शब्दशिल्पी गोपाल पराजुली : समयको अन्तरालपछिको भेट
समयको गतिसँगै धेरै कुराहरू फेरिन्छन्, तर केही स्मृति र श्रद्धाका रेखाहरू यस्ता हुन्छन् जसलाई समयको धूलनले पनि धमिलो पार्न सक्दैन। तीसको दशकदेखि नै नेपाली साहित्यको आकाशमा एउटा देदिप्यमान नक्षत्रका रूपमा उदाउनुभएका व्यक्तित्व हुनुहुन्छ- गोपाल पराजुली ! उहाँ नेपाली साहित्यमा ‘युगान्तकारी चेतना’ भित्र्याउने एउटा बलियो खम्बा पनि हुनुहुन्छ।
उहाँको साहित्यिक उचाइ र छवि नेपाली साहित्यका अतिरिक्त अन्तर्राष्ट्रिय साहित्यमा पनि उत्तिकै छ। उहाँका सिर्जनक-कृतिहरू अंग्रेजी भाषामा अनुदित भई तिनको अन्लाइन बिक्री वितरणसमेत भइरहेको सुखद समाचार उहाँकै मुखबाट सुन्न पाउँदा मलाई पनि आनन्द महसुस भयो।
कवि गोपाल पराजुली मूलतः विशुद्ध सर्जक हुनुहुन्छ। उहाँ एक यस्ता सिद्धहस्त सर्जक हुनुहुन्छ, जसको लेखनीले कविता, नाटक र आख्यान गरी तीनै विधामा बलियो नियन्त्रण राख्छ। उहाँका नाटकहरूले समाजको भित्री तहलाई कोट्याउँछन् भने उहाँका प्रयोगवादी आख्यानले साहित्यलाई नयाँ आयाम दिएका छन्। निरन्तर लेख्दै र लेखनमा नयाँपन भर्दै उहाँले समसामयिक परिस्थितिलाई शब्दका माध्यमबाट अभिव्यक्ति दिँदै आइरहनुभएको छ।
उहाँको पहिचान लेखनकर्मीका साथै कुल सम्पादकको पाटो पनि त्यत्तिकै स्पष्ट छ। विशेषतः साझा प्रकाशनको गरिमामय मुखपत्र ‘गरिमा’ को सम्पादन सम्हाल्दा उहाँसँगको जुन आत्मीय सामीप्यपन थियो, त्यो आज पनि मेरो मानसपटलमा ताजै छ।
उहाँको सम्पादकीय कुशलताले धेरैका सिर्जनालाई मार्गप्रशस्त गरेको स्पष्टै छ। साहित्यप्रतिको यही अविच्छिन्न लगावकै प्रतिफल स्वरूप उहाँले २०६० सालमा ‘नयाँ ईश्वरको घोषणा’ महाकाव्यका लागि नेपाली साहित्यको सर्वोच्च सम्मान ‘मदन पुरस्कार’ प्राप्त गर्नुभयो।
२०७९ सालमा उत्तर आधुनिक प्रयोगवादी काव्यधाराको प्रवर्तन र पाँच दशक लामो साधनाका लागि ‘वानीरा पुरस्कार’ बाट सम्मानित हुनुभयो। गत वर्ष मात्र कविडाँडा साहित्य समाज, चितवनबाट ‘कविडाँडा सुवर्ण-तुलसी काव्य पुरस्कार-२०८१’ प्राप्त गरी आफ्नो ओजस्वी छविलाई पुनः प्रष्ट पार्नुभएको छ।
उहाँका केही कृति मैले पढेको छु। तिनको एकसरो नाम सम्झिँदा-पृथ्वीमाथि आलेख, हिमालमाथि आलेख, देशमाथि आलेख, शब्द शताब्दी, दिशाहीन आकाश, अर्को दिशा, नयाँ ईश्वरको घोषणा, गोलाद्र्धका दुई छेऊ ,अर्को विश्वको प्रस्ताव, शताब्दीको एउटा पत्र आदि। यिनमा उहाँको समय चेतको गहिरो दर्शन, देश, समाज र राष्ट्रको प्रेम पोखिएको छ। नवीन प्रयोग, शैली र शिल्प उहाँका लेखकीय मौलिकताका पाटा हुन्।
भेट्ने उत्कट चाहना हुँदाहुँदै पनि समयको पदचाप र व्यस्तताका कारण हाम्रो भेटको साइत सधैँ पर–पर सर्दै गइरहेको थियो। तर मनभित्रको श्रद्धाको दीप झन्–झन् प्रज्ज्वलित भइरहेकै थियो।
‘गरिमा’ बाट उहाँको अवकाशपछि केही समय संवादमा आएको रिक्तता अस्ति बैशाख ३० गते भेट र भलाकुसारीको एउटा सुखद संयोगमा परिणत भयो। सुमधुर साक्षात्कारले प्रतीक्षाको अन्त्य गरिदिँदा सिर्जनाका उर्वर मनहरू रमाउनु स्वाभाविक हो।
अन्ततः यसरी निकै वर्षपछि उहाँसँग साक्षात्कार हुँदा यस्तो महसुस भइरहेको थियो मानौँ समय कतै थामिएको छ। बिदाको फुर्सद र उहाँको अनुकूलताले जुराएको यो भेट साहित्यिक तीर्थाटन जस्तै बन्यो।
लामो अन्तरालपछिको यो भेटमा मैले आफ्ना केही साहित्यिक कृतिहरू उहाँको हातमा सुम्पिने अवसर पाएँ। आफ्ना सिर्जनाहरू एक यस्ता शिल्पीलाई अर्पण गर्न पाउनु, जसले नेपाली साहित्यको उत्तर आधुनिक धारालाई नयाँ मोड दिनुभयो, मेरो लागि गौरवको विषय थियो।
उहाँको घरको बैठक कोठामा बसेर गरिएका ती कुराकानी, साहित्यका गम्भीर विमर्श र उहाँको अनुहारमा झल्किएको त्यो शालीनताले साझा प्रकाशनको कोठामा विताएका ती धेरै पुराना यादहरू ब्युँताइदियो।
देशभरिका साथै देशबाहिरका समेत साहित्यिक भाषीहरूको साझा थलो साझा प्रकाशनको हविगतले हामी छिनभर भावुक पनि भयौँ। त्यो बेला साझा प्रकाशनको वातावरण कति साहित्यिक थियो। साहित्यकारहरूको चहलपहल, प्रकाशन र बिक्री-वितरणको उस्तै सक्रियता हुन्थ्यो।
हामीले साहित्यका कुरासँगै साहित्यकार, पुरस्कार, प्रकाशन, पठन र साहित्यिक कृति बिक्रीका यावत् सन्दर्भमा भलाकुसारी गर्यौं। आफ्ना सिर्जनाको विगत र वर्तमानमाथि एकछिन बहस गर्यौँ। विगत दिनतिर फर्किएर हास्यौँ पनि संवेदित पनि भयौँ।
यद्यपि लेखक हुनुको खुसी अनुभूति सम्प्रेषणले सन्तुष्टि पाउनु नै त हो। यसबाहेक यौटा इमान्दार लेखकसँग अरू धेरै आकांक्षा के नै हुन्छ र ? कतै चाकडी, चाप्लुसीको व्यवहार गर्न हामी जान्दैनौँ। कसैसँग जी-हजुरी गर्दै हात थाप्न आफ्नो स्वभावले सक्दैनौँ। मात्र लेखन-धर्मलाई यथोचित निरन्तरता दिँदै त्यसैमा स्वान्तसुखाय भेट्नु नै ठूलो प्राप्ति मान्छौँ।
अपितु, गोपाल पराजुली एक पुरस्कृत लेखक साथै नेपाली वाङ्मयका एक जीवित इतिहास हुनुहुन्छ। समयले हामीबीच दूरी बढाए पनि आजको यो ‘मिठो सम्झना’ ले हाम्रो आत्मीयतालाई पुनः नवीकरण गरिदिएको छ। यो भेट हामी दुई व्यक्तिबिचको श्रद्धा, सिर्जना र समयको एउटा अनुपम सङ्गम थियो।
उमेरले असीको नजिक पुगिसक्नुभयो तर उहाँको सिर्जनात्मक कर्म तरुनै पाएर मैले पनि आफूलाई साठी निकटको उमेरलाई लक्का जवानै महसुस गरेँ।
तिनकुनेस्थित उहाँको निवासबाट बिदा भएर फर्किदै गर्दा उहाँले हार्दिक प्रेमले विनम्र बोली र व्यवहार गर्नुभयो।
उहाँको जुन सद्भाव र शुभेच्छा म अनुज पुस्ताका निम्ति यो आशीर्वाद जस्तै पनि थियो। उहाँको हातमा मेरा निबन्ध-कृति अर्पण गर्न पाएर त्यो सन्ध्याकालीन समय झलमल्ल दिन जत्तिकै चहकिलो बनिरहेको मैले अनुभव गरेँ।
शत्रुले हानेका गोली
रोकेको छैन
विरोधमा विरोधीले जे बोले पनि
त्यो सत्यको प्रमाण होइन
यस बेला झूट बोल्ने मान्छे आफैँ फैसला गरिरहेछ
आफ्नो पक्षमा
उसले यसरी झूट प्रचार गरिरह्यो भने
संसार एक दिन खुसी हुँदैन
-कवि गोपाल पराजुली















Facebook Comment