कथाः ह्विल चेयरको फन्को

खेमराज पोखरेल
५ जेठ २०८१ ६:४१

‘दिज्यू, हजुरले नपकाउनू, म सबै भ्याइहाल्छु नि’ भाइबुहारीले भनिरहेकी छिन्। तर आज मेरो छोरोको बर्थडे हो। जन्मदिन हो। ऊ ठ्याक्कै सोह्र वर्षको लाग्यो। पन्द्रसम्म खड्गो छ भन्थे ज्योतिषीले। अब त्यो पनि काट्यो छोराले। ऊ निकै लाठे भएझैँ लागिरहेको छ। मेरो छोरो १६ वर्षको लाग्यो।

काटीकुटी तेस्कै बाउजस्तै। बलियो उस्तै। चौडा छाति। हिँड्छ उसैगरी। बोल्छ उसैगरी। उसको बाउ पढ्न कस्तो थियो कुन्नि थाहा भएन। तर मेरो छोरो पढ्छ। पढैया छ। अहिलेसम्म गुनासोे गर्ने ठाउँ दिएको छैन।

आज प्रेसमा फोल्डिङ गर्ने कामबाट पनि बिदा लिएँ छोराको बर्थडे भनेर। मैले ह्विलचेयरमै बसेर पुलाउ पकाएँ। आलुको अचार बनाएँ। चिकेनचिली बनाएँ। अरू कुरा भाइबुहारीले पकाइन्। बानेश्वरको सुबिधानगरको भित्री गल्लीमा मेरो डेरा छ। चारैपट्टि अग्ला घरहरूका बिचमा दुईतले घरमा छ मेरो डेरा। चिसो पनि छ।

अँध्यारो पनि छ। तर मेरो मन उज्यालिएको छ। तातिएको छ। म खुसी छु। त्यसैत्यसै फुर्किएकी छु। मनभरि न पेटभरि भएकी छु। चिच्याएर कराउन मन लागेको छ। आज मेरो छोरोले खड्गो काटेको छ। म बसेको ह्विल चेयर पनि खुसी भएझैँ लागिरहेछ।

मलाई यो ह्विल चेयर दिने संस्थालाई धन्यवाद दिइरहेकी छु। त्यही ह्विल चेयरमा बसेर परपर देखिने आकाशलाई हेरिरहेकी छु। आकाश छ्याङ्ङ छ। निलो आकाश हाँसिरहेको छ। खोई यी गुलावका फूलहरू, कलकल बग्ने कल्पनाको रोसी खोला पनि, निलो आकाश पनि, र पारिको जंगल पनि म हाँसे मात्रै हाँस्छन कि क्या हो ? यसअघि कहिल्यै यी हाँसेको देखेको थिइनँ।

छोराका साथीहरू आउन थालेका छन्। आफन्तहरू आउन थालेका छन्। मेरो भाइ र बुहारी पनि खुसी मारे पागल भइरहेका छन्। उच्छवास छाएको छ यो घरमा याने मेरो डेरामा। म भने ह्विल चेयरमै बसेर केही खोजिरहेकी छु। निलो आकाशभित्रबाट त्यो पापी आइहाल्छ कि जस्तो लागिरहेछ। अझै एउटा आश मरेको छैन।

ऊ आइदिए मात्र हुन्थ्यो। म उसलाई धन्यवाद भन्ने थिएँ। कस्तो पापी रहेछ मलाई धन्यवाद भन्ने पनि मौकै नदिई भाग्यो। दुम लुकाएर भाग्यो। मलाई जीवनको घनघोर जंगलमा एकलै छोडेर भाग्यो। निर्दयी मोरो। ऊ आए ता हुन्थ्यो नि। कहाँ होला निर्मोही ?, के गरिरहेको होला कुन्नि त्यो मान्छे ? जहाँ भए पनि उसको जय होस्।

०००००

मेरो यो ह्विल चेयर साथी भएको छ। मलाई जहाँ पनि यसैले पुर्याउँछ। यो ह्विल चेयरले मलाई माया गरेर भन्छः ‘निमा दिज्यू, तपाईँ जहाँ जानुस् म हजुरलाई पुर्याइ दिन्छु। तपाईँले गर्न नसकेको काम के छ र दिज्यू ? तपाईँलाई कसले अपाङग भन्न सक्तछ र दिज्यू। बरु सपाङ्गहरू तास खेलेर बसेका होलान्। जीवन भोगेर भागेका होलान्।

दायित्व बिर्सिएर हराएका होलान्। ती बोझ हुन् जीवनका। देशका। समाजका। समग्र विश्व र मानवजगतका। तर तपाईँले त जीवन बाँच्नु भएको छ। दायित्व निर्वाह गर्नु भएको छ। काम गर्नु भएको छ। छोरो पाल्नु भएको छ।

जीवनका अस्मेल दुर्दिनहरूलाई झेलेर आउनु भएको छ। मान्छे भएर जन्मेको तपाईँको जीवन सार्थक भएको छ’ तर पनि जव एकान्त आउँछ, त्यही मोरो, निर्दयी मोरो, विश्वासघाती मोरोको याद आउँछ। त्यही पापीको याद आउँछ।

आज मलाई किन किन बाबाको याद आइरहेको छ। घरबाहिर राखिएको खाटमा पल्टिरहेकी हुन्थेँ। बाबा इन्डियाको रेल कम्पनीको जागिरे। आमा मेलापात र भाइ स्कुल। यो हाम्रो घरको नियति थियो। म घस्रेर भित्र बाहिर गर्थेँ। तिघ्रामुनीको भाग चल्दैनथ्यो। हिँडडुल गर्न सक्तिनथेँ। स्कुल जाने काम बन्द भएको थियो।

म त्यसै खाटमा पल्टेर जीवनसँग टोलाएर बाँचिरहेकी थिएँ। आखिर मान्छेले बाँच्नै पर्दो रहेछ। खासमा भन्दा म मृत्यु पर्खिरहेकी थिएँ। सायद आमाबाको मनमा मप्रति के आउँथ्यो कुन्नि ? कहिल्यै भन्नु भएन। मावलमा के कुरा हुन्थ्यो कुन्नि कहिल्यै बिझाउनु भएन।

सायद छिमेकी र आफन्त भन्थे होलाः ‘यो कुँजी बोझ भै आमा बाबुको’। तर मलाई लाग्थ्यो कि म कुँजी होइन। मेरा सम्मूर्ण शरीर चल्छ। म कुँजिएकी छैन। केवल यी खुट्टाले धोका दिएका हुन्।

मलाई लाग्थ्यो म किन भगवानलाई धेर भएँ। मैले विधाताको के बिगारेकी थिएँ र मलाई यो सजाय। बिनाअपराधको सजाय भोगिरहेकी थिएँ। कहिलेकाहिँ आत्महत्या गरूँ भन्ने सोच पनि आउँथ्यो। गरूँ त गरू, कसरी गरूँ ?। मेरो जीवन यस्तै थियो। यस्तै भोग्दै थिएँ। मान्छे भन्थेः ‘उस जन्मको पाप, के गर्ने भोग्नै पर्छ’

तर मैले के पाप गरेकी थिएँ न ती भन्नेलाई थाहा थियो न मलाई। न परिवेशलाई थाहा थियो न वाल्यकालमा स्कुल जाँदा खेलेको भगवती मन्दिरलाई। तर म अभिशप्त भोग्दै थिएँ। मेरो दिसा पिसाब पनि मेरो बोझ भएको थियो। कहिलेकाहिँ लाग्थ्यो कि यो भगवान नामको कुनै चिज छैन।

भए सर्वब्यापी भगवान यस्तो निर्दयी हुने थिएन। मैले सधैँ पूजा गर्ने गथेँ, भगवान भए कृतघ्न हुने थिएन। मेरी आमा सधैँ पूजा गर्नु हुन्थ्यो। भगवानसँग सायद मेरो पापमोचनको भिक माग्नु हुन्थ्यो होला। र मलाई टीका लगाइदिनु हुन्थ्यो। म चुपचाप टीका लगाउँथेँ।

केटाकेटीमा म नाच्थेँ। तन्दुरुस्त थिएँ। ओल्लो कान्लाबाट पल्लो कान्लामा फाल हाल्थेँ। तर विधाताले के रोग पठाइदिए कुन्नि, मेरा तिघ्रा चल्न छोडे। सायद उसलाई म नाचेको मन परेन होला। म हाँसेको मन परेन होला। म चलेको मन परेन होला। म उफ्रेको रिस उठ्यो होला।

खुट्टा नचले पनि मेरो तिघ्रामाथिका भागहरू चलायमान थिए। ती बढ्दै थिए। ती उर्लँदै थिए। ती बहकिँदै थिए। म हेरिरहेकी हुन्थेँ। देखिरहेकी हुन्थेँ। मेरा गुप्ताङ्गमा रौँ पलाउन थालेका थिए। मेरो छातिमा गुच्चाजस्तो डल्लो देखिन थालेको थियो। केही दिनपछि नै थ्याप्चो ओखरजस्तो भएर आए। र एकदिन मेरो गुप्ताङ्गबाट रगत चुहियो।

मैले घरबाहिर पनि निस्कन पाइनँ। मान्छे मेरै सामुन्नेमै भन्थेः ‘कठै यो कुँजीलाई किन बैँस आएको होला ? किन प्रारब्ध यति बेइमान भएको होला ?’। मन लाग्थ्यो म समाजसँग विद्रोह गरूँ। मलाई कुँजी भन्ने मान्छेलाई भनूँ कि ए मान्छेहरू हो म कुँजी होइन। हेर मेरा दुई हात सगल्ता छन्। मेरो शरीर पूर्ण छ। ममा पनि उच्छवास छ। तर मसँग द्रविभूत हुनुबाहेक अरू केही उपाय थिएन।

म जन्मेको १६ वर्ष पुगेको थियो। आमा मन्दिर जानु भयो। आएर टीको लगाइ दिनुभयो र भन्नु भयोः ‘रक्खे गर है भगवान’। बाबा पनि इन्डियाबाट आउनु भएको थियो। खानेकुरा ल्याइदिनु भएको थियो। लुगा कपडा ल्याइदिनु भएको थियो। माया गर्नु हुन्थ्यो। उहाँ भन्नु हुन्थ्योः ‘छोरी, उता इन्डियामा भा बहुत सजिलो हुन्थ्यो।

कौनै फिकर थिएन। सरकारले नै ह्विल चेयरको व्यवस्था गथ्र्यो। स्कुल पढ्न पाइन्थ्यो। एता केही छैन। एताको सर्कार पनि के सर्कार ? नासमझ सरकार। तर कौनै धन्दा नमान छोरी म अर्कोपल्ट आउँदा परिवारै उतै लैजान्छु। बडेसा’बसँग कुरा गर्छु। लैजान्छु तिमीलाई त्यसै त के छोड्थेँ म। तिमी कौनै फिकर नलेऊ है छोरी’

बाबाको यो कुरा सुन्दा मलाई आनन्द लाग्थ्यो। र्मैले ह्विलचेयर पाएर हिँडन डुल्न पाउने कुराले म हर्षित हुन्थेँ। स्कुल जान पाउने कुराले रोमान्चित हुन्थेँ। सरकारले नै व्यवस्था गर्छ भन्ने कुराले त म झन् अचम्ममा परेकी थिएँ। म मनमनै इन्डिया जान तयार भएँ।

आफ्नो देश भनेर के गर्नु ? आफ्नो ठाउँ भनेर के गर्नु ? आफ्नो घर पाखो र यो रोसी खोला भनेर के गर्नु ? सरकार नै निर्लज्ज छ। कुनै व्यवस्था छैन। ह्विलचेयर भए म पनि हिँड्थेँ होला। पढ्थेँ होला। जागिर खान्थेँ होला। देशको सेवा गर्थेँ होला। तर उफ, केही थिएन। ह्विलचेयर थिएन। स्कुल थिएन। भाग्य थिएन। जीवन थिएन। म ओसारीको खाटमा बसेर आमालाई पर्खी बस्थेँ। भाइलाई पर्खिबस्थेँ। जीवन यस्तै बित्दै थियो।

बाबा जागिरमा जानु भयो। केही महिनापछि खवर आयो। बा बित्नु भएछ। बाका चाहनाहरू मरिहाले। मेरा ह्विलचेयरमा डुल्ने चाहनाहरू बाको मृत्युपछि त्यसै मरे। मेरो स्कुल पढ्ने इच्छाहरू बाको स्वर्गवासको खवर सँगसँगै मरे। दबिए। मेरो सारा पृथ्वी धसेझँ भएको थियो।

आमाको राता पहिरन खोसिएको थियो। आमा घरि मलाई हेर्नु हुन्थ्यो। सायद उहाँलाई लाग्थ्यो होला कि यो छोरी म के गरूँ ? सायद भाइलाई हेर्दा केही आड लाग्दो हो। आश लाग्दो हो। भरोसा लाग्दो हो। र बाबाको नामको पेन्सन पट्टालाई कन्तुरमा सुरक्षित थन्क्याएर जीवन बाँच्ने आँट गर्नु भयो होला।

०००००

हाम्रो घरको मास्तिर डाँडामा सैनिक क्याम्प थियो। त्यो क्याम्पबाट घन्टा घन्टामा बज्ने घन्टीका आवाजहरू आइरहन्थे। घरिघरि ती सैनिकहरू चिच्याएको आवाज पनि आउँथ्यो। म घर बसेरै ती आवाजहरू सुन्थेँ। एकदिन आमा हाटबजार गर्न पनौती बजार जानु भएको थियो। मैले घस्रेरै घरभरिका भान्साका कामहरू गरेँ। भाँडा माझेँ।

बेलुकालाई तरकारी केलाएँ। लुगा पट्याएँ। भाइ स्कुल गएको थियो। काम सकेर म घरको ओसारीकै खाटमा लेटेकी थिएँ। एउटा लर्दु आयो। उसले आफूलाई सैनिक बतायो। मैले उसलाई हेरेँ। ऊ भन्दै थियोः ‘आमाबा खोई त नानी ?’

मैले लजाएरै भनेको थिएँः ‘आमा पनौती, बाबा इन्डिया, भाइ स्कुल’

उसले केही यस्तै यस्तै कुराहरू बोलेर गयो। बात मारेर गयो। हँसाएर गयो। नजिकिएर गयो। माया गरेझैँ गरेर गयो। मभने ऊ गएपछि उसलाई सम्झिन थालेँ। कस्तो कसिलो शरीर ? कस्तो मिठो बोली ? कस्तो मिहिन हँसाइ ? भगवानको कस्तो राम्रो मिलेको सृष्टि ? कस्तो काइदाको मान्छे ?।

ऊ अर्कोदिन पनि आयो। आमा घरमै हुनुहुन्थ्यो। आमासँग भलाकुसारी गर्यो। आमासँग पनि नजिकियो। आफन्त जस्तै भयो।

अब ऊ आमा नभएको बेला आउन थाल्यो। मलाई बिस्कुट ल्याइदिन थाल्यो। चकलेट ल्याइदिन थाल्यो। म नजिकै बस्न थाल्यो। टाउकोमा हात राख्न थाल्यो। मलाई सुम्सुम्याउन थाल्यो। मेरा लुगा त्यसै पनि अस्तव्यस्त नै हुन्थ्यो।

उसले मलाई खेलाएर गयो। ऊ गयो। तर मलाई भने मिठो काउकुती लागिरह्यो। मेरो मन अधैर्य भइरह्यो। मैले ऊ आएको कुरा खोई किन हो कुन्नि आमालाई भनिनँ। अब ऊ दिनहुँ जस्तो आउन थाल्यो। आमा नभएको मौका पारेर आउन थाल्यो। भाइ नभएको बेला पारेर आउन थाल्यो।

दुई तीन दिन ऊ आएन। मलाई खल्लो लागिरह्यो। नियास्रो लागिरह्यो। किनकिन उसको सम्झना आइरह्यो। हरेक दिउँसो अनायासै मेरा आँखाहरू उसलाई खोज्न थालेका थिए। चौथो दिन ऊ फेरि आयो। हातमा एक झोला खानेकुरा बोकेर आएछ। ऊ भन्दै थियोः ‘दुई तीन दिन काजमा सिन्धुली व्यारेक गएको थिएँ’

उसले मलाई जुरुक्क बोक्यो ओसारीबाट घरभित्रको ओछ्यानमा पुर्यायो। ढोका लगायो। र मेरो लुगा खोल्न थाल्यो। मैले नाई नाई भनेँ। उसले भन्योः ‘पगली म तिमीलाई कान्छी बनाउँछु, बिहे गर्छु के’

मैले उसका कुरा पत्याएँ। ऊ मलाई भोग्न थाल्यो। मलाई अप्ठ्यारो महसुस भयो। अलिअलि मिठो पीडा पनि भयो। तर ममा अचम्मको भाव देखापर्यो। म त्यसैत्यसै किन हलुङ्गो भएँ कुन्नि ? यो शरीरमा किन फुर्ति आए जस्तो भयो ?। उसले जाँदा जाँदै माया गरेर गयो । मेरो गाला चाटेरै गयो। र भन्दै गयोः ‘निमा, यो कुरा कसैलाई पनि नभन है, आमालाई पनि नभन है’

म चुप लागेँ। आमालाई पनि भनिनँ। कसैलाई भनिनँ। ऊ बाक्लै आयो। मौका मिल्ने बित्तिकै आयो। कन्डम बोकेरै आयो। माया लिएरै आयो। मलाई लाग्न थाल्यो मेरा पनि कोही छन् संसारमा। एकदिन उसले सहवासपछि भन्योः ‘ला, बित्यास पर्यो निमा, कन्डम त फुटेछ’। उसले खल्तीबाट एउटा औषधी झिक्यो र मलाई खुवायो। र फेरि भन्योः ‘नडराऊ निमा, यो औषधिले गर्भ रहँदैन’

मेरो महिना टर्‍याे। उसलाई भनेँ। ऊ उदाश देखिन्थ्यो। तर भोग्थ्यो जान्थ्यो। अर्को महिना पनि टरेपछि उसले मलाई भन्योः ‘निमा, कसरी हो काठमाडौँ जाने ? एवोर्सन गर्नु पर्ने भो’। म एकलै आमाको स्वीकृति बेगर काठमाडौँ जाने सम्भव थिएन। मैले आमालाई आफू पर नसरेको कुरो सुनाएँ। ऊ आयो। र आमासँग मलाई बिहे गर्ने आश्वासन दिएर गयो। त्यसपछि १५ दिन भयो ऊ आएन। एकमहिना भयो ऊ आएन। मेरी आमा छट्पट् गर्न थाल्नु भयो। आमा क्याम्पमा पुग्नु भो। तर ढोकामा उभिएको मयुरप्वााखेले आमालाई भनेछः ‘ए त्यो हर्के ? त्यो त सरुवा भएर गयो। खोई कहाँ गयो कुन्नि ? मलाई थाहा छैन’

सैनिक क्याम्पभित्र हाम्रो उजुरी गर्ने सामर्थ्य थिएन। म बान्ता गर्न थालिसकेकी थिएँ। अमिलो खान थालिसकेकी थिएँ। आमाले हेल्थपोस्टको डाक्टरलाई बोलाएर ल्याउनु भयो। उसले मलाई जाँच्यो र भन्योः ‘अब धेरै ढिलो भइसक्यो। जन्मन दिनू। आफ्नो भाग्य लिएरै आउँछ। खान्छ।’

गाउँमा हामीलाई सबैले हेला गर्न थाले। आमाले मलाई मामाघरमा पुर्याइदिनु भयो। जोरपाटीमा पुर्याइदिनु भयो। सहरमा अलि चियो चर्चो कम हो कि जस्तो लाग्यो।
मैले छोरो पाएँ। त्यही छोरोको आज बर्थडे हो।

०००००

आमा बितेको बाह्र वर्ष भयो। आमा थला परेपछि बेस्सरी रुनु भएको थियो। उहाँ एकोहोरो भन्नु हुन्थ्योः ‘ठुली, अब म बाँच्दिनँ। पक्कापक्की बाँच्दिनँ। मेरो मनले हरेस खाइसकेको छ। सपनीमा पनि तेरो बाबालाई देख्छु। जहिले पनि ‘आऊ सानू यतै आऊ भन्नुहुन्छ’।

उहाँले भाइलाई बोलाउनु भयो र भन्नुभयोः ‘बाबु छोरा, यो दिदी छे। यसको भगवान पनि आफ्ना भएनन्। एउटा नाति छ। त्यसले पाल्ला। मैले कुशेश्वर महादेवसँग भाकल गरेकी छु। यो नातिको लागि, तेरी दिदीको लागि। यो नातिले १५ वर्ष काटेपछि लाखबत्ती बालेस्। तैँले यो दिदीको माया गरेस्। सहारा बनेस्, त्यो नातिको संरक्षक भएस्। भावी भएस्।’

त्यो रात हामी सबै बेस्सरी रोयौँ। भोलिपल्ट बिहानै आमाको चोला उठेको थियो।

०००००

म बरन्डामा बसेर सोचिरहेकी छु। संस्थाले मलाई यो ह्विलचेयर नदिएको भए ? यो जागिर नदिएको भए ? यो उत्साह, जिन्दगि बाँच्ने साहस र सहारा नदिएको भए ? तर दियो। र म अहिले समयको तिरमा बसेर आमालाई सम्झिरहेकी छु। बाबालाई सम्झिरहेकी छु। मलाई ह्विल चेयरमा देखेर बाबा कति खुसी हुनुहुन्थ्यो होला ? मेरो लक्का जवान छोरो देखेर कति पुलकित हुनुहुन्थ्यो होला। आमा बाबालाई सम्झेर म भावविह्वल भएकी छु।

सम्झिरहेकी छु, मेरा बाबाले मलाई तिरस्कार गरेको भए म के गर्थेँ होला ? आमाले ‘अलच्छिनी’ भनेर निकालिदिएको भए म गर्थेँ होला ? भाइले र बुहारीले हेपेर गलहत्याएको भए म के गर्थेँ कुन्नि ? ठुलो उकालो हिँडिसकेपछिको थकाइ लागेको छ मलाई। मेरा दिमागभरि मेरो विगत आइरहेको छ।

छोरोले बोलाएको सुनेः ‘आमा’। उसको स्वर उसकै बाउको जस्तो लाग्यो। बरन्डाबाट हेरेँ। परपर पहाड देखियो। फेरि हेरिरहेकी छु कि कहीँ त्यो पापी आइहाल्छ कि ?। म रोइरहेकी रहिछु। छोराले आएर कसिलो अँगालो हाल्यो उसको बाबुले जस्तै। मैले डाँडाको पारिपट्टि शितल चन्द्रमा उदाएको देखेँ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *