कविता : नर

श्याम प्रधान
२९ वैशाख २०८१ ७:४७
32
Shares

हो म नर हुँ !
मिरमिरे उज्यालोमा उठेर
प्रत्येक सम्बन्धमा पसी
दिन-रात परिश्रम गर्छु
मध्यरातमा बिउँझिएर पनि
योजना बुन्छु
आफू छहारी बनी
परिवारको भविष्य कोर्छु
हो म नर हुँ
एक विहानीको चिरविर सँगै
आफूलाई नियाल्छु
सिङ्गै आकाश बनी
सम्पूर्ण परिवारको भार बोकेर
साहासिलो नरको आयाम बोकी हिँड्छु
हो म नर हुँ !

आफ्ना सम्पूर्ण इच्छाहरु मारेर
परिवारको खुशीमा आफू रमाउँछु
जिम्मेवारीको प्रतिज्ञा गर्दै नयाँ आयाम थप्छु
पितृत्वको छहारीमा सबको इच्छाको भार बोकी
प्रत्येक पल जिम्मेवारीलाई अंगाली
जीवनको अर्थ बुझ्ने प्रयासमा
आफू आफ्नै सार्थकता बिर्सी जिम्मेवारीमा समावेश हुँदै
आत्मविश्वासको परिभाषामा
थुप्रै बत्तीहरुलाई उज्यालो पार्दै
एउटा अर्थपूर्ण चित्र कोर्छु
हो म नर हुँ !

इतिहासको वीर पुरुष
वर्तमानको कुलदीपक
भविष्यको संवाहकको चित्र
क्यानभासमा मनभित्र कोर्दै बस्छु
आसमानमा उडेको अनुभूति गर्दै
धर्तीको एक गोलार्थमा रमाउँछु
मेरा सम्पूर्ण इच्छाहरु मार्दै
म हरपल सहारा बनी दिन्छु
आफ्नो बंशलाई अगाडि बढाउँदै
कुलको वृहत्तरीमा रमाउँछु
हो म नर हुँ !

कल्पनाका संकल्पहरु
विपनामा साकार बनाउन
हरदिन कामको खोजीमा निस्कन्छु
हिम्मतको जोहो गर्दै परिवारको भविष्य कोर्छु
पर त्यहाँ क्षितिजमा
पृथ्वी र नभ मिल्दै गरेको विन्दुमा
रमाउँदै सुरमय हुँदै रमाउँछु
हो म नर हुँ !

हो ! नर शक्तिको पर्याय हो
नर शक्तिको र ज्ञानको सम्मिश्रण हो
नर सृष्टिको बाहक हो
शंखघोषमा लुकेको यो उद्घोष
आफ्नै गोलाद्र्धमा गंजी रहन्छ
किनकि
मसँग जिम्मेवारी छ
मसँग अस्तित्व छ
मसँग हिम्मत छ
मसँग परिश्रम छ
त्यसैले त म नर हुँ र त परिवार छ ।।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *