बढ्दो गर्मीले विद्यार्थी बिरामी हुन थालेपछि विद्यालयको समय परिवर्तन, आइतबार पनि पढाइ हुने

डिसी नेपाल
२ जेठ २०८३ ८:०२

कञ्चनपुर। कञ्चनपुरमा अत्यधिक गर्मी बढेसँगै यहाँका दुई स्थानीय तहले विद्यालय सञ्चालनको समय परिवर्तन गरेका छन्। गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले आफ्ना क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरू बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेका हुन्।

कृष्णपुर नगर कार्यपालिकाको बैठकले मौसमको प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्यलाई प्राथमिकता दिँदै यो व्यवस्था लागू गरेको हो। नगर प्रमुख हेमराज ओझाका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ र लेटर ग्रेडिङ निर्देशिका, २०८३ बमोजिम तोकिएको पाठ्यघण्टा (क्रेडिट आवर) नघट्ने गरी नगरभरिका विद्यालयमा एकरूपता कायम गरिएको छ।

बिहानी सत्रमा जाँदा समय व्यवस्थापन गर्न र पाठ्यक्रमले तोकेको पढाइ अवधि पूरा गर्नका लागि नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरू अब आइतबार पनि सञ्चालन गरिनेछन्। विद्यार्थीको पठनपाठन, परियोजना तथा प्रयोगात्मक कार्यलाई प्रभावकारी बनाउन आइतबारसमेत नियमित कक्षाहरू सञ्चालन हुने नगर प्रमुख ओझाले जानकारी दिए।

यसैगरी, शुक्लाफाँटा नगरपालिकामा पनि बढ्दो गर्मीलाई मध्यनजर गर्दै यही जेठ ४ गतेदेखि बर्खे बिदासम्मका लागि विद्यालयहरू बिहानी सत्रमा सञ्चालन हुने भएका छन्। अभिभावक, शिक्षक र विद्यार्थीको निरन्तरको मागलाई सम्बोधन गर्दै नगर शिक्षा समितिको बैठकले विद्यालयको समय परिवर्तन गर्ने निर्णय गरेको हो।

यसअघि बिहान १० बजेदेखि खुल्दै आएका विद्यालयहरू अब जेठ ४ गतेदेखि बिहान ७ बजे नै सुरु भई दिउँसो १ बजेर १५ मिनेटसम्म सञ्चालन हुनेछन्।

अत्यधिक गर्मीका कारण विद्यालय उमेरका बालबालिकाहरूमा अत्यधिक थकान हुने, टाउको दुख्ने र पढाइमा ध्यान केन्द्रित गर्न कठिनाइ हुने जस्ता स्वास्थ्य समस्या देखिन थालेपछि यस्तो कदम चालिएको शुक्लाफाँटा नगरपालिकाका शिक्षा शाखा प्रमुख टीकेन्द्रराज भट्टले बताए।

यस्तै, शिक्षा शाखाका शिक्षा अधिकृत सुरेश भट्टले विद्यालयको समय परिवर्तन भए पनि राष्ट्रिय पाठ्यक्रम र निर्देशिका अनुसार तोकिएको कुल पाठ्यघण्टामा कुनै कमी आउन नदिने गरी नियमित पठनपाठन र शैक्षिक गतिविधिहरू अगाडि बढाइने स्पष्ट पारे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *