पाउँछु ? के म भोग्न पाउँछु ?”

०००००

म पनि मनभित्र एउटा पीडा पालेर बसेको छु। म कसैलाई भन्दिनँ। पटक्क भन्दिनँ। भन्दै भन्दिनँ। बरु भन्छुः “आह, झन मजा, न हरहर न कचकच, बस हरफनमौला वा मान्नुस् मस्तमौलाना”

तर पनि मान्छेले थाहा पाइहाल्छन्। कस्तो हो कुन्नि यो मान्छेको जात ? जब्बर। जासुस। जानिफकार। र भन्छन्। भनिरहन्छन्ः

“रामकृष्णे, बिचरा रामकृष्णे ! स्वास्नीलाई विदेश पठाएर एकलै बस्छ, यो बुढेसकालमा”

कुरो जम्माजम्मी यत्ति हो। खासमा यो कुनै कुरै होइन। कोही बगालमा बस्छन्। कोही एकल वा दोकल वा तेकल। नियति छ भने, होला। यो बगाल, एकल, दोकल वा तेकल हुनु पनि नियति होला। हो पक्कापक्की नियति होला। नियति हो भने म कसरी जितूँ त्यसलाई। प्रारब्ध हो भने म कसरी नियन्त्रित गरुँ परिवेशलाई ?

०००००

सायद मध्यरात भएकै हुनुपर्छ। चकमन्न सुनसान देखिन्छ बाहिर। घरिघरि कुकुरहरू भुकेका आवाजहरू आउँछन्। र घरि मोटर घ्यार्र गर्छ। फेरि हराउँछ। बिलाउँछ। कम्प्युटरमा युट्युबले गीत बजाइरहेको छ, मेरो मनमाफिकका। र म त्यही युट्युबका गीतका सौन्दर्यभित्र हराउँछु। मन्त्रमुग्ध हुन्छु। झ्यालबाट पर एउटा टुक्रा आकाश देखिन्छ। म त्यो टुक्रालाई एकटकले हेरिरहन्छु। मलाई आभाष हुन्छ, त्यो टुक्रापारि पनि संसार छ। र त्यो संसारमा मेरो पनि संसार छ। मेरो दायित्व छ। दुईटा संसार जोडेर हेर्यो भने के दोकल हुइन्न र?

र पनि उर्मीको सम्झना ताजा भएर आउँछ। उसको असाध्य माया लागेर आउँछ। कठैवरा उर्मी। कति हाँस्थी कलेजमा। खोई उसको हाँसो।
०००००

एकाएक फेरि उर्मीको फोन आयो। ऊ भोलि काठमाडौँ आउँदै छे। म पनि एकलै बसेको छु। मन त्यसै त्यसै हराउन थाल्छ। खोई कस्तो रहेछ यो सम्बन्ध पनि। उर्मी आउँदै छे। ऊसँग बेस्सरी हाँसौँला। रमाऔँला। उसलाई पनि हँसाऔँला। मिठामिठा किस्सा हालौँला। मिठा खानेकुरा खाउँला।

उर्मी पहिलेदेखि नै मासु खान्न। उसको व्यक्तिगत जीवन हो। उसको इच्छा हो। अधिकार हो। अनि मलाई भने यो मासु नखाने मान्छेलाई खुवाउन भने असाध्य समस्या लाग्छ। मासु खानेलाई भए पो एउटा मासु पकायो पुगिहाल्छ। तै पनि मेरी उर्मी आउँदै छे। ममा उर्जा थपिएको छ। काजु हालेर हलुवा पकाएँ।

हलुवामा अलिकति बदाम र किसमिस पनि हालेँ। चिनीको चास्नी हालेँ। बजारभरि खोजेर रोज्जा मालभोग केरा किनेर ल्याएँ। खरभुजा ताछेर फ्रिजमा हालेँ। कटहरको तरकारी पकाएँ। चाखेँ। अलि नुन पुगेन छ। मलाई थाहा छ। उर्मीलाई अलि चखिलो मन पर्छ। अनि नुन थपेँ। फेरि ऊ कम्तीकी छे र ? गुलियो मन पर्दैन भनिदिन्छे।

फेरि बजारबाट टिपटपको समोसा किनेर ल्याएँ। उसले २ बजे आइपुग्छु भनेकी थिई। म उसलाई लिन बसपार्क ठ्याक्कै २ बजे पुगेँ। तर बस आएन। ६ बजेसम्म पनि आएन। साढे छ बजे उर्मीको फोन आयोः

“मुग्लिनमा बाटो बिग्रेर जाम। आज निकै ढिलो भयो। म साथीको घरतिर लागेँ। तिमीसँग भोलि भेटुँला”

०००००

घर आएर डङरङ्ङ पल्टिएँ। नरमाइलो लाग्यो। आखिर उर्मीको गल्ती त होइन नि। तर मन त्यसै त्यसै उडिरहेको छ।

अनि ममा एउटा बिठ्याइँ सोच आउँछ। मैले न भोगेको पनि के जीवन ? र म पछाडि फर्केर हेर्छु जीवनलाई। उफ कहिल्यै केही भोगिन छु जीवन। कठैवरा मेरो जीवन।

बाल्यकालमा आदर्शले डोर्याइएँ छु। ठुला मान्छेको मुख लाग्न हुन्न। ठुला मान्छे बोलेको ठाउँमा जान हुन्न। अह्राएको लुरुलुरु गर्नुपर्छ। यो काम गर्नुपर्छ। त्यो काम गर्नुपर्छ।

यो गर्न हुन्न। त्यो गर्न हुन्न। खोई किन हो कुन्नि साथीहरू मलाई लाटो भन्थे। साथीहरू आँप चोर्थे। म डिलमा बसेर हेथेँ। म एकदम डोर्याइएको थिएँ। नाथिएको थिएँ। र मलाई लाग्थ्यो त्यो नाथिनु र डोर्याइनु नै जीवन हो। सक्कली हो। असली हो। गुणकारी हो। अहिले सोच्दै छु, के त्यो सक्कली हो ?

बैँस आएछ क्यार। भर्खर बिहे गरेर ल्याएकी छिमेकी भाउजूले जिस्क्याएको मिठो लाग्थ्यो। ती भाउजूले त मेरो अनुहार नै रातो पारि दिन्थिन्।

कक्षामा भएका केटी साथीले जानेर, नजानेर, वा झुक्किएर समाएको हातले कस्तो मिठो काउकुती लाग्थ्यो। त्यही बेला मलाई असाध्य राम्री लाग्ने विल्किस बानोसँग भेट्न मन लागेको थियो। अहँ हुन्न। कति माया गर्थेँ म। मैले मनपराएको देखेर साथीभाइ भन्थेः “मुसलमान हो ऊ, चुरौटे हो ऊ”। अहिले म सोचिरहेको पो रहेँछु। के हिन्दु मुसलमानको पर्खाल के होला ? किन होला ?

मैले भाउजूले जिस्कयाएको मिठो पनि चाल नपाएको अभिनय गरेँ। खैरियत त्यसैमा थियो। विल्किस बानोले समाएको हात पनि मैले चाल पाएर पनि चाल पाइनँ। ऊसँग भेट्न मन लागेको कुरो पनि मैले थाहा पाइनँ। किनकि म सक्कली बन्ने उपक्रममा थिएँ। र सार के हो भने, मैले त्यो जीवन भोगिनँ। केबल देखेँ परबाट। केवल अनुभूत गरेँ दुरबाट।

कलेजमा पढ्नु थियो। पढ्नुबाहेक केही थिएन। किनकि पढेरै ठुलो मान्छे हुइन्थ्यो। सायद पढ्नुबाहेक अरु कुनै संसार नै थिएन। त्यैपनि राधाले मन पराइन्। उर्मिलाले मन पराइन्। जानकीले मन पराइन्। नोटकपी साटेर मन पराए। मन साटेर मन पराए। दिल छामेर मन पराए। मैले पनि मनमनै मन पराएँ। भित्रभित्र मन पराएँ।

तरङ्गमा रातभर सुतिएन होला। ओल्लो कोल्टो, पल्लो कोल्टो। दायाँ वायाँ। यता उता। तर त्यो छालजस्तो आयो। पर पुग्यो। फेरि आएन। सायद त्यो समुद्र थिएन क्यार। खहरे थियो होला। खहरेको खेती।

जो चुक्यो त्यो गयो। खहरेको भेलजस्तै जीवन गयो। नभोगी गयो। सक्कली हुने खोलाको छेवैबाट खहरे बगेर गयो। म शुष्क शुष्क तडपिरहेँ। मेरो बाली लागेन। र पनि म भन्दै थिएँ। र पनि म सोच्दै थिएँ, म सक्कली हुँ।

कलेजपछि जीवन अजङ्गको पहाडमुनि पसारो परेको थियो। न अब उर्मिला थिई। न राधा। न जानकी। न कोही। एउटा निर्माही समस्या थियो अगाडि। बाँच्नु थियो। नबाँची हुन्नथ्यो। र प्रमाणपत्रका हातले लेखेका प्रतिलिपिहरू सहरभरि छरिएका थिए। ती मृततुल्य थिए। ती कोही बोल्दैनथे। सबका सब बेकामे थिए। वाइह्यात थिए।

रद्दीका टोकरी थिए। ती त्यस्ता मन्त्रजस्ता सूत्र थिए, जो कन्ठाग्र त आउँथ्यो तर अर्थ थाहा थिएन। यसबेला मलाई लागेको थियो, अहो, केही पो पढिएन छ त। न टाइप। न भाषा। न शिल्प। न व्यवहार। न तरिका। सबै खतम। फेरि मेलैदेखि सबै सिक्नु पर्यो। सबै जान्नु पर्‍याे।

यसबेला लाग्दथ्यो, यो पीडामा राधाका, वा उर्मिला वा जानकीका मिठा मुस्कानको मलम भए कस्तो हुन्थ्यो होला। हरफनमौला तालले उनीहरूसँग हाँस्न पाए कस्तो हुन्थ्यो होला। उफ, कस्तो हुन्थ्यो होला ?

सायद म बुढिएँ होला। आमाले भन्नुभएथ्योः

“बाबु रामकृष्ण, बिहे गर”

मैले बिहे गरेँ। म ३२ वर्षको थिएँ। मेरा उच्छवासहरू दाम्रिएका थिए। मेरा चेतहरू दायित्वले दाबिएका थिए। खान नपाएको जस्तो च्याँसे थिएँ। अनुहारभरि खोपिल्टा थिए। अलमस्त दारीहरू थिए। जुँघा कहिल्यै उठ्न नसक्ने गरी घोप्टिएका थिए। कपाल पनि खुइलिन थालेको थियो। श्रीमती आइन्। अनि त जीवन बाँच्न सजिलो भयो। तर उनी अचेल मलाई भन्छिन्, “आइ लभ यु”

म पनि भन्छु, “आइ लभ यु”

तर पनि मलाई लाग्छ, त्यो हामीले भन्नै पर्छ। हामीले एकअर्कालाई राम्ररी चिन्दा नचिन्दा छोरी पाइसकेका थियौँ। जति छोरीको अनुहार हेर्यो उति माया र दायित्व एकैसाथ झुल्किन्थ्यो।

समयले आखिर मेसो जुरायो। सबैको जुराएको छ। सबै केही न केही मेसो गरेरै बसेका छन्। हिजो जो समयसँग रमाए, उनीहरूले पनि कुनै न कुनै मेसो पाएकै छन्। मैले मात्र के जितेँ त जिन्दगिसँग सक्कलीको आवरणबाट। बरु मैले गुमाएँ। बाल रहरहरू दबाएँ। बैँसका उच्छवासहरू निमिट्यान्न पारेँ। अहिले जब युगल जोडी अङकमाल गरेर हिँड्छन्, मलाई लाग्छ थुइक्क मेरो बाल्यकाल, मेरो बैँस। मलाई त ती शिवपार्वती जस्तै लाग्छ अहिले पनि। ती युगल अङ्कमाल गरिएका पल्लव जोडीलाई देखेर एकहुल अधवैँसे मान्छेहरू भन्छन्ः

“घोर कली लाग्यो, के देख्नु पर्‍याे यिनै आँखाले”

र ती अधबैँसेहरू रेलिङ समाएर बसेका बाध्य र विवस युवतीलाई भन्दैछन्ः “जाने हो ?” र म खत्र्याक्क परेको छु। मान्छेका खोलहरू। मान्छे भनेको के हो ?

ती उच्छवासमा रमेकाको तिनीहरूलाई के रिस ? बाध्यताको फाइदा उठाउने तिनीहरूको के सुनियत ?

०००००

उर्मीले फोन गरीः “हेलो, रामकृष्ण तिमी कोटेश्वर आऊ न, अहिले नै, यसैबेला”

म कुदेर पुगेँ। मलाई लागिरहेको थियो। सँगै बसौँला। रेस्टुरेन्टमा जाउँला। कफी खाउँला। रमाऔँला। मिले घरै लिएर आउँला।
उसले भनीः

“अपर्झट काम पर्यो। तुरुन्तै पोखरा फिर्नु पर्यो। ३ बजेको टिकट छ”

म खङ्रङ्ग भएँ। ऊसँग उसको साथी र साथीको श्रीमान् पनि थिए। केही बोल्ने कुरो थिएन। केही भन्ने कुरो थिएन।

ऊ हिँडी। म फेरि घर आएको छु। आँखाभरि आँशु भएछन्। उसका लागि भनेर पकाएका खानेकुरा त्यसै असरल्ल थिए। अनि मनले भन्योः

“अरे यार, रामकृष्णे, अहिलेसम्म खोजेको के पाएको छस् र अभागी, र अहिले नपाएकोमा दुःखी बन्छस्”

मस्र्याङदी र त्रिसुलीको चिसो हावाको झोँका लिएर आएकी थिई उर्मी। हाँस्न पाउने जोहो गरेर आएकी थिई। ऊ आउनु मेरोलागि सुन्दर सपना थियो। गर्मीको चिसो थियो। सुन्दर थियो। शौम्य थियो। मेरो एक्लै हुनुको राप कम भएको थियो। तर ऊ गई। म सपनाबाट झल्याँस्स भएको छु।

ऊ उर्मी हो। उसको आफ्नै संसार छ। म किन सपना धेर देख्छु। आफैँलाई आश्चर्य लाग्छ। तर पनि अहिले उर्मी खोलाको किनारै किनार गइरहेकी होली। खोलाको चिसो हावाले उसको गोरो अनुहारमा स्पर्श गर्दा उसले आफ्नो पीडा भुलेकी होली।

र म फेरि मनमनै भन्दैछुः

“उर्मी, यति धेरै माया नगर है। उर्मी, प्लिज उर्मी, जीवनमा कहिल्यै नरुनु है, आखिर जीवन यस्तै त हो नि। पीडा त आउँछ जान्छ। सपना त जीवनमा के के देखियो होला नि, सबै सपना कहाँ पुरा हुन्छन् र उर्मी ?”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *