कविता : मेरो म

दिनेश घिमिरे
५ जेठ २०८१ ७:४०

मेरो म आफैंलाई घरी घरी जोखिरहन्छ
कहिले कल्पनामा कहिले यथार्थमा
आफैंलाई आफ्नै आँखाले दुखाइरहन्छ
कहिले समयलाई अगाँल्छ कहिले छोड्छ
मेरो म मलाई समय बिगारेर दुखाइरहन्छ।

मेरो म आफैंलाई घरी घरी भूलाइरहन्छ
कहिले समयसँगै हल्का बनाइदिन्छ
उडिरहेको बतास जत्तिकै फुरूक्क
कहिले समयसँगै असजिलो बनाइदिन्छ
एक्लो शून्यतामा आफैंलाई भूलाइदिन्छ।

मेरो म आफैंलाई घरी घरी डराइरहन्छ
कहिले सम्बन्धहरूको बिचार भित्र
आफ्ना बिचाहरूलाई गुम्साइ दिन्छ
बिबेकको नाममा आवाज लुकाइदिन्छ
बास्तविकता हराई कल्पनामा डुबाइदिन्छ।

मेरो म घरी घरी आफ्नै मूल्य तोकिरहन्छ
कहिले फरक फरक बिचारमा हिँडाइदिन्छ
कहिले बिचारहरूलाई आफैंमा खेलाइदिन्छ
आफ्नैं आकारलाई आफ्नै समयमा बेचिदिन्छ
बजारमा आफैंलाई फरक रूपमा बेचिदिन्छ।

मेरो म आफैंलाई घरी घरी बिरूद्धमा घुमाइरहन्छ
कहिले आफैंलाई आफ्नै बिरूद्धमा बुझाँउछ
अनि आफ्नै अस्तित्वसँग अनेकौं प्रश्न गर्छ
सम्बन्धमा अर्थ खोज्छ गतिमा स्वार्थ खोज्छ
अनेकौं बहानामा मेरो म आफैलाई झुक्याइरहन्छ।।

विरूवा, भक्तपुर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *