गोरखा बाढी : बुढीगण्डकी थुनिएर आएको बाढीबाट ५ जना बेपत्ता, ९५ जनाको उद्धार

डिसी नेपाल
२५ असोज २०८३ २०:५०

काठमाडौं । चुमनुव्री गाउँपालिका-६ लोक्पा र चुम्लिङको बीचमा ठूलो पहिरो खसेर बुढीगण्डकी नदी थुनिएपछि आएको लेदोसहितको भीषण बाढीमा परी पाँच जना बेपत्ता भएका छन्। प्रभावित क्षेत्रबाट हालसम्म ९५ जनाको सकुशल उद्धार गरिएको छ।

बाढीमा परी बेपत्ता हुनेहरूमा चुमनुव्री गाउँपालिका-६ चुम्चेत उङ्गिलुङ बस्ने ६५ वर्षीय सोनाम लामा, ६० वर्षीया लाप्पा ठोर्मा लामा, ६८ वर्षीय कर्मा लामा, ६० वर्षीया सोम्बुती लामा र ४१ वर्षीय तेन दोर्जे लामा रहेका छन्। उनीहरूको खोजी कार्य हाल तीव्र पारिएको छ।

नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा व्यापक भौतिक क्षति पुगेको छ। प्रहरीको प्रारम्भिक विवरण अनुसार हालसम्म ४५ वटा घर, ९ वटा गोठ, ४ वटा पुल र १ वटा सरकारी कार्यालय भवनमा क्षति पुगेको छ।

घटनालगत्तै प्रभावित क्षेत्रमा उद्धार तथा सुरक्षित स्थानान्तरणका लागि १४३ जना प्रहरी परिचालन गरिएको छ। विभिन्न निकाय र स्थानीयको सक्रिय समन्वयमा जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको छ भने विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशीबाट थप ५० जनाको विशेष जनशक्ति पनि तयारी अवस्थामा राखिएको छ।

प्रशासनले बुढीगण्डकीको तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई नदी किनार र जोखिमयुक्त बस्तीहरू तुरुन्त छाडेर सुरक्षित स्थानमा आश्रय लिन आग्रह गरेको छ। साथै, जोखिमपूर्ण सडक तथा पुलहरूबाट आवतजावत नगर्न र सुरक्षा निकायको निर्देशन पूर्ण रूपमा पालना गर्न विशेष अनुरोध गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *