बूढीगण्डकी बाढी

सयभन्दा बढी घर र पुल बगे, १० जना सम्पर्कविहीन, दशैंको मुखमा उत्तरी गोरखाको सम्पर्क विच्छेद

डिसी नेपाल
२५ असोज २०८३ १९:५३
4
Shares

गोरखा। बूढीगण्डकी नदीमा आएको भीषण बाढीका कारण उत्तरी गोरखाका सयभन्दा बढी घरहरू बगेका छन्। आइतबार बिहान उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-६ स्थित उङ्गिलुङ खोलामा खसेको सुक्खा पहिरोका कारण नदी थुनिएर एक्कासी खोलिँदा यो भयानक बाढी आएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बिहान करिब ४:०० बजेतिर चुमनुब्री–६ तुम्जेमा खसेको पहिरोले उङ्गिलुङ खोला थुनिएको थियो। भू-उपग्रहले लिएको तस्बिर विश्लेषण गर्दा भने शनिबार साँझ नै पहिरो खसेको महाशाखाले बताएको छ।

उङ्गिलुङ खोला हुँदै बूढीगण्डकी नदीमा मिसिएको बाढीले गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। जिल्ला प्रशासन कार्यालय गोरखाका अनुसार चुमनुब्री गाउँपालिकाका लोक्पा, न्याकफेदी, सिर्दिबास, सल्लेरी र जगत क्षेत्र बाढीबाट प्रभावित भएका छन्। यस्तै, धार्चे गाउँपालिकाका दोभान, माछीखोला, यारुबगर तथा आरुघाट गाउँपालिकाका सोती र आरुघाट बजार क्षेत्रमा पनि बाढीले ठूलो क्षति पुर्‍याएको छ।

दश जना सम्पर्कविहीन

बाढीमा परेर उङ्गिलुङ भेडीगोठमा बसिरहेका चुमनुब्री-६ चुन्चेतका पाँच जना सम्पर्कविहीन बनेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए। यस्तै, सोही क्षेत्रको धाउलेमा बस्ने तीन घरका थप पाँच जना पनि बाढीपछि सम्पर्कविहीन रहेको स्थानीय दिपेश लामाले जानकारी दिए।

छ वटा पुल बगे, गाउँबस्ती जोड्ने बाटो ठप्प

बाढी प्रभावित क्षेत्र गोरखाको चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकामा हालसम्म दुई वटा मोटरेबल र चार वटा झोलुङ्गे पुल बगेको पुष्टि भएको छ।

गोरखाको आरुघाट र धादिङको त्रिपुरासुन्दरी जोड्ने मोटरेबल पुल बाढीले बगाएको छ। साथै, आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल पनि बगाएको आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताए। बूढीगण्डकीको बाढीले धार्चे गाउँपालिका-१ र ३ जोड्ने बेलिब्रिजसमेत बगाएको छ।

यसैगरी, माछीखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल तथा चुमनुब्रीकै घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुलसमेत बाढीले बगाएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन्।

बाढीले चुमनुब्री-६ सिर्दिभीरको क्यान्टिलिभर पुलसमेत बगाएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जनाए। यो क्यान्टिलिभर पुल उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-६ चुम्लिङ र वडा नं ७ छेकम्पारका गाउँबस्ती पुग्ने एकमात्र सहारा थियो।

दसैँको मुखमा आएको बाढीले गाउँबस्ती जाने मुख्य पुलहरू नै बगाएपछि स्थिति भयावह बनेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए। माछीखोलाको पुल बग्दा केरौँजा, लामावेशी, रुन्चेतलगायत गाउँबस्ती जाने बाटो पूर्ण रूपमा बन्द भएको र दसैँका बेला ठूलो विपत्ति आइपरेको उनले दुखसो पोखे।

चुमनुब्री–३ फिलिमकी स्थानीय कुमारी गुरुङले पनि जताततैका पुल बगेपछि दसैँमा घर जाने बाटो नै बन्द भएको बताइन्। उनले आफूहरू गाउँमै थुनिएको र तलबाट घर आउनेहरूको बाटोसमेत बन्द भएकाले अब हेलिकोप्टरबाहेक अरू कुनै उपाय नरहेको उल्लेख गरिन्।

विद्यालय र हाइड्रोपावरमा क्षति

बूढीगण्डकीको बाढीले चुमनुब्री गाउँपालिका-३ घट्टेखोला स्थित विकास आधारभूत विद्यालयको भवनसमेत बगाएको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जनाए।

यस्तै, बाढीका कारण उत्तरी गोरखामा सञ्चालित तीन वटा हाइड्रोपावर आयोजनामा ठूलो क्षति पुगेको छ। चुमनुब्री-३ सल्लेरीस्थित सहज ऊर्जा प्रालिको पावर हाउस र लेबर क्याम्प बाढीले बगाएको छ। धार्चे गाउँपालिका-१ यारु र दोभानमा रहेका दुई वटा हाइड्रोपावर आयोजनामा पनि क्षति पुगेको धार्चेका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए।

सल्लेरीको हाइड्रोपावर बगेपछि न्याक, फिलिम, चिसापानी, नाग्चेत, घट्टेखोला, पाङसिङ, जगत, सल्लेरी, भालुवाङ, सिर्दिबास, जगत र उहियालगायतका दर्जनौँ गाउँबस्ती पूर्ण रूपमा अन्धकार (विद्युत्बिहीन) बनेका छन्।

सयभन्दा बढी घरगोठ बगे

बाढीले चुमनुब्री गाउँपालिकाको उङ्गिलुङ खोला क्षेत्रका चार वटा भेडीगोठ बगाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बूढीगण्डकी किनारमा पर्ने सल्लेरी, घट्टेखोला, पैँयु, दोभान र बगरका करिब ३१ घरधुरी बगाएको छ। त्यस्तै, धार्चे गाउँपालिकाको माछीखोला, यारुबगर र दोभानका करिब ५० घरधुरी तथा आरुघाट गाउँपालिकाको सोतीका करिब १५ घरधुरीमा क्षति पुगेको उनले बताए।

हेलिकोप्टरमार्फत उद्धार जारी

बाढीका कारण विभिन्न स्थानमा अलपत्र परेका सर्वसाधारण तथा पर्यटकहरूको हेलिकोप्टरमार्फत उद्धार कार्य तीव्र पारिएको छ।

चुमनुब्री गाउँपालिका-३ न्याकफेदीमा फसेका नौ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी न्याक गाउँ पुर्‍याइएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए। यस्तै, धार्चे गाउँपालिका-१ यारुबगरमा फसेका एक विदेशी नागरिकसहित १८ जनाको पनि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

यारुबगरमा फसेका पर्यटक, स्थानीय र हाइड्रोपावरका कार्यरत कर्मचारीसहित १८ जनालाई उद्धार गरी हुल्चुक गाउँ लगिएको शर्माले जानकारी दिए।

यसका साथै, मनासलु क्षेत्रमा अलपत्र परेका ९० जना पर्यटक, गाइड र भरियाहरूको पनि हेलिकोप्टरबाटै उद्धार गरिएको छ। बाढी प्रभावित गोरखाका चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिका क्षेत्रमा उद्धारका लागि नेपाली सेनाका चार वटा हेलिकप्टर निरन्तर परिचालन भइरहेका छन्।

प्रतीक्षा आले/रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *