बुढीगण्डकी बाढी : ८२ जनाको उद्धार, पाँच जना अझै सम्पर्कविहीन

डिसी नेपाल
२५ असोज २०८३ १९:०१

काठमाडौं। गोरखाको बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट हालसम्म नौ जना विदेशी नागरिकसहित ८२ जनाको उद्धार गरिएको छ। बाढीबाट पाँच जना सम्पर्कविहीन रहेका छन् भने घर, पुल, जलविद्युत् आयोजना र अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार साँझ ६ बजे जारी गरेको प्रेस नोटअनुसार गोरखाको चुमनुब्री गाउँपालिका–६, चुम्लिङ नजिकै उङ्गिलुङ खोलाबाट गेग्रानसहितको बहाव आई स्यारखोला थुनिएको र केही समयपछि फुट्दा बुढीगण्डकी नदीमा लेदोसहितको ठूलो बाढी आएको प्रारम्भिक विश्लेषण गरिएको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन थप अध्ययन भइरहेको प्राधिकरणले जनाएको छ।

बाढीका कारण चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उङ्गिलुङका भेडीगोठमा रहेका दुई महिला र तीन पुरुष गरी पाँच जना सम्पर्कविहीन भएका छन्।

प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार बाढीबाट ४५ घर पूर्ण रूपमा र २७ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। त्यस्तै, दुईवटा पक्की पुल र दुईवटा झोलुङ्गे पुलमा क्षति पुगेको विवरणमा उल्लेख छ।

बाढीले तीनवटा जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ भने चारवटा हवनकुण्डमा समेत क्षति पुगेको जनाइएको छ। यसका साथै ३४ वटा गोठ, १२ वटा बंगुरको खोर तथा गोदाम र तीनवटा सवारीसाधनमा क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ।

क्षतिको विवरण अद्यावधिक गर्ने काम जारी रहेकाले क्षतिको वास्तविक परिमाण थप बढ्न सक्ने देखिएको छ।

बाढी प्रभावित क्षेत्रबाट नागरिकको उद्धार गर्न नेपाली सेनाका चारवटा हेलिकोप्टर परिचालन गरिएको प्राधिकरणले जनाएको छ। हेलिकोप्टरमार्फत हालसम्म ८२ जनालाई सुरक्षित स्थानमा सारिएको छ।

बाढीको सूचना प्राप्त हुनासाथ प्राधिकरणले गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमसहित केन्द्रका २२१ जना प्रतिकार्यकर्तालाई तत्काल परिचालन हुन एसएमएसमार्फत सूचना पठाएको थियो।

त्यस्तै, बाढी पूर्वानुमान महाशाखामा बिहान ६ बजे सूचना प्राप्त भएपछि गोरखा, धादिङ हुँदै चितवनको बेनीघाटसम्मका सर्वसाधारणलाई एसएमएसमार्फत पूर्वसूचना सम्प्रेषण गरिएको थियो।

प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी ७०३ जना सुरक्षाकर्मी परिचालन भएका छन्।

जसमध्ये नेपाली सेनाका १७१ जना, नेपाल प्रहरीका १४३ जना र सशस्त्र प्रहरी बल नेपालका ३८९ जना छन्। नेपाली सेनाको टोलीमा तीनवटा स्पेसल फोर्ससमेत परिचालन गरिएको छ।

गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीको अध्यक्षतामा विपद् प्रतिकार्य कमान्ड पोस्टको बैठक निरन्तर बसेर बाढीको अवस्थाको अनुगमन, क्षतिको विश्लेषण तथा उद्धार र राहत कार्यका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्राधिकरणले जनाएको छ।

त्यसैगरी, विपद् परिचालन टोलीको बैठक बसेर हालसम्म भएका कामको समीक्षा, क्षतिको विवरण अद्यावधिक तथा आगामी प्रतिकार्य योजनाबारे छलफल गरिएको छ।

बाढी प्रभावित नागरिकका लागि सडक तथा हवाई मार्गबाट राहत सामग्री पठाइएको प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा टेन्ट, त्रिपाल, म्याट्रेस, ब्ल्याङ्केट, स्लीपिङ ब्याग, सोलार लाइट, किचेन सामग्री, जेनेरेटर, ज्याकेट, हाइजिन किट, फुड बास्केट, बेबी बास्केटलगायत सामग्री पठाइएको विवरणमा उल्लेख छ।

बाढीको वास्तविक कारण पत्ता लगाउन ड्रोन तथा भूगर्भविद्सहितको तीन सदस्यीय प्राविधिक टोलीसमेत प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

बाढीबाट प्रभावित हुन सक्ने नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन गोरखा, लमजुङ र तनहुँका जिल्लास्तरीय द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राखिएको छ।

त्यसैगरी, गोरखा, तनहुँ र लमजुङका अस्पतालका आपत्कालीन चिकित्सकीय टोलीलाई पनि तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयमार्फत आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी गरिएको हो।

प्राधिकरणले प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण, क्षतिको विवरण सङ्कलन तथा विपद्को कारण पहिचान गर्ने कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *